सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।
कञ्चनपुर — भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका ईश्वर उपाध्यायले महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा धान बिक्री गर्न तिहारअघि नै टोकन लिएका थिए । तर, हालसम्म पनि उनले धान बिक्री गर्न पाएका छैनन् ।
‘टोकन त पायौं, तर धान बिक्री गर्न पाइएको छैन,’ उपाध्यायले भने, ‘हामीले धान बेच्न जहिल्यै सास्ती पाउनुपरेको छ ।’ उनले गत वर्ष पनि खाद्यमा धान बिक्री गर्न खोजेका थिए । तर, न्यून कोटाका कारण बिक्री गर्न नसकेर व्यापारीलाई सस्तोमा बेच्नुपरेको उनले बताए ।
कम्पनीको महेन्द्रनगरस्थित कार्यालयमा अहिले पनि किसानहरू दैनिक आउने गरेका छन् । उनीहरू धान खरिद हुने–नहुने र टोकन पाइने–नपाइनेबारे सोधपुछ गर्न आउने गरेका हुन् ।
खाद्यले धान खरिदका लागि पाएको कोटाअनुसार दुई साताअघि ३ सय किसानलाई टोकन वितरण गरेको थियो । टोकन लिन आएका अन्य किसान भने रित्तो हात फर्किए । उनीहरूले कोटा वृद्धि नभएसम्म धान खरिद सुरु गर्न नहुने माग राखे । जिल्ला प्रशासन कार्यालयमा बसेको प्राथमिक खरिद समितिको बैठकले थप कोटा माग गर्ने र कोटा वृद्धि नभएसम्म धान खरिद नगर्ने निर्णय गरेको छ ।
यस वर्ष खाद्यले कञ्चनपुरमा ८ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको छ । सोहीअनुसार एक किसानबाट बढीमा ३० क्विन्टल खरिद गर्ने गरी ३ सय जनालाई टोकन वितरण गरिएको कम्पनीको महेन्द्रनगर कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए । उनका अनुसार यस वर्ष धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ ।
तर, खाद्यले समयमै धान खरिद नगर्दा किसानहरू व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन् । अहिले व्यापारीहरूले प्रतिक्विन्टल २ हजार ७ सय रुपैयाँ हाराहारीमा धान खरिद गरिरहेका छन् । ‘कोटा थपका लागि केन्द्रमा पत्राचार भएको छ । यसबारे निर्णय भएपछि मात्रै धान खरिद सुरु गरिनेछ,’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘अहिले कोटा नबढेसम्म धान खरिद नगर्ने निर्णय भएको छ ।’ उनका अनुसार किसानहरूले नै कोटा नबढेसम्म धान खरिद गर्न नहुने माग राखेका थिए । सोहीअनुसार केन्द्रमा २० हजार क्विन्टल कोटा थप माग गरिएको उनले बताए ।
खाद्यले गत वर्ष पनि न्यून कोटा पाएको थियो । सुरुमा ५ हजार क्विन्टल र त्यसपछि २ हजार क्विन्टल थप गरेर ७ हजार क्विन्टल धान खरिद गरिएको थियो । त्यसपछि पनि किसानको चापअनुसार कोटा थप गर्न आग्रह गरिएको थियो । तर, केन्द्रले कोटा नथपेपछि किसानहरूले सस्तोमै धान बिक्री गरेका थिए ।
कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन हाराहारी रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यस वर्ष धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले बताए । उनका अनुसार गत वर्ष प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन रहेको उत्पादकत्व यस वर्ष बढेर ४ दशमलव २५ मेट्रिक टन पुगेको छ ।
धानको उत्पादन बढ्दै गए पनि खाद्यले खरिद गर्ने कोटा भने निकै कम हुने गरेको छ । त्यसका कारण किसानहरू सस्तोमा धान बेच्न बाध्य छन् । अझ जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र बेलडाँडीका किसानहरू ग्रामीण भेगका व्यापारीलाई नै धान बिक्री गर्न बाध्य छन् । खाद्यले महेन्द्रनगरमा मात्रै खरिद केन्द्र राखेको छ । दक्षिणी क्षेत्रका किसानका लागि त्यहाँसम्म धान ढुवानी गर्दा थप खर्च लाग्ने गरेको छ ।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।