५ मंसिर, सुर्खेत । चारैतिर अग्ला हिमाल, बीचमा फराकिलो उपत्यका, ढुंगामाटोले बनेका परम्परागत घर, छानामाथि फहराइरहेका बौद्ध धर्मका ध्वजापताका र शान्त वातावरण। प्रकृतिको अनुपम सुन्दरता र मौलिक तिब्बती संस्कृति बोकेको उपल्लो डोल्पाको धो गाउँ कुनै सामान्य हिमाली बस्ती होइन । यो इतिहास, धर्म, संस्कृति, व्यापार र सभ्यताको लामो विरासत बोकेको गाउँ हो ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ मा पर्ने धो गाउँपालिकाको प्रशासनिक केन्द्र हो । समुद्री सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको यो बस्ती धो–तराप उपत्यकाका महत्वपूर्ण बस्तीमध्ये एक हो । कुनै समय उपल्लो डोल्पाको प्रशासनिक केन्द्रका रूपमा परिचित धो अहिले पनि यस क्षेत्रको व्यापारिक तथा सामाजिक गतिविधिको केन्द्र बनेको छ ।
भौगोलिक विकटताका कारण लामो समय राज्यका सेवा, सुविधा र पूर्वाधारबाट वञ्चित यस गाउँमा अहिले विकासका नयाँ सम्भावना देखिन थालेका छन्, स्थानीय समाजसेवी ग्याल्पो भोटे भन्छन् । यहीँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ भने नेपाली सेनाले धो क्षेत्रबाट उपल्लो डोल्पातर्फ सडक निर्माणको काम अघि बढाएको छ । यी प्रयासले धोको ऐतिहासिक महत्वसँगै आधुनिक विकासको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ ।
डोल्पो क्षेत्रको इतिहास हिमाली सभ्यता, तिब्बती सांस्कृतिक प्रभाव तथा बौद्ध र बोन धर्मसँग जोडिएको छ । नेपाल र तिब्बतबीचको भौगोलिक तथा सांस्कृतिक सम्पर्कको महत्वपूर्ण भूभागका रूपमा यसले लामो इतिहास बोकेको छ ।
इतिहासका विभिन्न कालखण्डमा डोल्पोका बस्तीहरू आफ्नै परम्परागत सामाजिक संरचना र स्थानीय नेतृत्व प्रणालीबाट सञ्चालित थिए । तिब्बतसँगको धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्धले यहाँको जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भोटेको भनाइ छ ।
डोल्पो कुनै समय तिब्बतसँग जोडिने परम्परागत व्यापारिक मार्गको हिस्सा थियो । याक, चौँरी र अन्य पशुका बथानमार्फत नुन, अन्नलगायतका सामग्री ओसारपसार हुन्थ्यो । तिब्बतबाट ल्याइएको नुन नेपालको पहाडी क्षेत्रसम्म पुग्थ्यो भने यहाँबाट अन्न तथा अन्य सामग्री तिब्बततर्फ पठाइन्थ्यो । यही व्यापारिक सम्बन्धले धो–तराप क्षेत्रलाई आर्थिक तथा सामाजिक रूपमा महत्वपूर्ण बनाएको थियो । विभिन्न ऐतिहासिक तथा क्षेत्रीय विवरणमा धो–तराप कुनै समय उपल्लो डोल्पाको प्रशासनिक केन्द्र रहेको उल्लेख पाइन्छ। अहिले डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र बनेर धोले आफ्नो पुरानो प्रशासनिक पहिचानलाई नयाँ संरचनामार्फत निरन्तरता दिइरहेको छ ।
मौलिक संस्कृति र धार्मिक सम्पदाको जीवन्त संग्रहालय
धोको अर्को महत्वपूर्ण पहिचान यहाँको मौलिक संस्कृति हो । यहाँका बासिन्दाको भाषा, भेषभूषा, खानपान, रहनसहन र धार्मिक परम्परामा तिब्बती सभ्यताको गहिरो प्रभाव छ ।
