जिल्ला समितिले वडा समितिहरूलाई मंसिर २५ गतेभित्र मतदान स्थल र केन्द्रसम्बन्धी सिफारिस पठाउन पत्राचार गर्ने निर्णय गरेको छ।
लमजुङ — निर्वाचनको मिति तय भइनसक्दै लमजुङमा आगामी निर्वाचनको तयारी थालिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन तथा सिफारिस प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरी आवश्यक सिफारिस गर्न वडा समितिहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको अध्यक्षतामा बसेको बैठकले यही मंसिर २५ गतेभित्र मतदान स्थल र मतदान केन्द्र सिफारिस गरी जिल्ला समितिमा पठाउन वडा समितिहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, समन्वय अधिकारी, स्थानीय तहका प्रमुख, अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थितिमा गत मंगलबार यस सम्बन्धमा बैठक बसेको थियो ।
बैठकमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ ले व्यवस्था गरेका आधार र मापदण्डबारे छलफल गर्दै क्रियाशील राजनीतिक दलहरूलाई हाल कायम मतदान स्थलको सूची उपलब्ध गराई पुनरावलोकन तथा सिफारिस प्रक्रियामा आवश्यक सहयोग, समन्वय र सुझाव दिन जिल्ला निर्वाचन कार्यालयमार्फत पत्राचार गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा साविकका मतदान स्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, नयाँ मतदान स्थल थप्ने, अनुपयुक्त स्थल हटाउने वा अर्को स्थलमा गाभ्ने तथा मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्न सकिने विषयमा छलफल भएको छ । यसका लागि वडा समितिले स्थानीय तह, राजनीतिक दल तथा अन्य सरोकारवालासँग समन्वय गरी निर्णयसहितको सिफारिस जिल्ला समितिमा पठाउन पत्राचार गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा भूमिनारायण पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रदेव बस्नेतले जिल्लाका कतिपय मतदान स्थल र केन्द्रमा सुरक्षाकर्मीका लागि बसोबास र खानेपानीको समेत सुविधा नरहेको बताए । त्यस्ता मतदान स्थल तथा केन्द्रको पुनरावलोकन गर्न बैठकमा अनुरोध गरिएको उनले बताए ।
गत वर्ष फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङका १ सय ३० मतदान स्थलमा रहेका १ सय ९२ मतदान केन्द्रमा मतदान गरिएको थियो । प्रतिनिधिसभा सदस्यका लागि एउटा र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ७५ वटा वडा छन् ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।