चैत–वैशाखमा ८९ प्रतिशत घटना हुने डढेलोले वार्षिक औसत एक लाख ७२ हजार हेक्टर वन प्रभावित पार्दै आएको छ।
चितवन — पतझड र हावाहुरीसँगै चैत–वैशाखमा वनमा फैलिने डढेलो पर्यावरणीय समस्याका रूपमा बढ्दै गएको छ। यसले वन, जैविक विविधता र वातावरणमा क्षति पुर्याउनुका साथै मानवीय जीवन र सम्पत्तिसमेत जोखिममा पार्दै आएको छ। तर डढेलो नियन्त्रणका लागि आवश्यक नीतिगत व्यवस्था, बजेट, आधुनिक प्रविधि र उपकरणको अभाव छ। सोमबार भरतपुरमा आयोजित कार्यक्रममा सरकारी प्रतिनिधि र सामुदायिक वनका अगुवाहरूले यसैप्रति चिन्ता व्यक्त गरे।
वन विभागका उपमहानिर्देशक जीवनाथ पौडेलले डढेलोको प्रभाव कुनै निश्चित क्षेत्र वा भूगोलमा मात्र सीमित नहुने बताए। यसको दुष्प्रभाव देशव्यापी हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरेको उनको भनाइ छ। त्यसैले यो चुनौती सामना गर्न समयसापेक्ष नीतिगत व्यवस्था, आधुनिक प्रविधि र दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए।
नेपालमा २०६७ सालमा जारी वन डढेलो व्यवस्थापन रणनीति छ। मुलुकको शासकीय स्वरूप नै परिवर्तन भइसकेको अवस्थामा पुरानो रणनीति संशोधन गर्न आवश्यक रहेको पौडेलले बताए। जलवायु संकटमा वन डढेलोले थप प्रभाव पार्ने भएकाले यसको नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। डढेलोले वायुको गुणस्तर बिगार्नुका साथै अन्य थुप्रै समस्या निम्त्याउने गरेको उनले बताए।
सरकारले संघ, प्रदेश र स्थानीय तहको संरचनाअनुसार प्रविधिको प्रयोगसमेत बढाउने उद्देश्यले नयाँ रणनीति तयार गर्न लागेको उपमहानिर्देशक पौडेलले जानकारी दिए। वन मन्त्रालयका अवकाशप्राप्त सहसचिव धनञ्जय पौडेलले यसका लागि सरोकारवालाबाट सुझाव संकलन भइरहेको बताए। विकसित देशमा डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढ्दै गए पनि नेपालमा अझै परम्परागत विधि नै बढी प्रयोगमा रहेको उनको भनाइ छ। ‘तीन तहकै सरकारले समन्वय गर्ने गरी योजना बनाउने र समुदाय तथा अन्य सरोकारवालाको सहकार्य खोज्ने गरी अबको रणनीति बनाउने तयारी छ। नेपालको भौगोलिक परिवेश र स्थानीय अनुभवलाई पनि जोडेर नियन्त्रणका विधि तय गर्नेछौं,’ धनञ्जयले भने।
नेपालमा वनमा आगो लगाउनेलाई तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ। तर कानुनी व्यवस्था हुँदाहुँदै पनि डढेलोका घटना बढ्ने र दोषी कानुनी दायरामा कमै आउने गरेको कार्यक्रममा सहभागीहरूले बताए।
धनञ्जय पौडेलका अनुसार सन् २००१ देखि २०२० सम्मको तथ्यांकलाई आधार मान्दा नेपालमा वार्षिक औसत ३ हजार ९८ वटा डढेलोका घटना हुने गरेका छन्। यसबाट औसत १ लाख ७२ हजार हेक्टर वन क्षेत्र प्रभावित हुने गरेको छ। उनका अनुसार सन् २०१३ मा १ हजार ७ सय ४८ र सन् २०२४ मा ५ हजार २ सय १६ वटा डढेलोका घटना भएका थिए। सन् २०२१ मा भने सबैभन्दा बढी ६ हजार ५ सय ३६ घटना भएका थिए। वर्षायाम सुरु हुनुअघि चैत र वैशाखमा मात्रै ८९ प्रतिशत डढेलोका घटना हुने गरेको उनले बताए। वन विभागका उपमहानिर्देशक जीवनाथ पौडेलका अनुसार सन् २००७ देखि २०२१ सम्म डढेलोमा परेर ७१ जनाको मृत्यु भएको छ।
