कान्तिपुर टीभीको फायरसाइडमा बाेल्दै उनीले भने, - मैले दुवैलाई सभापति भन्ने हो। गगनजीलाई भेट्दा सभापति नै भन्छु। देउवाजीलाई पनि सभापति नै भन्छु । एकपटक सभापति भएपछि जहिले पनि सभापति ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला अहिले गगन थापा नेतृत्वको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस दुवैतिर छैनन् । कुराकानीमा उनी आफूलाई कांग्रेसभन्दा पर राख्दैनन्, तर पार्टीभित्रको आन्तरिक संघर्ष चर्किएपछि उनी चुपचापजस्तै छन् । कांग्रेसमा विशेष महाधिवेशनको मुद्दा सुरुमा उनैले अघि सारेका थिए । तर गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले विशेष महाधिवेशन अघि बढाएदेखि उनी विस्तारै निष्क्रिय बन्दै गए । निर्वाचनको हार अनि त्यसपछि थापा समूहले गरेको महाधिवेशन दुवै बेलामा उनी सक्रिय देखिएनन् । यतिबेला देउवा समूह महाधिवेशनको अन्तिम तयारीमा छ । तर पनि शेखर कोइराला कतै खुलेका छैनन्, बरु संवाद र सहमतिका लागि उनले अपिल गरिरहे । कांग्रेसभित्र देखिएको विभाजन र यसले पार्टीमा पारेको प्रभाव अनि उनको आफ्नै भूमिका र योजनाबारे कान्तिपुर टीभीको फायरसाइड का लागि रुपेश श्रेष्ठ ले उनीसँग विराटनगरमै पुगेर गरेको कुराकानीको सम्पादित अंश :
तपाईंलाई धेरैले अहिले 'शेखर कोइराला तटस्थ बसिरहेका छन्' भनेर व्याख्या गरिरहेका छन्। तपाईं आफू चाहिँ कसरी व्याख्या गर्नुहुन्छ?
नेपाली कांग्रेसमा विशेष र नियमित अधिवेशनको सन्दर्भमा जुन विभाजन भयो, त्यसले मलाई सुरुमै अत्यन्त पीडा भयो। बीचमा बसेरै मिलाउनेतिर लाग्नुपर्छ भनेर म सुरुदेखि नै लागेको हो। विशेष अधिवेशनबाट सभापति बनेका गगन थापाजीसँग पनि सम्पर्कमै छु, कुराकानी गरिरहेको छु। मसँग काम गरेका, मिल्ने साथीहरू पनि त्यहाँ गएका छन्। शेरबहादुरजीको समूहमा शशांकजी संयोजक हुनुहुन्छ। त्यहाँ पनि मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूसँग पनि सम्पर्कमा छु। दुवै समूहसँग सम्पर्कमै छु र मिलाउनुपर्छ, मिल्नुपर्छ भन्ने मान्यता राखेर हिँडिरहेको छु।
मिल्नुपर्ने कारण, नेपाली कांग्रेसको जन्म लोकतन्त्रलाई अझ बढाउनका लागि भएको हो। लोकतन्त्र भएन भने देशको अस्तित्व रहँदैन भन्ने मान्यता बीपीले पहिलेदेखि भन्दै आउनुभएको थियो। त्यो बेला प्रजातन्त्र भन्नुहुन्थ्यो, अहिले हामी लोकतन्त्र भन्छौँ। त्यो कुरा मलाई पनि एकदम लाग्छ। त्यसैले देशको अस्तित्व बचाउनका लागि पनि नेपाली कांग्रेस एकढिक्का हुनैपर्छ।
हिजो तपाईं आफैँ विशेष महाधिवेशनको पक्षधर हुनुहुन्थ्यो। तर आज न विशेष महाधिवेशन, न नियमित महाधिवेशन। यो परिस्थिति किन आयो?
