भृकुटीमण्डपमा जारी ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी’ आइतबारसम्म चल्नेछ ।
काठमाडौँ — धादिङकी मीना राई ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ अवलोकन गर्न शुक्रबार काठमाडौंस्थित भृकुटीमण्डप आइपुगिन् । धुनिबेंसी–९ की राई धान खेती गर्छिन् । सिजनअनुसार तरकारी उत्पादन गर्छिन् । आफ्नै फार्म कृषि तथा पशुपन्छी चल्ला उत्पादन केन्द्रमार्फत बोइलर कुखुरापालनदेखि बाख्रापालनसम्म गर्दै आएकी छन् ।
प्रदर्शनीमा उनले विषादी छर्ने स्प्रे पम्प, पोलिब्याग र मार्सी चामललगायतका सामग्री किनिन् । स्वास्थ्य स्वयंसेविकासमेत रहेकी राईलाई घाँस काट्ने मेसिन पनि आवश्यक छ । ‘म यताउता हिँडिराख्छु । घाँस काट्ने छिटो मेसिन चाहिएको छ,’ उनले भनिन्, ‘यसका लागि जिल्ला कृषि कार्यालयमा पनि बुझेकी थिएँ ।’ प्रदर्शनीमा विभिन्न कम्पनीका मेसिनको मूल्य बुझ्दा २५ हजार रुपैयाँभन्दा बढी पर्ने देखिएको उनले बताइन् । पैसा नबोकी आएकाले मेसिन भने नकिनेको उनको भनाइ छ ।
किसानलाई धान रोप्ने, गोड्ने तथा खेतीबाली र जमिनको प्रकृतिअनुसारका उपकरण आवश्यक रहेको उनले बताइन् । ‘अहिले खेतमा काम गर्ने जनशक्ति छैनन्, ज्याला महँगो छ । दिनको ६ सय रुपैयाँ ज्याला दिएर अहिले धान काटिरहेका छौं,’ उनले भनिन्, ‘मेसिन भित्र्याउन पाए केही सहज र सस्तो पर्थ्यो होला ।’
मकवानपुरका डम्बरबहादुर बस्नेत ३८ बिघा जमिनमा केरा खेती गर्छन् । उनी पनि केराबारी जोत्न उपयुक्त हाते ट्र्याक्टर खोज्दै प्रदर्शनीमा पुगेका थिए । उनले अहिलेसम्म कुनै पनि कृषि मेसिन चलाएका छैनन् । ‘एक पटक प्रयोग गरौं न त भनेर हेर्न आएको हुँ,’ बस्नेतले भने । उनले डेढ लाख रुपैयाँसम्मका हाते ट्र्याक्टर हेरे । परिवारका सबै सदस्यले सहजै चलाउन सक्ने र कम्पन कम हुने मेसिन उनको खोजीमा छ । ‘बजेटभन्दा पनि राम्रो कम्पनीको चाहिएको हो । सानो पनि होस्, छोरीबुहारी सबैले चलाउन सकून् भन्ने हो,’ बस्नेतले भने, ‘डिजेलकै राम्रो होला, इलेक्ट्रिकको त के भर होला र ?’
दक्षिणकालीका असारे सार्की चार वर्षदेखि फाली ट्र्याक्टर चलाइरहेका छन् । उनी धान, गहुँदेखि तरकारी खेतीसम्म गर्छन् । तर, ट्र्याक्टर खेतसम्म पुर्याउन भने उनलाई सहज छैन । मेसिन बोक्नकै लागि अर्को व्यक्तिको सहयोग लिनुपर्छ । केही तल रहेको खेतसम्म बाँसको सहायताले ट्र्याक्टर बोकेर पुर्याउने गरेको उनले बताए । ‘ट्र्याक्टर चलाउन सके खेती गर्न त सजिलो छ, तर खेतसम्म पुग्ने बाटो छैन,’ सार्कीले भने, ‘बाँसले बाँधेर दुई जनाले बोकेर पुर्याउनुपर्छ ।’
राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजना तथा बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा प्रदर्शनी गरिएको हो । ‘कृषिमा यन्त्र र प्रविधि–कृषक र राष्ट्रको समृद्धि’ भन्ने मुख्य नारासहित भृकुटीमण्डपमा आयोजित प्रदर्शनी ६ मंसिरसम्म सञ्चालन हुनेछ । प्रदर्शनी अवलोकन गर्न धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायत जिल्लाका किसान पुगेका छन् ।