डढेलोका घटना बढ्दै जानु र यसले पर्यावरणसँगै मानवीय जीवनसमेत जोखिममा पार्नुले यसलाई संवेदनशील संकटका रूपमा लिनुपर्ने कार्यक्रममा सहभागीहरूको भनाइ थियो। तर पर्याप्त बजेट नहुँदा रोकथाम र पूर्वतयारीमा लगानी हुन नसकेको, पालिका र वन समितिमा दिगो स्रोतको अभाव रहेको तथा वडा, समूह र समुदायसम्म पूर्वसूचना समयमै नपुग्ने समस्या रहेको धनञ्जय पौडेलले बताए।
डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि बिमा र अन्य प्रोत्साहनको व्यवस्था गर्न पनि सहभागीहरूले आग्रह गरे। मकवानपुर डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत विशाल भट्टराईले वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत स्थानीय तहमा जाने व्यवस्था भए पनि डढेलो नियन्त्रणमा स्थानीय तहबाट ठोस सहयोग नआउने गरेको गुनासो गरे।
संघीय र प्रदेश सरकारबाट डढेलो नियन्त्रणका लागि आउने बजेटसमेत उल्लेख्य रूपमा कटौती भएको छ। भरतपुरस्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार अघिल्लो वर्षसम्म संघ र प्रदेश सरकारले चितवनमा डढेलो नियन्त्रणका लागि ३० लाख रुपैयाँसम्म बजेट दिने गरेका थिए। तर चालु वर्ष दुवै तहका सरकारबाट जम्मा तीन लाख रुपैयाँ मात्रै बजेट आएको छ।
बजेटको अभावसँगै उपलब्ध उपकरण प्रयोग गर्ने तालिमको पनि कमी छ। मकवानपुरको रानी सामुदायिक वन उपभोक्ता समितिका कार्यालय सचिव भीमसेन पौडेलले डढेलो नियन्त्रणका लागि खरिद गरिएका आधुनिक उपकरण प्रयोग गर्ने तालिम दिनुपर्ने माग गरे। ‘हाम्रो वन समितिमा तीन लाख रुपैयाँ बराबरका उपकरण डढेलो नियन्त्रणका लागि भनेर आएका छन्। तर चलाउने तालिम नपाउँदा त्यसै बसे। धन्न डढेलो भने लागेन,’ पौडेलले भने। उनले वन स्रोतको उचित वितरण, उपभोक्ताको सन्तुष्टि, आर्थिक पारदर्शिता र सुशासन कायम गर्न सके वनप्रति उपभोक्ताको अपनत्व बढ्ने अनुभव सुनाए। त्यसले वनमा आगो लगाउने प्रवृत्ति निरुत्साहित गर्नुका साथै डढेलो लागेमा नियन्त्रणमा समुदायको सक्रिय सहभागिता बढाउने उनको भनाइ थियो। गण्डकी प्रदेशका वन सचिव मोहन काफ्लेले डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेका आधुनिक प्रविधि र उपकरण आवश्यक रहेको बताए। ‘हामीलाई डढेलो नियन्त्रणका लागि विश्वमा प्रचलनमा रहेका उपकरण, जस्तै हेलिकप्टरसम्म आवश्यक पर्न सक्छ। वन डढेलो संवेदनशील विषय हो भनेर सरकारले प्राथमिकतामा राखे बजेट प्राप्त हुन्छ। बजेट भए प्रविधि, उपकरण र त्यसलाई चलाउने जनशक्ति उपलब्ध हुन्छ,’ काफ्लेले भने। डढेलोका घटना बढ्दै गए पनि यसबारे पर्याप्त र गहिरो अध्ययन अनुसन्धान हुन नसकेको उनले बताए।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।