Trending
Prev Story
Next Story

भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण

Ekantipur •
November 20, 2026 • 05:32 PM
2
2 reads 0 reactions

१९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान, तर शव परिवारको कुन सदस्यको हो भन्ने यकिन गर्न कठिनाइ, नमुना मिलान भएका कुन परिवारले एक वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन बाँकी छ ।

भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण

१९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान, तर शव परिवारको कुन सदस्यको हो भन्ने यकिन गर्न कठिनाइ, नमुना मिलान भएका कुन परिवारले एक वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन बाँकी छ ।

भोटेकोशी बाढी आएको झन्डै तीन महिना बितिसक्दा पनि मृतकका आफन्तले अझै शव पाउन सकेका छैनन् । सरकारले हालसम्म एउटा पनि शव परिवारलाई हस्तान्तरण गर्न नसक्दा धेरैले आफ्ना प्रियजनको अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् ।

गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जिल्लाका नदी किनारमा फेला परेका शवबाट १ हजार ४ सय ४५ वटा नमुना संकलन गरिएको थियो । त्यस्तै, बेपत्ता भएका व्यक्तिका परिवारका २ हजार १ सय ११ सदस्यको रगत नमुना संकलन गरिएको थियो । सरकारी अधिकारीहरूका अनुसार फेला परेका अधिकांश शवको नमुना परीक्षण (डीएनए प्रोफाइलिङ) पूरा भइसकेको छ । तीमध्ये १९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलानसमेत भएको छ ।

तर, आफन्तको डीएनए नमुनासँग मिल्दैमा फेला परेको शव परिवारको कुन सदस्यको हो भन्ने यकिन नहुने सरकारी अधिकारीहरू बताउँछन् । एउटै परिवारका धेरै सदस्य बेपत्ता भएको अवस्थामा डीएनए मिलानले शव सोही परिवारको कुनै सदस्यको भएको देखाए पनि कुन व्यक्तिको हो भन्ने छुट्याउन कठिन हुने उनीहरूको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् पीडित पहिचान टोलीकी संयोजक डा. सिर्जना कुँवरले मृतकको व्यक्तिगत पहिचान गर्नु अत्यन्तै चुनौतीपूर्ण, जटिल र संवेदनशील काम भएको बताइन् । ‘धेरै परिवारले एकभन्दा बढी सदस्य गुमाएका छन् । डीएनए मिलान हुँदा त्यो नमुना परिवारका बेपत्ता सदस्य जोकोहीको हुन सक्छ । त्यसैले फेला परेको शव निश्चित व्यक्तिकै हो भनेर पुष्टि गर्नु सजिलो छैन,’ उनले भनिन् ।

सरकारी अधिकारीहरूका अनुसार मृतकका आफन्तसँग मिलान भएका १९५ वटा शवका नमुनामध्ये कुन परिवारले एक जना वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन सकेको छैन । मृतकको पहिचानका लागि विभिन्न निकायले काम गरिरहेका छन् । खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरेका हुन् । परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्तिम पहिचानको पुष्टि गर्ने जिम्मेवारी भने विपद् पीडित पहिचान टोलीको छ ।

दुवै प्रयोगशालाका अधिकारीहरूले आफूहरूको जिम्मेवारी फेला परेका शवका नमुना परीक्षण गरी आफन्तका नमुनासँग मिलान गर्नु मात्रै रहेको बताएका छन् । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका सूचना अधिकारी मुकुल प्रधानले परीक्षणको प्रतिवेदन विपद् पीडित पहिचान टोलीलाई बुझाइसकेको जानकारी दिए । ‘हामीले आफ्नो प्रतिवेदन सम्बन्धित टोलीलाई बुझाइसकेका छौं । त्यसपछि सम्बन्धित निकायले परीक्षण प्रतिवेदनका आधारमा थप काम र प्रमाणीकरण गरिरहेको हुनुपर्छ,’ उनले भने ।

विपद् पीडित पहिचान टोलीका अधिकारीहरूका अनुसार पहिचान प्रक्रियालाई साँघुरो बनाउन मृतकको जीवित छँदाको शारीरिक अवस्थासम्बन्धी विवरणसमेत तुलना गरिँदै छ । शरीरमा भएका ट्याटु, जन्मजात चिह्न तथा अन्य पहिचान खुलाउने चिह्नलाई आधार बनाइएको छ । त्यस्तै, शवको पोस्टमार्टम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग पनि मृतकको शारीरिक बनावट र विशेषताबारे परामर्श लिइएको छ ।

संयोजक कुँवरका अनुसार एउटै शवका शरीरका विभिन्न भाग फरक–फरक स्थानमा फेला परेकाले एकै व्यक्तिका एकभन्दा बढी नमुना संकलन भएको हुन सक्छ । ती नमुना फरक–फरक प्रयोगशालामा परीक्षण भएका छन् । अर्कोतर्फ, आफन्तका सन्दर्भ नमुनासमेत विभिन्न स्थानमा संकलन गरी फरक प्रयोगशालामा परीक्षण गरिएको हुन सक्ने भएकाले मिलान प्रक्रियामा थप जटिलता आएको छ । ‘एउटै नमुनाको दोहोरो गणना हुन नदिनुपर्छ । आन्तरिक कार्यविधि पालना गर्दै वैज्ञानिक ढंगले काम गर्नुपर्छ, ताकि पछि कुनै विवाद नहोस्,’ कुँवरले भनिन्, ‘प्रक्रिया जटिल भएकाले समय लागिरहेको छ ।’

