वीरगन्ज–१२ मुर्लीकी नेशा बिहीबार बिहान मुर्ली चोकबाट पक्राउ परेकी छन् र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पर्सा — चेक अनादर (बिगो भरिभराउ) मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ४६ वर्षीया सबरुन नेशा रहेकी छन्।
उनलाई प्रहरीले बिहीबार बिहान साढे ९ बजे वीरगन्ज–१२ स्थित मुर्ली चोकबाट पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। नेशालाई चेक अनादर (बिगो भरिभराउ) मुद्दामा पर्सा जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउ परेकी नेशामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।