विशेष अधिवेशन गरौँ भनेर मैले नै भनेको हो, किनभने हाम्रो विधानमा पहिलेदेखि नै विशेष अधिवेशनको व्यवस्था छ। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लेखेर दिए, सही गरे भने विशेष अधिवेशन गर्नुपर्छ भन्ने छ। तर साथीहरू र केन्द्रीय समितिमा मैले दुइटा कुरा भनेको थिएँ।
पहिलो, हामीले हस्ताक्षर नगरौँ। हस्ताक्षर गराइसकेपछि दुइटा गुट सुरु हुन्छ, त्यसले पार्टीलाई नोक्सान गर्छ र पार्टी विभाजित हुन्छ भन्ने मानसिकतामा म थिएँ। अहिले पनि हस्ताक्षर नगरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ। दोस्रो, विशेष अधिवेशनको कार्यविधि बनाउनेलगायतका काम कार्यसमितिले गर्नुपर्ने थियो। त्यो पनि मैले भनेको थिएँ, तर हुन सकेन।
त्यसपछिका घटनाक्रममा तपाईं सकेसम्म मिलाउने, संवाद गर्ने प्रक्रियामा लाग्नुभयो। तर अन्ततः आज दुई गुट त छ।
दुई गुट एकातिर छ, तपाईं एकातिर हुनुहुन्छ। तपाईंको यो मौनतालाई रणनीतिक मौनताका रूपमा व्याख्या गरिएको छ।
म मौन छैन, यो तपाईंहरूलाई लागेको हो। म साथीभाइ, बुद्धिजीवी र जिल्लाका साथीहरूसँग नियमित सम्पर्कमा छु। गगन थापाजीहरूको महाधिवेशन हुँदा पनि महाधिवेशन प्रतिनिधिहरूसँग नियमित सम्पर्कमा थिएँ, अहिले पनि छु। अहिले शशांकजीको संयोजकत्वमा शेरबहादुरजीको टिमको अधिवेशन चलिरहेको छ। हिजो उहाँहरूको जिल्ला अधिवेशन मोरङमा पनि भयो। उहाँहरूसँग पनि सम्पर्कमा छु। सबैसँग सम्पर्कमा छु।
त्यसो भए आम रूपमा कार्यकर्तासँग जोडिने प्रयासमा हुनुहुन्छ?
म सामाजिक सञ्जालमा धेरै आउने व्यक्ति होइन। अहिले त देशैमा एल्गोरिदम र सामाजिक सञ्जालको जमाना छ। त्यो मेरो कमजोरी हो भन्नुस्, म त्यसलाई कमजोरी नै ठान्छु। अरू त के भन्नु र!
तर नेपाली कांग्रेसको आजको कठिन घडी इतिहासमै यति कठिन घडीमा नेपाली कांग्रेस आफ्नो आन्तरिक राजनीतिक जीवनमा प्रवेश गरेको थिएन होला भनेर पनि अर्थ्याइन्छ। यस्तो निर्णायक मोडमा शेखर कोइराला यसरी अलि लुकाछिपीको शैलीमा रहनुलाई कार्यकर्ताले कुन अर्थमा बुझ्ने? यो रणनीतिक हो, पलायनतर्फको सोच हो वा अर्को कुनै छलाङको तयारी हो?
न छलाङ हो, न पलायन हो। नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढ्छु भन्ने मेरो मान्यता मात्र होइन, त्यसमा म प्रयत्नरत पनि छु। अहिले पनि कोसिस भइरहेको छ, कुरा भइरहेको छ।
त्यो कोसिसले कुन रूप लिन्छ भन्ने अहिले कांग्रेसीजनले पर्खी पनि रहेका छन्।
अहिले पर्खिरहेका छन्। छिटो होस् भन्ने नै जति पनि साथीहरू भेट्छु, सबैको भनाइ छ। स्थानीय निर्वाचन आइसक्यो, दुई गुट भयो भने पार्टीको परिस्थिति नाजुक हुन्छ, नतिजा नाजुक हुन्छ भन्ने सबै साथीहरूको चिन्ता छ। मोरङका मात्र होइन, जुन जिल्लाका साथीहरूसँग सोधे पनि त्यही भन्छन्। त्यसैले छिटो गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ छ। कोसिस गर्ने त मैले नै हो। म एक्लो पनि छैन। सबै जिल्लामा तटस्थ बसेका साथीहरू छन्, जसले मलाई सहयोग गरिरहेका छन्।
तपाईं दुवैतर्फका नेताहरूसँग भेटघाट गरिरहेको छु, दुवैतर्फका र तटस्थ रहेका कार्यकर्तासँग पनि संवाद गरिरहेको छु भन्नुहुन्छ। एकताको धागो चाहिँ कहाँ बाँकी छ त?
त्यो दुवै गुटका नेताहरूमै भर पर्छ। यसमा धेरै कारण होलान्। अहंको कारण होला, राष्ट्रिय कारण होला, अन्तर्राष्ट्रिय कारण होला। ती सबैलाई चिर्दै हामी हिँड्नुपर्ने हुन्छ।
ती कारणमध्ये सबैभन्दा उल्लेखनीय, सबैभन्दा महत्त्वपूर्ण, जसमा काम भइरहेको छैन, तपाईंले देख्नुभएको कुन हो?