बौद्ध धर्म र प्राचीन बोन धर्मको परम्परा यहाँ पुस्तौँदेखि जीवित छ। गाउँवरपरका गुम्बा, माने, स्तूप, प्रार्थना चक्र र धार्मिक चित्रकलाले यस क्षेत्रको सांस्कृतिक पहिचान बनाएका छन् ।
धार्मिक आस्था यहाँका मानिसको दैनिक जीवनसँग गाँसिएको छ । बिहानदेखि साँझसम्म हुने प्रार्थना, धार्मिक अनुष्ठान, गुम्बाका गतिविधि र चाडपर्वले गाउँको सामाजिक जीवनलाई चलायमान बनाएका छन् ।
धो–तराप क्षेत्रका गुम्बा केवल पूजाआजाका स्थल मात्र होइनन्, ती यहाँको इतिहास, ज्ञान, कला र सभ्यताका महत्वपूर्ण अभिलेख पनि हुन् । स्थानीय धार्मिक सम्पदाको संरक्षण गर्न सके यस क्षेत्रलाई बौद्ध तथा बोन सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिन्छ ।
यहाँ मनाइने परम्परागत उत्सव, घोडा दौड र तीरन्दाजी प्रतियोगिताले पनि धो–तरापको सांस्कृतिक जीवनलाई थप रङ्गीन बनाउँछन् । यस्ता मौलिक गतिविधि पर्यटकका लागि आकर्षण बन्न सक्छन् ।
भूगोल : कठिन हिमाली जीवन र अनुपम प्राकृतिक सुन्दरता
धोको भूगोल आफैँमा विशेष छ । अग्ला पहाडले घेरिएको फराकिलो तर उच्च हिमाली उपत्यका, नदीकिनारमा फैलिएका बस्ती, चरन क्षेत्र र खेतीयोग्य जमिन यहाँका प्राकृतिक विशेषता हुन् ।
धो, लाङ र तोक्युजस्ता बस्ती समेटिएको धो–तराप उपत्यका नेपालको उच्च हिमाली मानव बस्तीमध्ये एक हो । धो बस्तीको उचाइ करिब ३,९०० देखि ४,००० मिटरको हाराहारीमा रहेको उल्लेख गरिएको छ ।
यहाँको मौसम अत्यन्त चिसो हुन्छ । वर्षको लामो समय हिउँ र कठ्याङ्ग्रिँदो जाडो खेप्नुपर्ने भएकाले जनजीवन सहज छैन । खेतीपातीका लागि पनि सीमित समय मात्र पाइन्छ। स्थानीय बासिन्दा जौ, उवा, फापर र आलुजस्ता बाली उत्पादन गर्छन् । पशुपालन यहाँको परम्परागत जीविकोपार्जनको अर्को आधार हो। याक, चौँरी, भेडा र च्याङ्ग्राको पालनले स्थानीय अर्थतन्त्र र जीवनशैलीलाई टिकाइरहेको गाउँपालिका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए ।
छोटो खेतीपातीको मौसम, सीमित उत्पादन, यातायातको अभाव र लामो हिउँद यहाँका मुख्य चुनौती हुन् । प्रकृतिले सुन्दर बनाएको यो ठाउँमा जीवनयापन भने सहज छैन ।
पर्यटनको सम्भावना : धोबाट खुल्ने हिमाली यात्राका अनेक बाटा
प्राकृतिक सुन्दरता, मौलिक संस्कृति, प्राचीन गुम्बा र ऐतिहासिक व्यापारिक मार्गका कारण धो पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो ।
धो–तराप उपत्यका पदयात्रा पर्यटनका लागि विशेष सम्भावना बोकेको क्षेत्र हो । तल्लो डोल्पाको शे–फोक्सुण्डो क्षेत्र हुँदै बगालगाडा र नुम्ला–बागलाका उच्च हिमाली भञ्ज्याङ पार गरेर तराप उपत्यका पुग्न सकिन्छ । त्यसैगरी उपल्लो डोल्पाका साल्दाङलगायतका बस्तीबाट जेङ्ला हुँदै धो पुग्ने पदमार्ग पनि प्रचलित छ । पूर्वतर्फ छार्का जाने पदमार्गले यस क्षेत्रलाई मुस्ताङसँग जोड्ने सम्भावना बोकेको छ ।
धो आउने पर्यटकले परम्परागत बस्ती, गुम्बा, हिमाली कृषि प्रणाली, पशुपालन र स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्न सक्छन् । यहाँको धार्मिक तथा सांस्कृतिक सम्पदा अध्ययन, अनुसन्धान र फोटोग्राफीका लागि पनि महत्वपूर्ण रहेको उपाध्यक्ष गुरुङको भनाइ छ ।