शव हस्तान्तरणमा भएको ढिलाइले शोकमा रहेका परिवारको पीडा थप लम्बिएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका अधिकारीहरूका अनुसार बेपत्ता आफन्तका परिवारका सदस्यले अहिले पनि दैनिकजसो फोन गरेर जानकारी माग्ने गरेका छन् । फोन गर्ने अधिकांशको एउटै प्रश्न हुन्छ, डीएनए परीक्षण गर्न किन यति धेरै समय लागिरहेको छ ? आफन्तको शव पाउन अझै कति समय कुर्नुपर्ने हो ?

‘धेरै परिवारले अझै आफन्तको अन्तिम संस्कार गर्न पाएका छैनन् । उनीहरू शवको प्रतीक्षामा छन्,’ प्रयोगशालाका सूचना अधिकारी प्रधानले भने, ‘सुरुमा पीडित परिवारका सदस्यहरू आफैं प्रयोगशालामा आएर जानकारी लिने गर्नुहुन्थ्यो । अहिले भने अधिकांशले फोनमार्फत सोधपुछ गर्नुहुन्छ ।’

डीएनए परीक्षणलाई व्यक्तिको पहिचान पुष्टि गर्ने सबैभन्दा विश्वसनीय विधिमध्ये एक मानिन्छ । यसमा मृतकको डीएनए नमुना र नजिकका आफन्त, बुबाआमा, छोराछोरी वा दाजुभाइ, दिदीबहिनीको नमुनाबीच आनुवंशिक सम्बन्ध परीक्षण गरिन्छ । खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि ८५७ वटा नमुना प्राप्त भएका थिए । तीमध्ये ८२७ वटाको डीएनए प्रोफाइलिङ पूरा भइसकेको र बाँकी ३० वटाको परीक्षण भइरहेको प्रयोगशालाका अधिकारीहरूले बताएका छन् ।

अन्य नमुनाको परीक्षण नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले पनि पीडितका नमुनाको प्रोफाइलिङ र दर्जनौं नमुनाको मिलान पूरा गरी प्रतिवेदन विपद् पीडित पहिचान टोलीलाई बुझाइसकेको जानकारी दिए ।

दुवै प्रयोगशालाका अधिकारीहरूका अनुसार शव पहिचानका लागि भारत, चीन र दक्षिण कोरियाबाट प्राविधिक तथा प्रविधिगत सहयोग प्राप्त भएको थियो । ती देशले विज्ञ टोली, आवश्यक उपकरण र परीक्षणमा प्रयोग हुने रसायन तथा सामग्रीसमेत उपलब्ध गराएका थिए । ‘उनीहरूको सहयोग नभएको भए सबै परीक्षण पूरा गर्न हामीलाई दुई वर्ष लाग्न सक्थ्यो,’ काफ्लेले भने, ‘उनीहरूको सहयोग निकै महत्त्वपूर्ण रह्यो । यसबाट हाम्रा कर्मचारीले पनि परीक्षण प्रक्रियाबारे महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् ।’

यसैबीच, पहिचान प्रक्रिया निकै लामो र झन्झटिलो भएको भन्दै भोटेकोशी बाढीमा बेपत्ता भएका कतिपयका परिवारले शव पाउने आशा छाडेर आफन्तको अन्तिम संस्कार गरिसकेका छन् । बाढीमा परिवारका सदस्य गुमाएका नुवाकोटका नीराजन पौडेलले शव पहिचानका लागि सन्दर्भ नमुना दिन प्रहरी कार्यालय गए पनि प्रक्रिया निकै लामो हुने थाहा पाएपछि नमुना नदिई फर्किएको बताए । ‘महिनौं लाग्न सक्ने रहेछ, शव पाउन अनिश्चितकालसम्म कुर्नुपर्ने हुने रहेछ । त्यति गर्दा पनि शव भेटिन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने । बाढीमा उनले बुबाआमा, काकाकाकी र काकाका एक सन्तान गुमाएका थिए । शव फेला पर्ने सम्भावना नदेखेपछि उनले हिन्दु परम्पराअनुसार कुशको प्रतिमा बनाएर आफन्तको अन्तिम संस्कार गरेको बताए । हिन्दु परम्परामा शव प्राप्त हुन नसकेको अवस्थामा कुशबाट प्रतीकात्मक शरीर बनाएर अन्त्येष्टि गर्ने चलन छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । नदी किनारमा फेला परेका शवमध्ये १ हजार १ सय ४८ वटालाई पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर सुरक्षित राख्ने उद्देश्यले गाडिएको छ । मृतकको पहिचान पुष्टि भएपछि ती शव चिहानबाट निकालेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने अधिकारीहरूले बताएका छन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#भोटेकोशी #बाढी
Compare →
Hamro Patro News
2d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#भोटेकोशी #बाढी
Compare →
Nagarik News
6d ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612