सडक र पदमार्ग सुधारिए पनि बडीकेदार धाममा धर्मशाला, खानेपानी, शौचालय र विद्युत्जस्ता आधारभूत सुविधा अझै पर्याप्त छैनन्।
कैलाली — डोटीको बडीकेदार धाममा हरेक वर्ष भक्तजनको चाप बढ्दै छ । सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट समेत लाखौं श्रद्धालु पुग्ने यस धार्मिक स्थलमा पर्याप्त आवास, खानेपानी, शौचालय र विद्युत्को सुविधा छैन ।
साँघुरो भूगोलमा ठूलो संख्यामा भक्तजन पुग्दा व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । मेला सुरु हुनुभन्दा चार–पाँच दिनअघिदेखि नै भक्तजन आउने र मेला सकिएपछि पनि केही दिन बस्ने भएकाले सीमित पूर्वाधारले धान्न मुस्किल पर्ने गरेको स्थानीय बताउँछन् ।
यस वर्ष मंसिर ६ गतेदेखि लाग्ने वैकुण्ठ चतुर्दशी मेलामा दुई लाखभन्दा बढी भक्तजन पुग्ने आयोजकको अनुमान छ । तर, धाममा पर्याप्त आवास र अन्य सुविधा नहुँदा कतिपय भक्तजन राति जंगलमै बस्नुपर्ने अवस्था छ । सडक र पदमार्गमा सुधार भए पनि खानेपानी, शौचालय, धर्मशाला र विद्युत्जस्ता आधारभूत पूर्वाधारको अभाव कायमै छ ।
बडीकेदार गाउँपालिकाकी पूर्वउपाध्यक्ष इन्द्र बोहराका अनुसार साँघुरो भूगोलमा ठूलो संख्यामा भक्तजन पुग्दा भीड व्यवस्थापन गर्न कठिन हुन्छ । पर्याप्त आवास, खानेपानी, शौचालय र विद्युत्को सुविधा नहुँदा भक्तजनले असुविधा भोग्नुपरेको छ । ‘चार–पाँच दिन अगाडिदेखि चार–पाँच दिन पछाडिसम्म धेरै भीड हुन्छ । ठाउँ साँघुरो भएकाले व्यवस्थापन गर्न गाह्रो छ । बाटो पहिलेभन्दा सहज भए पनि पर्याप्त टहरा, खानेपानी र बत्तीको व्यवस्था अझै आवश्यक छ,’ बोहराले भनिन् ।
बडीकेदार धाम डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । समुद्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको यस धाममा भगवान् शिवको विशाल शिला छ । त्यसको दर्शन गर्न हरेक वर्ष सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट श्रद्धालु पुग्ने गर्छन् ।
मनोकामना पूरा हुने विश्वासमा कतिपय भक्तजन हप्तौंसम्म खाली खुट्टा पैदल यात्रा गर्दै बडीकेदार पुग्छन् । डोटीको बडीकेदार गाउँपालिका–५ मा पर्ने धाममा विशेषगरी वैकुण्ठ चतुर्दशी र महाशिवरात्रिका अवसरमा भव्य मेला लाग्छ । वैकुण्ठ चतुर्दशीको मेलामा कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका थारू समुदाय र भारतको उत्तर प्रदेशबाट उल्लेख्य संख्यामा भक्तजन आउने स्थानीय बताउँछन् ।
बडीकेदारप्रतिको आस्था थारू समुदायमा विशेष रूपमा स्थापित छ । कैलाली र कञ्चनपुरका कतिपय श्रद्धालु घरबाटै खाली खुट्टा पैदल यात्रा गरेर त्यहाँ पुग्छन् । उकालो, जंगल र पहाडी बाटो पार गर्दै दुईदेखि चार दिनसम्म हिँडेर धाम पुगिन्छ । उनीहरूका लागि यो यात्रा धार्मिक स्थल पुग्नु मात्र होइन, भाकल, विश्वास र पुर्खौंदेखिको परम्परासँग पनि जोडिएको छ ।
कैलालीको बर्दगोरियाकी रेखा चौधरीका बुबा र जेठाजु हरेक वर्ष बडीकेदार पुग्छन् । पहिले घरबाटै खाली खुट्टा हिँडेर धाम पुग्ने उनीहरू पछिल्लो समय मोटरसाइकलमा जाने गरेका छन् । थारू समुदायका धेरै मानिस बडीकेदारप्रति गहिरो धार्मिक आस्था राख्ने र मनोकामना पूरा हुने विश्वासमा दर्शन गर्न जाने गरेको उनले बताइन्। ‘मेरो बुबा र जेठाजु हरेक वर्ष बडीकेदार जानुहुन्छ । पहिले खाली खुट्टा हिँडेरै जानुहुन्थ्यो, अहिले मोटरसाइकलमा जानुहुन्छ । त्यहाँ गएर पूजा गर्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ,’ चौधरीले भनिन् ।
बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार धामको धार्मिक महिमा हजारौं वर्ष पुरानो इतिहास र विश्वाससँग जोडिएको छ । यहाँ दर्शन गरेपछि आफूले मागेको वर प्राप्त भएको र मनोकामना पूरा भएको अनुभव सुनाउने भक्तजन धेरै रहेको उनी बताउँछन् ।
सन्तान प्राप्ति, पारिवारिक सुख, स्वास्थ्य, रोजगारी तथा जीवनका विभिन्न आकांक्षा पूरा हुने विश्वास बोकेर श्रद्धालु यहाँ पुग्ने गरेका छन् । कतिपय विदेश जाने युवाले आफ्नो काम सफल होस् भनेर भाकल गर्ने र पछि पूरा भएको अनुभव सुनाउने गरेको बमले बताए । ‘श्रद्धालुहरू खुला हृदयले बडीकेदारको दर्शन गर्न आउनुहुन्छ । यहाँ आएर मागेको वर प्राप्त भएको अनुभव सुनाउने धेरै हुनुहुन्छ । धार्मिक विश्वासकै कारण टाढाटाढाबाट भक्तजन आउने गरेका छन्,’ बमले भने ।
बडीकेदारको धार्मिक महिमासँग स्थानीय किंवदन्ती पनि जोडिएको छ । परापूर्वकालमा गाउँको एउटा गाई लेकमा चर्न जाँदा जंगलको बीचमा रहेको शिलामा दूध चढाएर फर्कने गरेको बताइन्छ । घरमा गाईले दूध नदिएपछि गोठालाले चियो गर्दा शिलामा दूध चढाएको देखेको र त्यसपछि स्थानीय ब्राह्मणहरूले उक्त शिलामा पूजाआजा सुरु गरेको किंवदन्ती छ । त्यही समयदेखि कात्तिक चतुर्दशीमा विशेष पूजा हुँदै आएको स्थानीय बताउँछन् ।
बडीकेदारको लेकाली क्षेत्रबाट तराईको समथर भूभाग, भारतको उत्तर प्रदेश तथा डोटी, अछाम र सुर्खेतका अग्ला पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । जंगलको बीचमा रहेको धामको शान्त वातावरण र प्राकृतिक दृश्यले धार्मिक यात्रामा आउनेलाई थप आकर्षित गर्छ ।
अध्यक्ष बमका अनुसार प्रदेश सरकार तथा स्थानीय तहले धामको विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेका छन् । बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाले टहरा तथा अन्य संरचना निर्माणमा सहयोग गरेका छन् । सडक, पदमार्ग र सिँढीमा सुधार भए पनि दुर्गम लेकाली क्षेत्रमा निर्माण सामग्री पुर्याउन कठिन छ।
यद्यपि यस वर्षको मेलाका लागि व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको बमले बताए । उनका अनुसार सुरक्षा र भीड व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय डोटीसँग समन्वय भइसकेको छ ।
बडीकेदार धामलाई राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने माग समितिले गरेको छ । अध्यक्ष बमले सडक, पदमार्ग, खानेपानी, धर्मशाला र अन्य पूर्वाधारका लागि बजेट व्यवस्था गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । साथै, उनले प्रधानमन्त्रीलाई बडीकेदार धाम दर्शन तथा अवलोकनका लागि निमन्त्रणा गरेका छन् ।
यस वर्ष मेलामा सहभागी हुन चाहनेका लागि पूर्वमन्त्री प्रेमबहादुर आले र धनगढी उपमहानगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेका छन् । आलेका सातवटा बस र उपमहानगरपालिकाले नगरवासीका लागि पाँचवटा बस सञ्चालन गर्ने भएको छ । ती बस आइतबार बिहान धनगढीबाट प्रस्थान गरेको र सोमबार फर्किने कार्यक्रम छ । धनगढी उपमहानगर प्रमुख गोपाल हमालले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा नगरवासीलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको बताए।