७ मंसिर, धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।
छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा सञ्चालित उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा थियो । तर, आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उद्योगको उत्पादन दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ ।
उद्योग सञ्चालक दिनेश पौडेलले तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको बताए । सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ठूलो लगानी जोखिममा परेको उल्लेख गर्दै उनले नेपालमा लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन रहेको बताए ।
उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्था र चिसो मौसमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पौडेलले बताए । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा सीमित हुने गरेको थियो । त्यसमा पनि कोरोना महामारीपछि अर्थतन्त्रमा आएको मन्दीले उद्योगलाई थप संकटमा पारेको थियो ।
भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको थियो । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्टको बिक्री घट्नुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए ।
उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारमा अन्य जिल्लाका उद्योगबाट उत्पादित सिमेन्टमा निर्भर हुनुपर्ने अवस्था आएको छ ।
उद्योग बन्द हुँदा स्थानीय अर्थतन्त्र प्रभावित
निगाले सिमेन्ट बन्द हुनु सञ्चालकको व्यावसायिक समस्यामा मात्र सीमित छैन । उद्योग बन्द भएपछि त्यहाँ प्रत्यक्ष काम गर्ने मजदुर र प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी तथा उद्योगमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन् ।
कोरोना महामारीपछि देशभर देखिएको आर्थिक संकटको असर धनकुटाका साना तथा मझौला उद्योगमा समेत परेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम रायमाझीले बताए । यही कारण निगाले सिमेन्टलगायत उद्योग बन्द हुने क्रम बढेको उनको भनाइ छ ।
उद्योग पुनः सञ्चालनका लागि समस्याको पहिचान गरी आवश्यक पहल गर्ने संघको तयारी रहेको रायमाझीले जानकारी दिए । स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या वा कच्चा पदार्थ आपूर्तिसम्बन्धी कठिनाइ भए त्यसको समाधानका लागि पहल गर्न सकिने उनले बताए । तर, समस्या उद्योग सञ्चालककै आन्तरिक कारणसँग सम्बन्धित भए संघले प्रत्यक्ष रूपमा समाधान गर्न नसक्ने उनको भनाइ छ ।
तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारी पक्षबाट ठोस प्रयास हुन नसकेको रायमाझीले बताए ।
छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले भने उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको बताए । आन्तरिक कारणले बन्द भएकाले गाउँपालिकाले कुनै पहल गर्न नसकेको उनको भनाइ छ । उद्योग बन्द हुनुको वास्तविक कारण स्थानीयस्तरको समस्या हो वा अन्य कारण भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए ।
उद्योग बन्द भएपछि स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो असर परेको सुब्बाले बताए । उद्योगमा कार्यरत मजदुर, प्राविधिक कर्मचारी, ढुवानी व्यवसायी तथा उद्योगसँग जोडिएका स्थानीय पसल र व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।
विद्युत्को १६ करोड र गाउँपालिकाको २२ लाख बक्यौता
उद्योगको आर्थिक संकटसँगै विद्युत् महसुल र गाउँपालिकालाई बुझाउनुपर्ने रकमको बक्यौतासमेत बढेको छ ।
नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख ८ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी छ । समयमै महसुल भुक्तानी नगर्दा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए । ठूलो रकमको विद्युत् महसुल बक्यौता पनि उद्योग पुनः सञ्चालनका लागि चुनौती बनेको छ ।
त्यस्तै, उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले गाउँपालिकालाई बुझाउने सहमति भएको थियो । सुरुका वर्षमा उद्योगले गाउँपालिकालाई रकम बुझाए पनि पछिल्लो समय भुक्तानी नगर्दा करिब २२ लाख रुपैयाँ बक्यौता रहेको गाउँपालिका अध्यक्ष सुब्बाले जानकारी दिए ।