दुवै छन्। नेपाल भू–रणनीतिक अवस्थितिमा छ, त्यसैले धेरै देशको आँखा नेपालमा लागेको छ। त्यो स्वाभाविक हो। हामी दुई ठूला देशको बीचमा छौँ। एउटा देश त नम्बर वान नै हुने अवस्थामा पुगिसकेको छ, अर्को पनि एकदम अगाडि बढ्दै छ। सबै देशको चाहना हुन्छ, त्यो स्वाभाविक हो, त्यसलाई नकार्न सकिँदैन। आजकालको विश्व सानो भइसकेको छ, त्यसैले त्यो कुरालाई पनि हामीले महत्त्व दिनुपर्छ।
उहाँहरूलाई पनि सम्झाउनुपर्ने हुन्छ कि एकढिक्का नेपाली कांग्रेस नेपालका लागि किन महत्त्वपूर्ण छ। त्यो कमी भइरहेको छ कि जस्तो मलाई लाग्छ।
तपाईंले भन्न खोज्नुभएको, नेपाली कांग्रेसको आन्तरिक नेताहरूको आ–आफ्नो अहम्, अहंकार एकातिर छ। अर्कोतिर कांग्रेसभन्दा बाहिर राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू छन्, जसले कांग्रेसको एकता वा विभाजनमा केही न केही भूमिका खेलेको छ?
त्यो स्वाभाविक होइन र? विश्वको इतिहास हेर्नुभयो भने चारैतिर त्यो स्वाभाविक नै हुन्छ। मेरो प्रभाव बढोस्, मैले भनेको होस् भन्ने सबैलाई हुन्छ। त्यो नेचुरल हो।
भनाइको अर्थ नेपाली कांग्रेसको आजको यो विभाजनमुखी परिघटनामा राष्ट्रिय शक्ति मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति पनि सक्रिय भए?
सक्रिय त म भन्दिनँ, तर उहाँहरूको रुचि त हुन्छ।
विभाजनमा रुचि हो कि एकतामा रुचि हो?
विभाजन त हामीले आफ्नै कारणले सुरु गरेको हो। तर विभाजनमा खेल्ने त हुन्छन् नै। केले हामीलाई फाइदा हुन्छ, केले नोक्सान हुन्छ भन्ने कुरा उहाँहरू आजको भोलिको मात्र हेर्नुहुन्न, ५ वर्ष, १० वर्ष, २० वर्ष, २५ वर्षको हेर्नुहुन्छ।
नेपाली कांग्रेसको विभाजनले देशबाहिरको कुन शक्तिलाई के फाइदा हुन्छ र?
फाइदा र नोक्सानको कुरा भन्दा पनि आफ्नो हिस्सेदारी अलिकति बढी होस् भन्ने चाहना सबै देशको हुन्छ। त्यो नेचुरल हो, स्वाभाविक हो, त्यसलाई अन्यथा भन्न मिल्दैन। तर म त्यही मात्र हो भनेर पनि भन्दिनँ। हाम्रो आन्तरिक द्वन्द्वले गर्दा उहाँहरूलाई खेल्ने ठाउँ हुन्छ। हामीले त्यो दिनुहुँदैनथ्यो।
यो द्वन्द्वको पार्टीभित्र नेतृत्व चाहिँ कसले गर्यो? गगन थापाले, शेरबहादुर देउवाले कि देउवालगायत अन्य नेताहरूले?
कसले गर्यो भन्ने कुरा... नेपाली कांग्रेसमा अलिकति गुटबन्दी पनि छ। दुवैतिर गुटबन्दी छ। ती गुटमा उहाँहरूबीच छलफल भएको होला। त्यसलाई म धेरै महत्त्व दिन्नँ।
स्थानीय निर्वाचनभन्दा अगाडि नेपाली कांग्रेसको यो समस्या सुल्झेला जस्तो लाग्छ?
शेरबहादुरजीको समूहको महाधिवेशन मङ्सिर तेस्रो हप्तामा छ। त्यसैले समाधान भयो भने पनि पुस–माघतिर नै हुन सक्छ।
नेपाली कांग्रेसमा गगन थापा वा अर्को कुनै नयाँ पुस्ताका नेताको नेतृत्वमा जानका लागि देउवा र देउवासँगै रहेको ठूलो समूह किन तयार भएन? वा तपाईं किन तयार हुनुभएन? प्रक्रियाको एउटा कुरा छ, तर सैद्धान्तिक रूपमा?
