प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने तयारीस्वरूप आठ रंगशाला निर्माणको घोषणा गरेका छन्।
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारीस्वरूप आठवटै क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन्।
प्रधानमन्त्री शाहले फेसबुक स्टाटसमार्फत तेस्रो सिजनको एनपीएल च्याम्पियन सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन्।
उनका अनुसार ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन्। प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने जनाएका छन्।
सरकारको योजनाअनुसार आठवटै एनपीएल क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ। त्यसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ।
काठमान्डु गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तथा चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई क्लबको घरेलु मैदानका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आठवटै क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला निर्माण गर्ने योजना कार्यान्वयन भएमा नेपाली क्रिकेटमा घरेलु मैदानको अवधारणा विकास हुनुका साथै एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ।