Trending
Prev Story
Next Story

तिलोत्तमामा छाडा साँढे आतंक : गोठमै पसेर भैंसी मार्नेदेखि बालीनाली नष्ट गर्नेसम्म

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

४ मंसिर, बुटवल । तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा छाडा साँढे (गोरु) को आतंक मच्चिएको छ । छाडा साँढेले किसानको गोठभित्रै पसेर पशु–चौपायामाथि आक्रमण गर्ने र बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ । छाडा साँढेले …

तिलोत्तमामा छाडा साँढे आतंक : गोठमै पसेर भैंसी मार्नेदेखि बालीनाली नष्ट गर्नेसम्म

४ मंसिर, बुटवल । तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा छाडा साँढे (गोरु) को आतंक मच्चिएको छ । छाडा साँढेले किसानको गोठभित्रै पसेर पशु–चौपायामाथि आक्रमण गर्ने र बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ ।

छाडा साँढेले तिलोत्तमा–११ गाईघाटका किसान वीरबहादुर थापा मगरको गोठमा पसेर दुहुनोे भैंसीलाई आक्रमण गरी मारेको छ । रातमा आफूहरू सुतेको समयमा आएर घर पछाडि रहेको गोठभित्र पसी साँढेले आक्रमण गर्दा गम्भीर घाइते भएको डेढ लाख बढी मूल्य पर्ने भैंसी मरेको थापाले गुनासो गरे ।

‘म सामान्य किसान हुँ । छाडा साँढेले गोठमा बाँधेको १० लिटर दूध दिने भैंसीलाई घाँटीमा सिङले हानेछ । गोठमा आउँदा भैंसी मरिसकेछ,’ उनले भने, ‘गोठको भैंसी मरेपछि अर्कोलाई डेढ लाख तिरेर किन्नुपर्‍यो । हामी जस्ता साना किसानले अनाहकमा डेढ लाख क्षति बेहोर्नु सामान्य होइन । यसलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्छ ।’

भैंसी मरेपछि तिलोत्तमा नगरपालिकालगायत सम्बन्धित निकायमा निवेदन दिएको तर कतैबाट क्षतिपूर्ति नपाएको थापाको गुनासो छ । त्यो घटनापछि पनि छाडा साँढे पटकपटक गोठमा पसेर पशु–चौपायामाथि आक्रमण गर्ने, अन्न बाली र दाना खाइदिने, गहुँ, तोरी र तरकारी बाली खाइदिएर/कुल्चेर क्षति पुर्‍याउने क्रम नरोकिएको उनले बताए ।

‘साँढे निकै ठूलो र लामा सिङ भएकाले मान्छेमाथि पनि आक्रमण गर्ने डरले महिला, बालबालिकाले धपाउन पनि डर मान्ने गरेका छन् । रातिमा त पूरै गाउँवासी चैनले सुत्न पाएका छैनौं,’ उनले भने, ‘यस्ता छाडा साँढेलाई नगरपालिकाले नियन्त्रणमा लिई गौशालामा थुन्नुपर्छ । गाउँलेहरू ज्यादै पीडित र आतंकित भएका छन् ।’

तिलोत्तमा–११ कै लालु विक, मन्जु मुखिया, उर्मिला गुरुङ पनि छाडा साँढेको आतंकबाट पीडित भएका छन् । तीनै जनाको गोठमा पसेर उक्त साँढेले दुहुना भैंसीलाई आक्रमण गरी घाइते बनाएको छ । त्यसरी घाइते भएका भैंसीको उपचारमा किसानले हजारौं रुपैयाँ खर्च गर्नुपरेको छ ।

‘छाडा साँढे रातिमा पटकपटक गोठमा आएर भैंसीलाई आक्रमण गर्छ, पहिला एउटा भैंसीलाई हानेर घाइते बनाइदियो, त्यसलाई बेचेर अर्को ल्याएको अहिले पनि घाइते बनाइदिएको छ,’ मन्जुले भनिन्, ‘उपचार गर्दा एक पटकमै ८–१० हजार खर्च हुन्छ । घाइते भएपछि भैंसीले दूध पनि कम दिन्छ ।’

छाडा साँढेले आफ्नो छिमेकी माइला थकालीको कच्ची घरको भान्सा कोठा नै भत्काइदिएको मन्जुले बताइन् । छाडा साँढेको आतंकले गाउँका किसान पीडित भइरहे पनि स्थानीय सरकारको ध्यान अझै नपुगेको उनले गुनासो गरिन् ।

