र गत मे १५ मा महामारी घोषणा भएयता ११ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ
किन्शासा — प्रजातान्त्रिक गणतन्त्र कंगोको इटूरी प्रान्तस्थित एक अस्पतालनजिकै भएको भीषण भिडन्तका कारण इबोला प्रतिकार्य प्रयास अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।
आइतबार उनले भिडन्तका कारण स्वास्थ्यकर्मी तथा सहायता साझेदारहरू २४ घण्टाभन्दा बढी समयदेखि प्रसूति कक्षभित्र आश्रय लिन बाध्य भएको जानकारी दिए ।
सामाजिक सञ्जाल 'एक्स' मार्फत टेड्रोसले इबोला संक्रमण सुरु भएको क्षेत्रनजिकै झडप भइरहेको बताए । यसले बिरामी, तिनका परिवार र स्वास्थ्यकर्मीलाई 'गम्भीर जोखिम' मा पारेको उनको भनाइ छ ।
गत अक्टोबरको अन्त्यदेखि पूर्वी कंगोभर आक्रमणका घटना बढेको र त्यसले इबोला प्रतिकार्यमा गम्भीर असर पारेको उनले उल्लेख गरे ।
टेड्रोसका अनुसार डब्लूएचओले स्वास्थ्य संस्थामा फसेका कर्मचारीको सुरक्षित उद्धारका लागि मानवीय साझेदारहरूसँग समन्वय गरिरहेको छ । साथै उनले अस्पतालका कर्मचारी, बिरामी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अपिलसमेत गरेका छन् ।
पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलालाई महामारी घोषणा गरिएको ६ महिना बितिसक्दा पनि यो भाइरस अझै नियन्त्रणबाहिर छ । त्यहाँ संक्रमित र मृतकको संख्या तिव्र गतिमा बढिरहेको छ ।
सरकारी तथ्यांकअनुसार गत मे १५ मा महामारी घोषणा भएयता ११ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।