धेरै कारण छन्। मैले कति कुरा तपाईंलाई भन्न सक्छु, कति कुरा भन्न सक्दिनँ। सबै कुरा भन्न पनि हुँदैन।
भन्न मिल्ने जति, शेरबहादुरजीको ठूलो समूहलाई बाहिर राखेर पार्टीलाई नयाँ पार्टी बनाउने जुन गगनजीको सोच थियो, अहिले पनि छ, अस्ति पनि थियो, त्यो मलाई ठीक लागेन। जसले जे भने पनि शेरबहादुरजीको योगदान त छ। उहाँ पाँच पटक प्रधानमन्त्री, दुई–दुई पटक सभापति हुनुभएको छ। उहाँको समूहमा नेताहरू पनि छन्। त्यसैले उहाँहरूलाई पनि सँगै लिएर हिँड्नुपर्छ।
नेपाली कांग्रेस हेटेरोजिनस (विविधतायुक्त) पार्टी हो, होमोजिनस होइन। बीपीको पालादेखि नै हेटेरोजिनस पार्टी हो। सबैको कुरा नमिले पनि कतिपय कुरामा बाझिन्छ। शेरबहादुरजीसँग म चुनाव लडेँ। त्यसपछि कतिपय कुरामा उहाँसँग असहमत हुन्थेँ, केन्द्रीय समितिमा असहमत हुन्थेँ। तर निर्णय भइसकेपछि कुरा मानिन्थ्यो। म होमोजिनस पार्टी खोजिरहेको छैन, हेटेरोजिनस पार्टी खोजिरहेको छु। पार्टीमा भएपछि मलाई आलोचना गर्ने मान्छे पनि मैले खोज्छु। अनि मात्र म राम्रो हुन्छु।
प्रश्नको निचोड के हो भने, देउवा र कतिपय नेताहरूलाई लिएर देउवा स्वयंले विशेष महाधिवेशनका लागि तयारी गर्दा हुन्छ भन्ने सङ्केत कुनै समयमा दिनुभएको त हो नि?
उहाँको सुरुवात अद्यावधिक गरेर जाऔँ भन्ने नै थियो। तर शेरबहादुरजीका समूहका केही साथीहरूले त्यसलाई पहिले स्वीकार्नुभएन। पछि मैले गगनजीसँग धेरै राउन्ड कुरा गरेर प्रस्ताव दिएँ। पहिलो प्रस्ताव गगनजीले स्वीकार्नुभएन। १५–२० दिन, एक महिनापछि दोस्रो प्रस्ताव दिँदा गगनजी अलि सकारात्मक हुनुहुन्थ्यो। तर शेरबहादुरजीका समूहका साथीहरूले त्यसलाई मान्नुभएन।
त्यसपछि अधिवेशनभन्दा केही पहिले गगनजीसँग मेरो कुराकानी भयो। त्यतिबेला मेरो पहिलो प्रस्ताव गगनजीले मान्नुभयो। मुख्य प्रस्ताव मोटामोटी सबै मान्नुभएको थियो। तर असोजलाई नै आधार मानेर अधिवेशन, महाधिवेशन गर्नुपर्छ भन्नुभयो। वरिष्ठ अधिवक्ताहरूले भन्नुभएको छ भनेर उहाँले राख्नुभएको थियो।
निस्साभन्दा पहिले हो कि ठ्याक्कै पछि हो, मलाई याद भएन। तर उहाँले असोजभित्रै महाधिवेशन गरिसक्नुपर्छ भनेपछि मैले भनेँ, असोज त आइसक्यो, १०–१२ दिन मात्र बाँकी छ। असोजको पहिलो हप्तामा कुरा भएको थियो। त्यसैले मैले तिहारपछि गरौँ, शेरबहादुरजीहरूलाई पनि सँगै लिएर जाऔँ भनेँ। उहाँले चाहिँ वरिष्ठ अधिवक्ताहरूको हवाला दिँदै असोजभित्रै गर्नुपर्छ, नत्र हुँदैन भनेपछि अनि के कुरा गर्ने!
तपाईंले भन्न नमिल्ने कुरा छन् भन्नुभयो। भन्न नमिल्ने कुरा के हो भनेर सोध्न मिल्छ?
त्यो मिल्दैन। कतिपय कुरा भन्न मिल्दैन।
एउटा रोचक कुरा चाहिँ के देखिन्छ भने, गगन थापाको नेतृत्वमा महाधिवेशन भयो, महाधिवेशनले उहाँलाई सभापति बनायो, त्यो कुरालाई तपाईंले पनि स्वीकार गर्नुभएको छैन। विशेष महाधिवेशनलाई...
मैले दुवै स्वीकारेको छु। मैले दुवैलाई सभापति भन्ने हो।
पार्टीमा अहिले दुईजना सभापति हुनुहुन्छ?
