केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
काठमाडौँ — गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद थप गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रवक्ता जबराले उनीहरूमाथि थप अनुसन्धान गर्न आज जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थपको अनुमति प्राप्त भएको जानकारी दिए ।
सिआइबीले मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग ठगी गरी सङ्कलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिआइबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेका छ जनामाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।