तिलोत्तमा–७ स्थित नेपाल पेट्रोलियमको प्रांगणमा मुख्य ताला वा सिल नतोडी इन्धन निकालिरहेको अवस्थामा प्रहरीले एकजनालाई बुधबार पक्राउ गरेको हो।
बुटवल — रुपन्देहीमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट इन्धन चोरी गर्ने घटना पुनः दोहोरिएको छ । ट्यांकरको मुख्य ताला वा सिल नतोडी नयाँ शैली अपनाएर इन्धन निकालिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्यांकरसहित एक जनालाई बुधबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पौने ८ बजे तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्रांगणमा छापा मारेर इन्धन चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीका अनुसार नेपाल आयल निगमका ट्यांकरबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा दुईवटा ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–७ मंगलापुरका ४६ वर्षीय तिलबहादुर फुलाल रहेका छन् । उनलाई लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका फुलाल र दुवै ट्यांकरलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको छ ।
ट्यांकर चालक, सहचालक तथा केही पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा इन्धन चोरी हुने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । प्रहरीले यसअघिसमेत इन्धन चोरीमा संलग्नलाई पक्राउ गरी पम्प तथा ट्यांकरमाथि कारबाही गरेको थियो ।
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।