चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएका कारण नेपालको बाह्य क्षेत्रका सूचकहरू बलियो देखिएका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ । त्यस्तै शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भएको हो । यस्तो सञ्चिति गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ । यो अवधिमा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ । विद्यमान सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा विदेशमा रहेका नेपालीहरुबाट नेपाल आउने रकम रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ थियो । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ । रेमिट्यान्ससँगै पर्यटन आयमा भएको सुधार र वैदेशिक शिक्षाका लागि बाहिरिने रकममा आएको कमीले पनि बाह्य क्षेत्रलाई सकारात्मक प्रभाव पारेको छ ।
चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा
तीन महिनाको अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २८ अर्ब रुपैयाँ बचतमा थियो । त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो ।
पर्यटनबाट प्राप्त हुने भ्रमण आय ३२.७ प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अर्कोतर्फ भ्रमण व्यय १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । वैदेशिक शिक्षाका लागि बाहिरिने रकम पनि १४.७ प्रतिशतले घटेर ३६ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १३७.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
निर्यात ५७ प्रतिशत बढ्दा पनि व्यपार घाटा ५ खर्ब माथि
बाह्य क्षेत्रका सूचकहरू सकारात्मक देखिए पनि वैदेशिक व्यापारमा भने असन्तुलन कायमै रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ५७ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । चीनतर्फको निर्यात २५९.७ प्रतिशत, भारततर्फ ६१.७ प्रतिशत र अन्य मुलुकतर्फ ३३.८ प्रतिशतले वृद्धि भएको छ । भटमासको तेल, पोलिष्टर धागो, पार्टिकल बोर्ड, जिंक सिट र पाम तेलको निर्यात बढेको छ । तर, निर्यातमा भएको वृद्धिभन्दा आयातको आकार निकै ठूलो छ। तीन महिनामा कुल वस्तु आयात ३८.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । भारतबाट हुने आयात ४१.७ प्रतिशत, चीनबाट २८ प्रतिशत र अन्य मुलुकबाट ३९.७ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, रासायनिक मल, कच्चा भटमासको तेल र मेसिनरीको आयात बढेको छ । यसको परिणामस्वरूप तीन महिना कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यद्यपि, निर्यात र आयातको अनुपात भने अघिल्लो वर्षको १५.५ प्रतिशतबाट सुधार भई १७.६ प्रतिशत पुगेको छ।