देउवाजीलाई पनि सभापति नै भन्छु, शेरबहादुरजी भन्छु। एकपटक सभापति भएपछि जहिले पनि सभापति।
सभापति नै हो नि। तपाईंका लागि त सानेपामा कार्यकक्ष पनि बनाएर राखेका छन्।
कार्यकक्ष बनाएर राखेका छन्, काठमाडौँ आउनुहोला र...
सुन्नुस् न, यी कुराले मान्छेलाई दिग्भ्रमित पार्न पनि हुन्छ। मसँग कुरा नगर्ने, 'कुरा भएको छैन' भनेको मैले हो। अनि दिग्भ्रमित गर्नलाई सामाजिक सञ्जालमा राख्ने। मलाई ल्याउँदा मेरो पनि सर्त होला नि, मैले के–के गर्ने, शेरबहादुरजीहरूका लागि के गर्ने भनेर। त्यसै जाने त होइन होला। यो कुरा त अधिवेशनभन्दा पहिले नै उहाँहरूले भनेको थियो, अहिले भनेको होइन।
त्यसो भए त्यो कार्यकक्ष सिर्जना गरेका छौँ भन्नु, तपाईंका लागि मात्र होइन, अन्य केही नेताका लागि पनि कार्यकक्ष छुट्याएका छौँ भनेर त्यसको तस्बिर राख्नु, अनि महाधिवेशनमा देउवाजीले उद्घाटन गरिदिनुहोस् भनेर कामना गरेका छौँ, उहाँलाई निम्तो पठाएका छौँ भनेर नेताहरूले भन्नु, यो कुरा पनि अघिको कार्यकक्षको कुरा जस्तै दिग्भ्रमित पार्ने कुरा हो?
शेरबहादुरजीलाई निम्तो पठाएको छ कि छैन, त्यो मलाई थाहा छैन। तर मलाई पठाएको छैन।
ए, तपाईंलाई महाधिवेशनको निम्तो आएन?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन जुन असोजमा सम्पन्न भयो, जसले गगन थापालाई नेतृत्वमा ल्यायो, त्यो महाधिवेशन गरिरहँदा शेखर कोइरालालाई निम्तो छैन?
यसको अर्थ मैले आज तत्काल तपाईंले जवाफ दिनेबित्तिकै लगाउने अर्थ भनेको कांग्रेसमा वैमनस्यता, नेताहरूबीचको दूरी यति लामो रहेछ कि अब पुल बनाएर त्यो दूरी पार गर्न सम्भव रहेनछ।
अब त्यो पार्टीलाई एकढिक्का बनाउने कृष्ण तपाईं?
म कृष्ण होइन, तर पार्टी एकढिक्का हुन्छ। समय लाग्छ होला। समय नलागोस्, स्थानीय निर्वाचनभन्दा पहिले होस् भन्ने मेरो चाहना हो। त्यति मात्रै हो।
ओके। भोलि सर्वोच्च अदालतले गगन थापाको महाधिवेशनलाई सदर गरिदियो र देउवा पक्षको महाधिवेशन खारेज गरिदियो भने त्यसपछिको स्थितिका लागि तपाईंले केही योजना बनाउनुभएको छ, सोच्नुभएको छ?
म त नेपाली कांग्रेसमै छु अहिले। भाग मात्र नलिएको हो।
त्यसलाई सरासर स्वीकार गर्ने ठाउँमा हुनुहुन्छ?
स्वीकार त गर्नैपर्छ नि! कोर्टले गरिसकेपछि पनि स्वीकार्दिनँ भन्न पाइन्छ र?
वा सर्वोच्च अदालतले गगन थापाको महाधिवेशन, विशेष महाधिवेशनलाई खारेज गरिदियो वा त्यो अवैध करार गरिदियो र नियमित महाधिवेशन पक्षधरको...
कुनै पनि अदालतले गरिसकेपछि त्यसलाई स्वीकार्दिनँ भन्नु हाम्रो लोकतान्त्रिक संस्कारमै भएन।
त्यसो भयो भने पार्टीभित्र त्यो विवादको तुस बाँकी रहन्छ कि त्यो तुस लिएर अर्को पार्टी खडा हुन्छ?
एउटा समूह त खडा होला। गगनजीले पाउनुभयो भने पनि खडा होला, शेरबहादुरजीले पाउनुभयो भने पनि खडा होला। तर त्यो सानो समूह हुन्छ, बिस्तारै मिल्छ, आउँछन्। जस्तो अहिले बीपी कांग्रेस हुन्छ नि।
जुनै अवस्थामा पनि त्यस्ता साना–साना टुक्राहरू बन्न सक्छन्, तर ती टुक्राहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने तपाईंको मान्यता भयो।
रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।