सापटी फिर्ता गर्ने क्रममा लक्ष्मणले दिएको नोट नक्कली रहेको पुष्टि भएपछि नेत्रलालले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएका छन्।
गोरखा — भीमसेन थापा गाउँपालिका ताराखसेका लक्ष्मण लामिछाने नक्कली नोट कारोबारमा संलग्न रहेको खुलेको छ। गत कात्तिक २४ गते छिमेकी नेत्रलाल लामिछानेलाई सापटी फिर्ता गर्ने क्रममा लक्ष्मणले एक हजार दरका नौवटा नक्कली नोट दिएको खुलेको हो।
सापटी फिर्ता गर्ने क्रममा लक्ष्मणले दिएको नोट नक्कली रहेको पुष्टि भएपछि नेत्रलालले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएका छन्। लक्ष्मण भने फरार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धिरेन्द्र यादवले बताए।
सापटी फिर्ता गर्ने क्रममा नक्कली नोट दिएको खुलेपछि कात्तिक २४ गते प्रहरीले उनको घर खानतलासी गरेको थियो। घर खानतलासीका क्रममा पनि पर्समा दुईवटा र डायरीमा दुईवटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। ‘सापटी फिर्ता गर्ने क्रममा नक्कली नोट दिएको उजुरीपछि प्रहरी टोली घरमै पुगेको थियो। तिहारको टीकाको दिन रहेछ, उहाँ दिदीकोमा टीका लगाउन भनेर बिहानै चितवन जानुभएको रहेछ,’ उनले भने, ‘घर खानतलासी गर्दा थप चारवटा नक्कली नोट फेला परे। घटनास्थल बरामदी मुचुल्का भइसकेको छ। उहाँको खोजी पनि गरिरहेका छौं।’
गोरखा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रतिवादीको खोजतलास भइरहेको पनि प्रहरीले जनाएको छ। लक्ष्मण लामिछाने भीमसेन थापा गाउँपालिका–२ का वडा सदस्य पनि हुन्। २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा विजयी भएका थिए।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।