नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
सन् २०२६ नोभेम्बर २२ मा भएको सम्झौताअनुसार भारतीय उद्योग परिसंघले भारत सरकार तथा आफना सदस्य उद्योगसँग समन्वय गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नेछ भने महासंघले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गर्नेछ।
सम्झौताअन्तर्गत पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने र दुईवटा अस्पताललाई आधारभूत जीवनरक्षा सुविधासहितका एम्बुलेन्स हस्तान्तरण गर्ने योजना छ । यी कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ।
दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना, कृषि तथा साना व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने, सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गर्ने योजना छ। साथै प्रभावित लघु, घरेलु तथा साना उद्योगको पुनरुत्थान, वित्तीय तथा बजार पहुँच विस्तार र नेपाली तथा भारतीय उद्योगबीच व्यावसायिक साझेदारी प्रवद्र्धन गरिनेछ।
रसुवा, नुवाकोट र धादिङलगायत बागमती प्रदेशका बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रम कार्यान्वयनका लागि दुवै संस्थाले आ–आफ्नो सरकारसँग आवश्यक स्वीकृति तथा समन्वय गर्नेछन्।