कान्तिपुर टिभीको कार्यक्रम फायर साइडमा कुरा गर्दै उनले 'नन-स्टेट एक्टर'को प्रभाव कति गहिरो छ भन्ने यकिन गर्न कठिन रहेको बताएका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वको सरकारमा राज्यको स्थापित संयन्त्रभन्दा बाहिरका नन-स्टेट एक्टरहरू पहिलेका सरकारभन्दा बढी देखिन थालेको कांग्रेस नेता शेखर कोइरालाले बताएका छन् । कान्तिपुर टिभीको कार्यक्रम फायर साइडमा कुरा गर्दै उनले यो प्रभाव कति गहिरो छ भन्ने यकिन गर्न कठिन रहेको पनि बताए ।
'नन-स्टेट एक्टरहरू त हरेक सरकारमा हुन्थे, केही न केही भइनै रहेको थियो। अहिले अलि बढी देखिएको मात्रै हो,' उनले भने, 'तर कति हो भन्ने कुरा भन्न निकै गाह्रो छ।' उनले प्रधानमन्त्रीसँग आफ्नो भेटघाट वा चिनजान नभएकाले यसबारे ठोस भन्न नसकिएको पनि बताए।
कोइरालाले सरकारले सुशासन, रोजगारी सिर्जना र विकास निर्माणलाई प्राथमिकतामा नराखेको र सुशासन भन्लाने कुरालाइ भ्रष्टाचारमा मात्र सीमित गरेको टिप्पणी गरे। उनले भने, 'भ्रष्टाचारबाहेक सुशासनका पारदर्शिता, जवाफदेहितालगायत अरू सूचक पनि हुन्छन्। ती कुराले उहाँहरूबाट त्यति प्राथमिकता पाएको जस्तो लाग्दैन ।'
उनले पूर्वाधार विकासलगायत अन्य क्षेत्रमा सरकारको काम नदेखिएको दाबी पनि गरे । उनले भने, 'म त कतै केही देख्दिनँ। मैले मात्रै होइन, कसैले पनि देखेको छैन ।'
रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।