कर्णालीका सबै १० जिल्लाका बासिन्दालाई काठमाडौं र विराटनगरका शिक्षण अस्पतालमा ५० प्रतिशतसम्म उपचार सहुलियत दिने संयन्त्र बनाउने उनको योजना छ।
जुम्ला — जीपी (गिरिजाप्रसाद) कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टको कर्णाली प्रदेश संयोजकमा इन्जिनियर विश्वराज काफ्ले नियुक्त भएका छन् ।
फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुनिलकुमार शर्माले उनलाई आइतबार संयोजकमा नियुक्त गरेका हुन् । कनकासुन्दरी गाउँपालिका–७ का स्थायी बासिन्दा रहेका काफ्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वरजिष्टार समेत हुन् ।
फाउन्डेसनले लोकतन्त्र, शान्ति तथा विकासका क्षेत्रमा काम गर्दै आएको छ । संयोजक काफ्लेले कर्णाली प्रदेशमा संस्थाका गतिविधि विस्तार तथा प्रभावकारी बनाउने प्रतिबद्धता गरेका छन् । कर्णालीका दुर्गम बस्तीमा आर्थिक अभावकै कारण गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न पनि फाउण्डेशनले काम गर्ने उनले बताए ।
संयोजक काफ्लेले कर्णालीका १० वटै जिल्लाका बासिन्दालाई काठमाडौं शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालसँग मिलेर ५० प्रतिशतसम्म सहुलियतमा उपचार उपलब्ध गराउन तत्काल संयन्त्र निर्माण गर्ने बताए ।
प्रतिष्ठानको रजिस्ट्रार रहँदा कर्णालीको स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासमा योगदान पुर्याएको भन्दै काफ्लेले स्वास्थ्यसँगै शिक्षा, कृषि, पर्यटन, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम गाउँ–गाउँसम्म पुर्याउने दाबी गरे । प्रदेश समिति पूर्ण भएपछि प्रदेशका सबै जिल्लामा सामाजिक सेवा तथा स्वास्थ्य सहुलियतका कार्यक्रम विस्तार गरिने उनले बताए ।
डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।