Trending
Prev Story
Next Story

पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन । न बाख्रा थिए, न भेडा । करिब १५० …

पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो

मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो ।

देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन ।

करिब १५० वर्षदेखि देवीको पूजासँग जोडिँदै आएको पशुबलिको परम्परा यसपटक रोकिएको थियो।

देवीको पूजा भने रोकिएको थिएन । धार्मिक विधि पनि रोकिएका थिएनन् । भक्तजनको आस्था पनि उस्तै थियो ।

फरक यत्ति थियो, अब नागकोटी मातालाई पशुबलि चढाइने छैन ।

भारतस्थित हिमाचल प्रदेशको शिमला जिल्लाको नावर क्षेत्रमा पर्ने दारोटी गाउँस्थित नागकोटी माता दारोटेश्वरी मन्दिरमा गाउँलेहरूले सामूहिक रूपमा यस्तो निर्णय गरेका हुन् ।

करिब ९० किलोमिटर टाढा रहेको शिमलाबाट पुगिने यो ठाउँ स्थानीय धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र मानिन्छ ।  नागकोटी माता दारोटेश्वरी मन्दिरमा पशुबलि नयाँ कुरा थिएन ।

पुस्तौँदेखि चल्दै आएको यो परम्परामा धार्मिक अवसरमा बाख्रा र भेडा चढाउने गरिन्थ्यो । हिमाचल प्रदेशका अन्य पहाडी मन्दिरमा पनि यस्तै परम्परा रहेको बताइन्छ।

मानिसहरूका लागि त्यो मात्र एउटा धार्मिक विधि थियो । देवीप्रतिको विश्वाससँग जोडिएको अटुट एउटा अभ्यास थियो।

समाज बदलिँदै जाँदा पुराना परम्पराबारे प्रश्न उठ्न थाले । धार्मिक आस्था जोगाउँदै हिंसारहित विधि अपनाउन सकिन्छ कि सकिँदैन भन्ने बहस पनि बढ्दै गयो। दारोटी गाउँमा पनि यही प्रश्न पुग्यो।

अन्ततः गाउँलेहरूले पुरानो परम्परालाई निरन्तरता नदिने निर्णय गरे ।

मन्दिरका पुजारी वेदप्रकाश भारद्वाजका अनुसार प्राणप्रतिष्ठा समारोह हुनुभन्दा करिब दुई महिनाअघि गाउँले र देव समाजबीच यस विषयमा सहमति भएको थियो । त्यसपछि भविष्यमा मन्दिरमा हुने धार्मिक समारोह र अन्य कार्यक्रमहरूमा पशुबलि नदिने निर्णय भयो ।

पुरानो चलन रोक्नुको अर्थ देवीप्रतिको आस्था रोक्नु होइन । दारोटीका गाउँलेहरूले यही कुरा देखाउन खोजेका छन् ।

उनीहरूले देवीको पूजा र धार्मिक परम्परा निरन्तरता दिने निर्णय गरेका छन् । तर त्यसका लागि पशुबलिको बाटो रोजेनन् ।

बरु, प्रतीकात्मक र अहिंसात्मक धार्मिक विधिलाई अघि बढाउने निर्णय गरे ।

पुजारी भारद्वाजका अनुसार समयअनुसार धार्मिक अभ्यासमा सकारात्मक परिवर्तन आवश्यक हुन्छ । यस्ता परिवर्तनले समाजलाई नयाँ दिशा दिनुका साथै आध्यात्मिक तथा सांस्कृतिक मूल्य जोगाउन सहयोग गर्ने विश्वास गाउँलेहरूको छ।

अर्थात्, उनीहरूले परम्परा नै फ्याँकेनन्। तर, परम्पराको एउटा रूप बदले ।

नागकोटी माता दारोटेश्वरीको नयाँ मन्दिर निर्माणको काम करिब एक दशकअघि सुरु भएको थियो। हालै निर्माण सम्पन्न भएको मन्दिरमा करिब २ करोड रुपैयाँ खर्च भएको बताइएको छ।

मन्दिर तयार भएपछि प्राणप्रतिष्ठाका लागि दुई दिनसम्म विशेष धार्मिक समारोह आयोजना गरियो । हजारौँ भक्तजन सहभागी भएको समारोहमा विभिन्न धार्मिक अनुष्ठान गरिए।

तर नयाँ मन्दिरको उद्घाटनसँगै एउटा नयाँ धार्मिक अभ्यास पनि सुरु भयो, पशुबलिबिनाको पूजा।

यस अर्थमा मन्दिरको प्राणप्रतिष्ठा केवल नयाँ भवनमा देवीको स्थापना गर्ने समारोह रहेन । यो पुरानो धार्मिक अभ्यासलाई नयाँ स्वरूप दिने अवसर पनि बन्यो ।

प्राणप्रतिष्ठा समारोह सुरु हुनुअघि करिब २५ जना भक्तजन धार्मिक यात्रामा निस्किएका थिए । देवीका पवित्र प्रतीक साथमा लिएर उनीहरूले करिब ३०० किलोमिटर यात्रा गरे ।

यात्रा १ नोभेम्बर २०२६ मा सुरु भएको थियो । पहिलो गन्तव्य थियो, कांगडा । कांगडालाई प्राचीन समयमा ‘नागकोट’ भनेर चिनिन्थ्यो । स्थानीय विश्वासअनुसार नागकोटी माताको मूल स्थान पनि यही क्षेत्रसँग जोडिन्छ।

