४ मंसिर, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहुदलपछि सामुदायिक र निजी दुई धार बनाएका कारण शिक्षा बिग्रीएको बताएका छन् । धनुषाको जनकपुरमा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षा सन्तोषजनक नभएको बताए ।
‘डिजिटल र एआई युगमा छौ । २००७ सालपछि स्कुल खुले । तर अहिलेसम्म शिक्षा संतोषजनक छैन,’ उनले भने, ‘शिक्षा बहुदलकालमा बिगारेको छ । पञ्चायतमा नि हो । दु: ख लाग्छ । प्राइभेट र सामुदायिक भनेर बिगारेका छौँ ।’
तीन तहको सरकार भएपनि शिक्षाको जिम्मा पालिकाले र विद्यालयले लिनुपर्नेमा उनले जोड दिए ।’पालिकाले जिम्मा नलिएसम्म शिक्षा सुधार हुदैन । पालिका र स्कुलले जिम्मा लिनु पर्छ । स्कुल समुदायको हो,’ उनले भने ।
पहिला शिक्षकले सम्मान पाउने गरेको तर अहिले शिक्षकले सोच्नु पर्ने बेला आएको उनको भनाइ छ ।
मधेश प्रदेशका सभामुख रामआशिष यादवले शिक्षकलाई खुसी बनाउने भनिन्छ तर तलब नदिइ कसरी खुसी बनाउन नसकिने धारणा राखे ।
शिक्षकलाई प्रशिक्षण, शिक्षक प्रोत्साहन, वातावरण र बाल मैत्री विद्यालय, शिक्षक बीमा,भौतिक पुर्वाधार निर्माण,मासिक स्वास्थ्य परिक्षणमा उनले जोड दिए । विषयगत शिक्षकहरुको व्यवस्थापन र निजामति सरह शिक्षकको तलव सुविधा हुनुपर्नेमा उनले जोड दिए । शिक्षा सुधारमा शिक्षक अभिभावक बीच नियमित बैठक र मुल्याङ्गकनको आधारमा पुरस्कृत तथा सम्मान गर्नुपर्ने उनले बताए । उद्घाटनसत्रमा जनकपुर उपमहानगरका प्रमुख मनोजकुमार शाह, शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपाने, शिक्षविद विद्यानाथ कोइरालाले आफ्नो धारणा राखेका थिए ।
प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमका अनुसार राष्ट्रिय सम्मेलन ४ मंसिरदेखि ६ गतेसम्म चल्ने छ । सम्मेलनमा १ हजार सहभागी छन् । ‘शिक्षाका अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागी छ । ८० वटा पाकिकाका प्रमुख र प्रशासकीय अधिकृत हुनुहुन्छ । सम्मेलनमा एआईदेखि विपदसम्मको सेसन छ,’ उनले भने, ‘सेसनमा सांसदहरूको समेत सहभागिता छ ।’
प्रधानाध्यापक संघमा २२ हजार विद्यालय जोडिएका छन् । संघको ७७ जिल्लामा कार्यसमिति विस्तार भएको छ । अध्यक्ष गौतमका अनुसार सामुदायिक शिक्षा सुधारका लागि जनकपुर घोषणापत्र सार्वजनिक गरिनेछ । ‘अब कक्षा केन्द्रित मिसन हुन्छ । जनकपुर घोषणापत्र सार्वजनिक गर्छौं,’ उनले भने ।