डलरको भाउ, राजनीतिक द्वन्द्व, अमेरिकी ब्याजदरलगायत कारण नफेरिए मूल्य अझै घट्ने व्यवसायीको अनुमान छ ।
काठमाडौँ — माघ २०८२ मा नेपालीले एक तोला सुनका लागि ३ लाख ३९ हजार ३ सय रुपैयाँ तिरिरहेका थिए । १० महिनापछि बुधबार त्यति नै सुनका लागि २ लाख ६० हजार ९ सय तिरे पुग्ने अवस्था बन्यो । १० महिनामै सुनको मूल्य ७८ हजार ४ सय रुपैयाँले घट्यो । डलरको भाउ, राजनीतिक द्वन्द्व, अमेरिकी ब्याजदरजस्ता कारणहरू नफेरिए सुनको मूल्य अझै घट्ने व्यवसायीको अनुमान छ ।
सुनको मूल्य नेपालमा उपभोक्ताको माग र आपूर्तिका कारणले घटबढ हुने होइन । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने सम्भावना रहेको, भारतीय मुद्रासँग डलर कमजोर भएको जस्ता कारणले सुनको मूल्य घटिरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्चमूल्यबाट करिब ३२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा करिब एक वर्षअघि सुनको मूल्य प्रतिऔंस ५ हजार ५ सय ९४ डलर पुगेकामा बुधबार ३ हजार ७ सय ६३ डलरमा कारोबार भएको छ ।
बुधबार मात्रै विदेशी बजारमा २ प्रतिशतभन्दा धेरैले मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी केन्द्रीय बैंकले आगामी ९ डिसेम्बरमा हुने बैठकमा ब्याजदर ०.२५ देखि ०.५० प्रतिशत बढाउन सक्ने बजार अनुमान भइरहेको समेत रोयटर्सले जनाएको छ ।
अमेरिकामा बढ्दो मूल्यवृद्धिको सामना गर्न पनि ब्याजदर बढाउनुपर्ने तर्क त्यहाँका अर्थविद्हरूको छ । अहिले अमेरिकामा वार्षिक करिब चार प्रतिशतले महँगीदर बढेको बताइएको छ । सुनको मूल्यलाई अन्तर्राष्ट्रिय द्वन्द्वको पनि प्रभाव पर्छ । अन्तर्राष्ट्रिय राजनीतिमा पर्ने दबाबले सुरक्षित सम्पत्ति मानिने सुनमा लगानीकर्ता आकर्षित हुन थाल्छन् । अहिले भने त्यस्तो कारण नदेखिएको शाक्यको भनाइ छ । ‘यतिबेला सुनको मूल्यलाई प्रभाव पार्ने अन्तर्राष्ट्रिय द्वन्द्व वा राजनीतिक घटना देखिएका छैनन्,’ शाक्यले भने । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढिरहे पनि नेपालमा डलरको भाउ घट्दासमेत सुनको मूल्यमा केही प्रभाव परेको छ । नेपालमा डलर तिरेर सुन आयात गरिन्छ । डलरको भाउ घटेपछि पनि आयात लागत केही घटेको हो ।
विगत १८ दिनमा डलरको भाउ एक सय ५२ रुपैयाँबाट घटेर एक सय ४९ रुपैयाँमा सीमित भएको छ । डलरको तुलनामा भारु बलियो भइरहेकाले नेपालमा डलर केही सस्तो भएको हो । अन्य मुद्रासँग भारतीय मुद्राको विनिमय दरका आधारमा नेपाली मुद्राको विनिमय दर तोकिन्छ । यसलाई ‘पेग्ड’ गरिएको भनिन्छ । भारतीय मुद्रा अन्यसँग घटे नेपाली मुद्राको भाउ पनि स्वतः घट्छ, बढे बढ्छ । भारतीय बजारमा वैदेशिक लगानी बढेका कारण पनि भारु बलियो भएको रोयटर्सले उल्लेख गरेको छ । हाल एक डलरका लागि भारतीयहरूले ९३ भारु तिरिरहेका छन् । यसअघि एक डलरका लागि करिब ९७ भारु तिर्नुपरेको थियो ।
लगातार सुनको मूल्य घटिरहँदा केही विश्लेषकले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप घट्ने अनुमान गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्केट्स डटकमले सुनको मूल्य प्रतिऔंस ३ हजार ८ सय डलरबाट घटेर ३ हजार ५ सयसम्म आउन सक्ने प्रक्षेपण गरेको छ । लगानी संस्थाहरूले भने सन् २०२६ सम्म सुनको मूल्य प्रतिऔंस चार हजार आसपासमै रहने आफ्नो पूर्वअनुमान सच्याएका छैनन् । अमेरिकी लगानी बैंक गोल्डम्यान सान्चले सन् २०२६ अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार १ सय ५० डलर रहने अनुमान गरेको छ । यसअघि उसले मूल्य ४ हजार ६ सय ५० डलर पुग्ने प्रक्षेपण गरेको थियो ।
व्यवसायी शाक्य पनि सुनको मूल्य धेरै घट्दा पनि प्रतिऔंस ३ हजार ५ सय डलरबाट तल नझर्ने अनुमान गर्छन् । डलरको भाउ, राजनीतिक द्वन्द्व, अमेरिकी ब्याजदरलगायत कारण नफेरिए सुनको मूल्य नेपालमा प्रतितोला दुई लाख ५० हजारसम्ममा आउन सक्ने उनको अनुमान छ ।
हाल सुन आयात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्छ । वाणिज्य बैंकहरूले यस्तो सुनको आयात गर्छन् । त्यसैले वाणिज्य बैंकलाई तिर्ने शुल्क र व्यवसायीहरूले लिने सीप प्रवर्द्धन शुल्कसहित थप कुल १ प्रतिशत रकम ग्राहकले तिर्नुपर्छ ।
प्रतिऔंस सुनमा ३१.१ ग्राम हुन्छ । प्रतितोला सुनमा भने ११.६६४ ग्राम हुन्छ । यस आधारमा अन्तर्राष्ट्रिय मूल्य र करसहित सुनको मूल्य घटेर प्रतिऔंस ३ हजार ५ सयमा आए यहाँका ग्राहकले दुई लाख ५० हजारसम्ममा प्रतितोला सुन पाइने शाक्यको अनुमान छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।