त्यहाँ पुगेपछि भक्तजनहरू उत्तराखण्डको हरिद्वारतर्फ लागे । हरिद्वार पुगेपछि गंगामा स्नान गरे ।

धार्मिक यात्रा पूरा गरेर उनीहरू नोभेम्बर १९ मा दारोटी फर्किए । त्यसपछि सुरु भयो मन्दिरको मुख्य धार्मिक समारोह ।

नागकोटी माताको इतिहाससँग स्थानीय जनविश्वास पनि जोडिएको छ । स्थानीयहरूका अनुसार माताको मूल निवास नागकोटमा थियो ।

त्यहीँबाट केही शताब्दीअघि देवी दारोटीमा प्रकट भएको विश्वास गरिन्छ । यही विश्वासका कारण कांगडा र दारोटीबीचको धार्मिक सम्बन्धलाई विशेष महत्व दिइन्छ ।

देवीको पवित्र प्रतीक लिएर भक्तजनले गरेको लामो यात्रा पनि यही धार्मिक सम्बन्धको निरन्तरता थियो ।

दारोटीमा यसअघि पनि ठूला धार्मिक अनुष्ठान हुने गरेका थिए । स्थानीय विवरणअनुसार सन् १९६२ मा यहाँ ‘शाण्ड यज्ञ’ आयोजना गरिएको थियो ।

अहिले भने दशक लामो निर्माणपछि नयाँ मन्दिर तयार भएको छ।

दुई दिनसम्म चलेको प्राणप्रतिष्ठा समारोहको पहिलो दिन विशेष ‘देव मिलन’ आयोजना भयो । दारोटेश्वरी माता र देवता नारायणबीचको धार्मिक मिलनका रूपमा यसलाई लिइन्छ।

गाउँमा भक्तजनको चहलपहल बढ्यो । टाढाटाढाबाट मानिसहरू आए । पूजा भयो ।  धार्मिक विधि भए । देवीको दर्शनका लागि भक्तजन लाम लागे ।

तर यो सबै भइरहँदा पशबलि भएन । नियम परिवर्तन भए पछि अहिले विश्वको ध्यान खिचिएको छ ।

शनिबार ‘शिखा पूजन’ आयोजना गरियो । यसमा पनि हजारौँ भक्तजन सहभागी भए । स्थानीयका लागि यो केवल नयाँ मन्दिरको धार्मिक समारोह थिएन । लामो समयपछि ठूलो धार्मिक उत्सवको अवसर पनि थियो ।

मन्दिर निर्माणसँग जोडिएका मानिसहरूदेखि टाढाबाट आएका भक्तजनसम्म सबैका लागि यो विशेष अवसर बन्यो । समारोहमा हिमाचल प्रदेशका लोक निर्माणमन्त्री विक्रमादित्य सिंह र शिक्षामन्त्री रोहित ठाकुर पनि सहभागी भए।

तर समारोहको सबैभन्दा ठूलो चर्चा भने मन्दिरको भव्यता भन्दा पनि बलिको अन्त्यले पायो।

२०१४ मै लागेको थियो प्रतिबन्ध हिमाचल प्रदेशमा पशुबलिको विषयमा कानुनी बहस नयाँ होइन । १ सेप्टेम्बर २०१४ मा हिमाचल प्रदेश उच्च अदालतले सार्वजनिक स्थान तथा धार्मिक समारोहमा पशुबलिमाथि राज्यव्यापी प्रतिबन्ध लगाएको थियो।

त्यसपछि धार्मिक स्थलमा पशुबलिको अभ्यासलाई लिएर कानुनी र सामाजिक बहस चल्दै आएको छ । नागकोटी माता मन्दिरमा भएको पछिल्लो निर्णय भने त्यही कानुनी पृष्ठभूमिभन्दा केही फरक किसिमको छ।

यहाँ गाउँले र देव समाज आफैँ बसेर भविष्यमा मन्दिरमा पशुबलि नगर्ने निर्णयमा पुगे । अर्थात्, बाहिरबाट मात्र रोक लगाइएको होइन । समुदाय आफैँले पनि आफ्नो पुरानो अभ्यास परिवर्तन गर्ने निर्णय गरेको हो ।

पशुबलि रोक्ने निर्णयले एउटा प्रश्न फेरि उठाएको छ । समयसँगै धार्मिक परम्परा कति बदलिन सक्छ? र, बदलिँदा के आस्था पनि कमजोर हुन्छ ?

दारोटीका गाउँलेहरूको उत्तर भने फरक छ ।

उनीहरूले आस्था र परम्परा जोगाउन सकिन्छ, तर त्यसका लागि हरेक पुरानो अभ्यासलाई उस्तै राखिरहनुपर्दैन भन्ने सन्देश दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका छन् भने सहज आवागमन र पूजाआजाका लागि स्वयंसेवक, स्काउट तथा प्रहरी परिचालन गरिएको छ।

#मन्दिर #भक्तजन
Compare →
Nagarik News
2d ago
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

#मन्दिर #भक्तजन
Compare →
Hamro Patro News
1w ago
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड मात्र...

#मन्दिर #पूजा
Compare →

Related Stories

World News
Build #2612