पर्यटकका लागि यहाँको आकर्षण प्राकृतिक दृश्यमा मात्र सीमित छैन । सयौँ वर्षदेखि जोगिँदै आएको जीवनशैली, स्थानीय पोसाक, खानपान, धार्मिक विश्वास र सामुदायिक सम्बन्धले धोलाई फरक पर्यटकीय गन्तव्य बनाएको छ ।
तर पर्यटन प्रवर्द्धनका लागि व्यवस्थित आवास, सञ्चार, स्वास्थ्य सेवा, उद्धार व्यवस्था, पदमार्ग सुधार र पर्यटक सूचना प्रणाली आवश्यक छ । पर्यटक आगमन बढाउँदा स्थानीय संस्कृति र वातावरणमा पर्ने प्रभावमा पनि ध्यान दिनुपर्छ ।
व्यापारिक केन्द्रदेखि सीमापार आर्थिक सम्बन्धसम्म
धोको पहिचान व्यापारसँग पनि जोडिएको छ । ऐतिहासिक रूपमा तिब्बतसँगको व्यापारिक सम्बन्धले यहाँको अर्थतन्त्रलाई चलायमान बनाएको थियो । नुन, अन्न, पशुजन्य उत्पादन तथा दैनिक उपभोग्य सामग्रीको आदानप्रदान यहाँको परम्परागत व्यापारिक अभ्यास थियो ।
अहिले पनि उपल्लो डोल्पाका विभिन्न बस्तीका नागरिकका लागि धो महत्वपूर्ण व्यापारिक केन्द्र हो। आसपासका बस्तीबाट मानिसहरू दैनिक उपभोग्य वस्तु, खाद्यान्न र अन्य आवश्यक सामग्रीको कारोबारका लागि यहाँ आउँछन् । तिब्बतसँगको पुरानो सामाजिक तथा व्यापारिक सम्बन्ध पनि पूर्ण रूपमा टुटेको छैन । यसले धोको व्यापारिक महत्व स्थानीय बजारमा मात्र सीमित नभई सीमापार आर्थिक तथा सामाजिक सम्बन्धसँग पनि जोडिएको देखाउँछ ।
यद्यपि सडक तथा यातायातको अभावले सामान ढुवानी महँगो र कठिन छ । धेरै ठाउँमा खच्चड, घोडा, चौँरी र याकको प्रयोग गरेर सामान ओसार्नुपर्ने अवस्था छ । यसले दैनिक उपभोग्य वस्तुको मूल्यदेखि स्थानीय उत्पादनको बजारसम्म असर पारिरहेको छ । धोको भविष्यसँग जोडिएका अर्का महत्वपूर्ण विषय हुन्— प्रशासनिक सेवा र सडक पूर्वाधार ।
हाल यहाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी थालिएको छ। कार्यालय स्थापना भएपछि उपल्लो डोल्पाका नागरिकले नागरिकता, प्रशासनिक सिफारिस तथा अन्य सरकारी सेवा लिन जिल्ला सदरमुकाम दुनैसम्म पुग्नुपर्ने बाध्यता घट्ने अपेक्षा छ। भौगोलिक विकटताका कारण सामान्य प्रशासनिक कामका लागि समेत लामो दूरी पार गर्नुपर्ने उनीहरूका लागि स्थानीय स्तरमै सरकारी सेवा पाउनु ठूलो उपलब्धि हुनेछ।
अर्कोतर्फ, नेपाली सेनाले धो क्षेत्रबाट उपल्लो डोल्पातर्फ सडक निर्माणको काम थालेको छ। सडक विस्तारले धोलाई अन्य बस्ती तथा बाह्य क्षेत्रसँग जोड्ने सम्भावना बढाएको छ । सडक पुगेपछि खाद्यान्न तथा निर्माण सामग्रीको ढुवानी सहज हुने, स्थानीय उत्पादनले बजार पाउने, बिरामीलाई अस्पतालसम्म पुर्याउन सजिलो हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
सडक र आधुनिक पूर्वाधार विस्तारका नाममा यी सम्पदा क्षति नहुने गरी संरक्षण गर्नुपर्ने भोटेको भनाइ छ । स्थानीय उत्पादन, परम्परागत सीप, पशुपालन र सांस्कृतिक अभ्यासलाई पर्यटन तथा बजारसँग जोड्न सके स्थानीय समुदायले आफ्नै स्रोतबाट आम्दानी गर्ने अवसर पाउने उनले बताए ।