प्रदर्शनीमा पुगेका किसानले सस्तो, गुणस्तरीय र आफ्नो जमिनको प्रकृतिअनुसार उपयुक्त उपकरण खोजिरहेका छन् । किसानको आम्दानीको तुलनामा उपकरण महँगो भएको र ठूला मेसिन प्रयोग गर्न नसकिने उनीहरूको भनाइ छ । रामेछापका किसान खुमप्रसाद आचार्यले नेपालको भौगोलिक बनावटअनुसारका उपकरण हुनुपर्ने बताए । ‘तराईका क्षेत्रमा त उपकरण राम्रोसँग प्रयोग गर्न सकिएला । तर, पहाडका ढुंगायुक्त ठाउँमा प्रयोग गर्दा बिग्रिहाल्छ,’ उनले भने ।
भारतीय कम्पनीका कृषि उपकरण आयात गर्दै आएको एसकेटी नेपालले प्रदर्शनीमा पावर टिलर, मिनी टिलरलगायत उपकरण राखेको छ । कम्पनीका निर्देशक सुवास श्रेष्ठका अनुसार किसानले अधिकांश साना उपकरण खोज्ने गरेका छन् । ‘बाली र भूगोलअनुसार नै किसानले उपकरण खोज्नुहुन्छ । पहाडी क्षेत्रका किसानले सानो हाते ट्र्याक्टर, गोड्ने मेसिनलगायत उपकरण खोज्नुहुन्छ,’ उनले भने ।
भारतीय कम्पनी ‘किसान क्राफ्ट’को आधिकारिक बिक्रेता आधुनिक कृषि किसान संसारले पनि खाल्डो खन्ने मेसिन, हाते ट्र्याक्टर र पेट्रोल स्प्रेलगायत उपकरण प्रदर्शनीमा राखेको छ । मेसिन बिक्रीपछि मर्मतसम्भार तथा वारेन्टीको व्यवस्था पनि गरिएको कम्पनीका प्रतिनिधि निरज पन्तले बताए । ‘देशभर २० वटा डिलर छन् । मर्मतसम्भारको व्यवस्था पनि गर्छौं । किसानले फोन गर्दा फिल्डमै पुगेर सेवा दिने सुविधा पनि छ,’ उनले भने ।
कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने, किसानको आम्दानी बढाउने तथा कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म सञ्चालन गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरणमा मात्रै दुई अर्ब रुपैयाँ खर्च भएको कार्यक्रमका सूचना अधिकारी जीतबहादुर चन्दले बताए । उनका अनुसार नेपालमा वार्षिक करिब १२ अर्ब रुपैयाँका कृषि यन्त्र तथा उपकरण आयात हुने गरेका छन् । सरकारी नीति र निजी क्षेत्रबाट भइरहेको आयातका बाबजुद किसानका सबै आवश्यकता पूरा हुन सकेका छैनन् ।
कृषि यान्त्रिकीकरणको पहिलो दशक उपकरण वितरणमा मात्रै सीमित भएकाले त्यसको दीर्घकालीन व्यवस्थापन कमजोर रहेको चन्दले बताए । ‘अहिले यान्त्रिकीकरण किसानलाई उपकरण वितरण गर्ने चरणमा मात्रै सीमित छ । खेतसम्म मेसिन पुर्याएर किसानलाई प्रयोग गर्न जागरुक बनाउने काम भएको छ, तर त्यसको दिगोपन कमजोर छ,’ उनले भने, ‘मर्मतसम्भार, मर्मत सेवा र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । मेसिन बिग्रिएपछि मर्मत गर्ने जनशक्ति नपाएर कृषि उपकरण थन्किने अवस्था छ । अब त्यसमा सुधार गर्नुपर्छ ।’
चन्दका अनुसार नेपालमा कृषि यान्त्रिकीकरण विस्तार गर्न भूगोल, माटो, खेती प्रणाली र स्थानीय बालीअनुसारका उपकरण विकास तथा प्रयोग गर्न आवश्यक छ । यसका लागि खेतीको आकार र स्थानीय भूगोलअनुसार उपयुक्त यन्त्रको प्रयोगमा जोड दिनुपर्ने उनले बताए । ‘नेपालको खेतीयोग्य जमिन सानो र खण्डीकृत भएकाले ठूला कृषि उपकरणको प्रयोग सहज छैन । कृषि यान्त्रिकीकरणको प्रभावकारी उपयोगका लागि चक्लाबन्दी र सामूहिक खेती आवश्यक छ । उत्पादन र उत्पादकत्व बढाउनु पनि यसको उद्देश्य हो । सानो मेसिनले काम गर्न सजिलो त बनाउँछ, तर उत्पादन बढाउन सकेन भने यान्त्रीकरणको मुख्य उद्देश्य पूरा हुँदैन,’ चन्दले भने ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।