६ मंसिर, काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोट विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुन: सञ्चालन गर्न आवश्यक शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ ।
१० भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको क्याम्पसलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३ सयभन्दा बढी विद्यार्थी फेरि कक्षामा फर्कन सक्नेछन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसन निर्देशक विशाखालक्ष्मी खड्काले हालै नगरपालिका कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि ३ सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधारमा सहयोग गर्ने छ ।
साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधा पनि उपलब्ध गराउने छ । यसबाट विद्यार्थीलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ ।
‘हाम्रो क्याम्पसमा कक्षा सञ्चालनका लागि अतिआवश्यक शैक्षिक पूर्वाधार सहयोग गरेकोमा एनसेल फाउन्डेसनप्रति आभारी छौं,’ मेयर श्रेष्ठले भने, ‘यो सहकार्यलाई उच्च मूल्यांकन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौं ।’
शिक्षा क्षेत्रमा एनसेल फाउन्डेसनको प्राथमिकता रहँदै आएको छ र यो पहलले समुदायसँग नजिक रहेर उनीहरूको आवश्यकता अनुसार काम गर्ने फाउन्डेसनको शैलीलाई पनि झल्काउँछ ।
‘हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौं, यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन, प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ,’ एनसेल फाउन्डेसन निर्देशक खड्काले भनिन्, ‘विदुर नगरपालिकासँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो, हामी स्थानीय साझेदारहरूसँग मिलेर अन्य विद्यालय तथा क्याम्पस पहिचान गरी सहयोग गर्नेछौं ।’
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड राहत सहयोग प्रदान गरेको थियो । त्यसपछि अब प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता भएका विद्यालय तथा विद्यार्थीको सहयोगका लागि स्थानिय पालिकसँगको प्रत्यक्ष सहकार्य तथा समन्वयमा समुदायको तल्लो स्तरसम्म पुगेर काम सुरु भएको छ ।
यसको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसन मार्फत हुनेछ । नगरपालिका र स्थानीय समुदायसँग मिलेर एनसेल फाउन्डेसन र कर्मयोग फाउन्डेसनले प्रभावित क्षेत्रमा आवश्यकता मूल्यांकन गर्नेछन् ।
यसबाट पठनपाठन पुन: सुरु गर्न र निरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय तथा क्याम्पसहरू पहिचान गरिने एनसेल फाउन्डेसनले जनाएको छ ।