जिल्ला प्रहरी कार्यालय रामेछापले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
रामेछाप — विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका रामेछापको सुनापतिका ताराबहादुर ग्यापकलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुसँगको समन्वयमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार ग्यापकलाई बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र १८ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो । त्यसैगरी, ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका रामेछापको मन्थली का रोशन भण्डारीलाई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा दूषित खाद्य पदार्थसम्बन्धी मुद्दामा दोषी ठहर भएका मन्थलीका शिशिरराज गिरीलाई १५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा पेस गरिएको छ ।
नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।