जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ — काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका दीपेश डंगोल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डंगोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । पक्राउपछि डंगोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली ४१ हजार रुपैयाँ बरामद गरिएको छ ।
प्रहरीले बरामद गरिएका गरगहना तथा नगद चोरीसँग सम्बन्धित रहेको जनाएको छ । डंगोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।