काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकूवा गर्ने विषयमा फिफा र एएफसीले ग्रिन सिग्नल दिएको छ ।
त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन सम्पन्न गर्दै केन्द्रिय निर्वाचन गर्नुपर्ने सर्त फिफा र एएफसीले राखेको राखेको छ ।
बिहीबार थाइल्यान्डमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिबीच भएको छलफलमा फिफाले यस्तो सर्त राखेको हो ।
तेस्रो पक्षको हस्तक्षेप भन्दै फिफाले असारमा एन्फालाई निलम्बन गरेको थियो । बिहीबार राखेपले एन्फामाथि लगाएका सबै सबै खाले निलम्बन हटाएपछि नेपाली फुटबलको विवाद समाधानतर्फ अघि बढेको हो ।
एएफसी अवार्ड्स २०२६ को अवसरमा भएको उक्त बैठकमा एन्फाको निलम्बवन फुकुवाका साथै अब हुने निर्वाचन प्रक्रियाको विषयमा छलफल भएको थियो ।
बैठकमा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ पनि थिए ।
त्यस्तै, एएफसीका उपमहासचिव वाहिद कार्डानी र दक्षिण एसिया युनिटका वरिष्ठ व्यवस्थापक सोनम जिग्मे, फिफाका तर्फबाट एसिया तथा ओसिनिया सदस्य संघ निर्देशक सञ्जीवन बालसिंगम, सदस्य संघ सुशासन सेवा व्यवस्थापक एमिली डोम्स तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका प्रमुख प्रिन्स रुफस सहभागी थिए ।
बैठकमा सहभागी स्रोतका अनुसार फिफा र एएफसीले एन्फाको वर्तमान नेतृत्वलाई मान्यता दिँदै जिल्ला, प्रदेश र केन्द्रीय तहका निर्वाचन यही नेतृत्वको मातहतमा सम्पन्न गर्नुपर्ने सर्त राखेका छन् ।
अबको एक महिना भित्र नेम्वाङकै नेतृत्वमा तहगत निर्वाचन गर्न समयसिमा समेत दिएको स्रोतले जनाएको छ ।
नेम्वाङकै नेतृत्वमा तलहगत निर्वाचन गर्न नेपाल सरकारले पनि स्वीकृति दिने संकेत देखिएको छ ।
यस विषयमा थप छलफलका लागि एएफसी प्रतिनिधि मण्डल नेपाल आउने पनि स्रोतले जनाएको छ ।
एन्फामाथि तेस्रो पक्षको अस्तक्षेप भएको भन्दै फिफाले २४ असारमा अर्को निर्णय नहुँदासम्मको लागि एन्फालाई निलम्बन गरेको थियो ।
एन्फाले नयाँ कार्यसमितिका लागि अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि सुरु भएको विवादले नेपाली फुटबल इतिहासमै एन्फा पहिलो पटक फिफाको निलम्बनमा परेको थियो । जसले गर्दा पछिल्लो पाँच महिना नेपाली फुटबल गतिविधि ठपप्प बन्दा नेपालले यस बीचमा भएको साफ च्याम्पियनसिपपसहित महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेल्नबाट बन्चित भएको थियो ।
शिक्षा तथा खेलकुदद मन्त्री पोखरेलको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल थाइल्यान्डमा रहँदा नै नेपालमा भने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई निलम्बन फुकूवा गरिएको जानकारीसहित पत्र पठाएका हुन् । राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ ।
यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।