२०७६ मा सुरु भएको सडक ६ वर्षमा ३० प्रतिशत मात्र बनेपछि पुरानो ठेक्का तोडिएको थियो, तर नयाँ ठेकेदारविरुद्ध मुद्दा परेपछि काम रोकिएको छ।
विराटनगर — हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकाबाट विराटनगरको सिंघिया खोला जोड्ने ४ किलोमिटर सडक निर्माण अझै अनिश्चित बनेको छ । २०७६ सालमा निर्माण सुरु भएको यो सडक ६ वर्ष बितिसक्दा ३० प्रतिशत हाराहारी मात्रै बनेको छ । पुरानो ठेकेदारसँगको सम्झौता तोडेर हालै नयाँ कम्पनीसँग निर्माण सम्झौता भए पनि ठेक्का छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै अदालतमा मुद्दा परेपछि काम सुरु हुन सकेको छैन ।
वर्षौंदेखि अलपत्र सडकको निर्माण अघि बढाउन नयाँ ठेक्का प्रक्रिया पूरा गरी सम्झौता गरिसकिएको हुलाकी सडक परियोजनाको दाबी छ । तर, नयाँ ठेकेदार छनोट प्रक्रियालाई चुनौती दिँदै प्रतिस्पर्धी कम्पनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण अघि बढाउने बाटो रोकिएको छ ।
सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीय भने वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्न बाध्य छन् । ‘पानी पर्दा हिलाम्ये हुन्छ, घाम लाग्दा धुलोले मान्छे चिन्नै गाह्रो पर्छ,’ यो सडकमा दैनिक यात्रा गर्ने कटहरीका पर्शुराम साहले भने, ‘वर्षौंदेखि हामीले यही भोग्दै आएका छौं । कहिले बन्ने हो, थाहा छैन ।’
सडक निर्माणका लागि हरेक वर्ष बजेट आउने र ठेक्काको म्याद थपिने गरे पनि कामले अपेक्षित गति लिन सकेको छैन । सडक किनारमा भाडा पसल संचालन गरेर वसेका हिरालाल पासवान अधुरो सडकले सास्ती भइरहेको बताउँछन् । ‘हामीलाई त सरकारले सडकका नाममा सास्ती दिएजस्तो लागेको छ,’ उनले भने, ‘यो सास्ती कहिलेसम्म हो थाहा छैन ?’
उनका अनुसार वर्षायाममा यो सडकमा पैदल हिँड्नसमेत कठिन हुन्छ । हिलोमा चिप्लिएर मोटरसाइकल चालक घाइते हुने गरेका छन् । ‘गाडी त के, पैदल हिँड्न पनि समस्या हुन्छ,’ उनले भने,‘हिउँदमा धुलोले हिडिसाध्ये छैन ।’ सडक तत्काल कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले पटकपटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।
यो सडक खण्ड निर्माणको ठेक्का हेटौंडाको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले २०७६ साल कात्तिकमा पाएको थियो । तर, सम्झौताअनुसार काम अघि बढाउन नसकेको कम्पनीले दुईपटक म्याद थप्दा पनि आयोजना पूरा गर्न सकेन । पछिल्लो समय निर्माण कम्पनी सम्पर्कविहीन भएपछि हुलाकी सडक परियोजनाले पुरानो ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का अघि बढाएको हो ।
हुलाकी सडक परियोजनाका महानिर्देशक विष्णु पाण्डेका अनुसार सडक निर्माणको नयाँ ठेक्का महावीर इन्जिनियरिङ कम्पनीले पाएको छ । कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । तर, नयाँ ठेकेदार छनोट प्रक्रियालाई चुनौती दिँदै प्रतिस्पर्धी कम्पनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण सुरु हुन सकेको छैन । ‘अदालतले अल्पकालीन आदेश दिएको हो, धेरै ठूलो कुरा होइन, कानुनसम्मत नै भएको छ,’ पाण्डेले भने, ‘अदालतले चाँडै काम गर्ने आदेश दिन्छ भन्ने हाम्रो विश्वास छ ।’
पाण्डेका अनुसार नयाँ ठेकेदार छनोट प्रक्रिया सार्वजनिक खरिद ऐन संशोधनपछि अपनाइएको मूल्यांकन विधिसँग जोडिएको छ । विगतमा सार्वजनिक निर्माणको ठेक्का न्यूनतम बोलकबोल गर्ने कम्पनीलाई दिने व्यवस्था प्रचलित थियो । तर, गत असार २५ मा सार्वजनिक खरिद ऐन संशोधन भएर आएपछि ठेक्का छनोटको मूल्यांकन आधार परिवर्तन भएको परियोजनाका अधिकारीहरू बताउँछन् ।
संशोधित व्यवस्थाअनुसार बोलकबोलका प्रस्तावहरूको औसत मूल्य गणना गरी त्यसको नजिकको प्रस्तावलाई छनोट गर्ने विधि अपनाइएको थियो । खरिद नियमावलीको नियम ३१ ‘झ’ अनुसार मूल्यांकन गरी नयाँ ठेक्का लगाइएको हुलाकी सडक परियोजनाका महानिर्देशक पाण्डेले जनाए ।
तर, ठेक्का छनोट प्रक्रियामा असन्तुष्ट अन्य प्रतिस्पर्धी कम्पनीहरूले उक्त मूल्यांकन विधि र छनोट प्रक्रियालाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले अल्पकालीन आदेश जारी गरी तत्काल काम अघि नबढाउन भनेपछि नयाँ ठेकेदारसँग सम्झौता भइसके पनि निर्माण सुरु हुन सकेको छैन ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।