तिलोत्तमा–११ कै उर्मिला गुरुङले एक हप्ताअघि रातको एक–डेढ बजे छाडा साँढे गोठमा आएर दुहुनो भैंसीलाई आक्रमण गरी घाइते बनाइदिएको, भैंसीको दाना, बोरामा राखेको धानसमेत खाइदिइएको बताइन् । लामो सिङ भएको साँढेले भैंसीको शरीरका तीन–चार ठाउँमा हान्दा गहिरो चोट लागेको र अहिलेसम्म औषधि उपचार गरिरहेको गुरुङले बताइन् ।

लालु विकले छाडा साँढे गोठभित्र पसेर भैंसीलाई आक्रमण गर्न थालेपछि गोठ वरिपरि बलियो छेकबार बनाउन २५ हजार बढी अतिरिक्त खर्च गर्नुपरेको गुनासो गरे ।

तिलोत्तमा–९ की विन्दु भट्टराईले छाडा साँढे र गाईको हुल नै खेतबारीमा पसेर किसानका बालीनाली खाइदिने, कुल्चेर ठूलो क्षति पुर्‍याउने गरेको बताइन् । स्थानीय सरकारले छाडा चौपायालाई नियन्त्रण र व्यवस्थापनको भरपर्दो समाधान तत्काल खोज्नुपर्ने उनले सुझाइन् ।

‘छाडा गाईगोरुको हुलले रातभरि किसानका खेतमा पसेर ठूलो क्षति पुर्‍याइरहेका छन्,’ भट्टराईले भनिन्, ‘पटकपटक यस्तै भइरहँदा किसान असाध्यै मारमा परेका छन् । नगरपालिकाले तत्काल छाडा चौपायालाई नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ ।’

तिलोत्तमा–११ गणेशनगर टोल विकास संस्थाका अध्यक्ष किसन विकले छाडा साँढेलाई स्थानीयले नियन्त्रणमा लिन पनि निकै जोखिम र कठिन भएको बताए । धैरे लामो प्रयासमा एक पटक नियन्त्रणमा लिई एक दिन राखेको तर दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गर्दा हुन नसकेको उनले बताए ।

छाडा साँढेले पशु–चौपाया र बालीनाली मात्र होइन, मानवीय क्षति पनि गराएको छ ।

२०८१ साल साउन अन्तिम साता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा छाडा साँढेले हान्दा गुल्मी रेसुंगा नगरपालिका–४ घर भएकी ४५ वर्षीया सीता पाण्डेको ज्यान गएको थियो । उनी भाडामा बसेर गोलपार्क पश्चिम पुल्चोकमा खाजा पसल चलाउँदै आएकी थिइन् ।

डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परी गम्भीर घाइते भएकी थिइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

२०८३ असार अन्तिम साता बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका थिए । राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासि साँढेले आक्रमण गर्दा बुढाथोकीको छाती, घुँडा, कुहिना र ढाडमा चोट लागेको थियो ।

दायाँ छातीमा गम्भीर चोट लाग्नुका साथै ढाडको पाँच वटा करङको हड्डी भाँचिएर ६ महिना बढी बेड रेस्टमा बस्नुपरेको बुढाथोकीले बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कतिपय छाडा साँढेलाई नियन्त्रण र व्यवस्थापन गर्न नगरपालिका र नगर प्रहरीले मात्र नसक्ने अवस्था देखिएको बताए । उनले सामुदायिक वन, गौशाला र नगरपालिकाले संयुक्त संयन्त्र बनाएर आधुनिक प्रविधि व्यवस्था गरी नियन्त्रणमा लिने र सुरक्षित व्यवस्थापनको विकल्पबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

‘छाडा साँढेका कारण किसानले धेरै क्षति र पीडा भोग्नुपरेको छ । छाडा चौपाया नियन्त्रणलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर नगर प्रहरीलाई दिनहुँ खटाएको पनि छ । तर कतिपय ठूला छाडा साँढेलाई नियन्त्रण गर्ने प्रविधि अभाव छ । अब छिट्टै व्यवस्थापन गर्छौं,’ उनले भने ।

छाडा चौपाया नियन्त्रणमा एउटा पालिकाको प्रयासले मात्र सम्भव नहुने हुँदा छिमेकी पालिकाहरूबीच सहकार्य गरेर अन्तरपालिका संयन्त्र बनाउनुपर्ने खाँचो रहेको खाँणले बताए ।

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

कुनै समय सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका रामकाजी श्रेष्ठको घरमा दुई हल गोरु थिए । ठुलो खेतीपाती भएकाले एक हल बेँसीमा र अर्को हल गाउँको गोठमा बाँधिन्थे । खेतबारी जोत्न गोरुकै भर पर्नुपर्ने त...

#गोठ
Compare →
Nagarik News
1w ago
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।

#गोठ
Compare →
Ekantipur
1w ago
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्।

#गोठ
Compare →

Related Stories

Business & Economy
Build #2612