नेपाली पुस्तक बजारमा यो साता इतिहास, दर्शन-चिन्तन, राजनीति-संस्कृति विषयका नयाँ पुस्तक सार्वजनिक भएका छन् ।
काठमाडौँ — नेपाली पाठकका लागि यो साता बजारमा नयाँनयाँ विधाका पुस्तक आएका छन् । इतिहास, दर्शन-चिन्तन, राजनीति र संस्कृति लगायतका नयाँ पुस्तकबारे संक्षेपमा जानकारी दिने कोसिस गरेका छौं ।
लेखक तथा अभियन्ता मोहन गोले तामाङका दुई पुस्तक एक साथ सार्वजनिक गरिएको छ । ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’पाठकमाझ आएको हो ।
लेखक तामाङले ३५/३६ वर्षदेखि अभियन्ताका रूपमा देश घुम्दाका अनुभव पुस्तकमा समेटिएको बताए । विभिन्न आन्दोलनमा सहभागी हुँदा र नेपाल तामाङ घेदुङको १० वर्षसम्म नेतृत्व गर्दाका अनुभव अभिलेखीकरण गरिएको उनको भनाइ छ ।
लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक सार्वजनिक भएको छ । अधिकारी राससका कार्यकारी सम्पादक हुन् । पुस्तकमा कर्मवादलाई आधुनिक जीवन, राजनीति र राष्ट्रनिर्माणसँग जोडिएको छ । लेखक अधिकारीले कर्म, नैतिकता, जिम्मेवारी, पुरुषार्थ र सामाजिक उत्तरदायित्वलाई आधुनिक जीवन तथा राष्ट्रनिर्माणसँग जोडेर पुस्तकमा विश्लेषण गरिएको बताएका छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरका बारेमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा तयार पारिएको ‘शक्तिपीठ पाथीभरा’ नामक पुस्तक शुक्रबार विमोचन सार्वजनिक भयो । हर्कराज गुरुङको लेखन तथा सम्पादनमा पुस्तक तयार गरिएको हो ।
पुस्तकमा पाथीभराको परिचय र धार्मिक महत्वबारे लेखिएको छ । तीन भाषामा रहेको पुस्तकले पाथीभराको धार्मिक तथा पर्यटकीय पहिचानलाई स्वदेश तथा विदेशमा प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुस्तक पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको हो ।
इतिहासकार महेशराज पन्तको पुस्तक 'राणा : काल, कर्ता र किताब' शुक्रबार पाठकमाझ आएको छ । पुस्तकमा पन्तले राणा कालखण्डका केही पात्र र पुस्तकबारे मिहिन तथ्य-सूचना-विश्लेषण पस्केका छन् । यो पुस्तक नेपालको आधुनिक इतिहास बुझ्न चाहने सबैका लागि भरपर्दो स्रोत-सामग्री हो ।