डेढ तोलाको सिक्री चोरी गरेको अभियोगमा फुङ्लिङका प्रेम दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए ।
ताप्लेजुङ — वृद्धाको सुनको सिक्री लुटेको अभियोगमा प्रहरीले ३० वर्षीय युवकलाई पक्राउ गरेको छ। डेढ तोलाको सिक्री चोरी गरेको अभियोगमा फुङ्लिङका प्रेम दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए । उनका अनुसार कञ्चनजंघा टोलकी ९० वर्षीया सजीमाया लिम्बुको घाँटीबाटै बुधबार बिहान साढे १० बजेतिर दर्जीले सिक्री लुटेका थिए ।
उनलाई सिक्रीसहित पक्राउ गरिएको यादवले जानकारी दिए ।
दर्जीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। चोरीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।