मगर समुदायको भाषा, साहित्य, परम्परा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘निठ्यान (निधो)’ साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति चितवनद्वारा प्रकाशित यस पत्रिकाको पहिलो संस्करण आज (शनिबार) चितवनको भरतपुरमा नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष हर्क आलेमगरको हातबाट लोकार्पण गरिएको हो।
पत्रिकामा ५९ जना सर्जकका लेख तथा रचना समेटिएका छन्। जसमा मगर अक्खालिपिमा ११ वटा कविता तथा गजल, मगर ढुट भाषामा ८ वटा र मगर नेपाली भाषामा २३ वटा लेख तथा रचना समावेश छन्। त्यस्तै, मगर नेपाली भाषामा आत्मकथा, संस्मरण, निबन्ध, प्रबन्ध, लघुकथा र एकाङ्कीलगायत विभिन्न विधाका साहित्यिक सिर्जना समेटिएका छन्।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिका अध्यक्ष खडक पामी आलेमगरले पत्रिकामा मगर अख्खा लिपिका वर्णहरू तथा मगर भाषामा महिना, बार, दिशा र रङहरूको जानकारीसमेत समावेश गरिएको बताए। उनले पत्रिकाको सबैभन्दा महत्त्वपूर्ण पक्ष मगर ढुट भाषामा साहित्यिक सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे। मगर भाषाका शब्द, अभिव्यक्ति, अनुभूति र मौलिक जीवनशैलीलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ। मगर समुदायको भाषा, साहित्य र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस साहित्यिक पत्रिकाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको एक महिने मगर ढुट भाषा तथा अख्खालिपि प्रशिक्षण कार्यक्रमपछि भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पत्रिका प्रकाशन गरिएको हो। सामान्यतया भाषा प्रशिक्षण कार्यक्रम सिकाइ र प्रमाणपत्र वितरणमा सीमित हुने गरे पनि यस कार्यक्रमबाट प्राप्त ज्ञानलाई साहित्यिक सिर्जनामा रूपान्तरण गरी प्रकाशनसम्म पुर्याउनु महत्त्वपूर्ण उपलब्धि भएको संस्थाकी अध्यक्ष धनमाया थापामगरले बताइन्।
आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले भाषा, कला र संस्कृति लोप हुँदै गइरहेको अवस्थामा यस्ता प्रकाशनले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। उच्च शिक्षा हासिल गर्न विभिन्न स्थानमा पुग्दा पनि आफ्नो भाषा र संस्कृतिको प्रवर्द्धन गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
प्रकाशित: ५ मंसिर २०८३ २१:०० शनिबार