Trending
Prev Story
Next Story

७ महिनामा ४९ जना सांसद संसद्लाई जानकारी दिएर विदेश गए, भारत पुग्नेको छैन तथ्यांक

Onlinekhabar •
November 19, 2026 • 02:01 PM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । वर्तमान प्रतिनिधिसभाको कार्यकालमा संघीय संसद्का ४९ जना सांसदले औपचारिक रूपमा विभिन्न देशको भ्रमण गरेका छन् । संघीय संसद् सचिवालयका अनुसार औपचारिक रूपमा निर्णय गरेर विदेश जानेको तथ्यांक अभिलेखमा छ । तर व्यक्तिगत …

७ महिनामा ४९ जना सांसद संसद्लाई जानकारी दिएर विदेश गए, भारत पुग्नेको छैन तथ्यांक

३ मंसिर, काठमाडौं । वर्तमान प्रतिनिधिसभाको कार्यकालमा संघीय संसद्का ४९ जना सांसदले औपचारिक रूपमा विभिन्न देशको भ्रमण गरेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार औपचारिक रूपमा निर्णय गरेर विदेश जानेको तथ्यांक अभिलेखमा छ । तर व्यक्तिगत भ्रमणमा गएकाहरूको तथ्यांक छैन । साथै, छिमेकी मुलुक भारत पुगेका सांसदहरूको विवरण पनि संसद् सचिवालयसँग छैन ।

२१ फागुन २०८२ को चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले १२ चैत २०८२ मा शपथ लिएका थिए । त्यसको भोलिपल्ट रास्वपा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री भए ।

नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । यद्यपि, उनी स्वयं गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका थिए । यही मंसिर ६ गतेदेखि प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्दै छन् ।

प्रधानमन्त्री बनेपछि बालेनले मितव्ययिता र आन्तरिक प्राथमिकतालाई जोड दिँदै एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताए पनि आवश्यकताअनुसार विदेश भ्रमण गरेका छन् । उस्तैगरी, सांसदहरू पनि विभिन्न देशको भ्रमणमा पुगेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार नयाँ प्रतिनिधिसभा आएपछिको सात महिनामा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका गरी ४९ जना सदस्य संसद् सचिवालयलाई जानकारी दिएर विदेश गएका हुन् ।

यसरी पूर्वस्वीकृत लिएर विदेश जानेहरू सांसदहरूमध्ये सबैभन्दा धेरै टर्किए पुगेका छन् ।

टर्किएको अन्ताल्यामा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) कात्तिक २३ देखि मंसिर ४ गतेसम्म चल्यो । यसकारण टर्किए पुग्ने सांसदहरू अन्य देशको तुलनामा बढी देखिएका हुन् ।

कोप–३१ मै सहभागी हुन सांसदहरू अशोककुमार चौधरी, कमल सुवेदी, निता घतानी, अर्जुनकुमार कार्की, आशिष गजुरेल, सुम्निमा उदास, राम लामा, सरस्वती लामा, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, राधिका रम्तेल, धर्मराज केसी टर्किए पुगे ।

उनीहरू पूर्वस्वीकृति लिएर टर्किए पुगेका हुन् । जहाँ मन्त्रीहरू परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी, शिक्षा मन्त्री सस्मित पोखरेल स्वास्थ्य मन्त्री निशा मेहता पनि पुगे । मन्त्रीहरूको विदेश भ्रमणको अखिलेख भने संसद् सचिवालयमा रहँदैन ।

कोप–३१ भन्दा अगाडि १५ देखि १९ अप्रिल २०२६ मा टर्किएमै अन्तर संसदीय संघ आईपीयूको ५२औं सभा भएको थियो । त्यसमा सहभागी हुन राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्यद्वय अन्जान शाक्य र कृष्णबहादुर रोकाया टर्किए पुगेका थिए ।

कोप–३१ मा सहभागी हुन टर्किए पुग्ने सांसदहरूको संख्या १५ छ । टर्किएपछि चीन भ्रमणमा जाने सांसदहरू धेरै छन् ।

हाल रास्वपाका २० जना सांसद् चीन भ्रमणमा छन् । कात्तिक २९ गते ११ दिने चीन भ्रमणमा निस्केको रास्वपाका महामन्त्री विपिनकुमार आचार्य संयोजकत्वको टोलीमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी छन् ।

रास्वपाका सहमहामन्त्रीसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटा, सांसदहरू लिमा अधिकारी, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन भ्रमणमा छन् ।

उनीहरू बेइजिङ, हाङचोउ र सिचुवानलगायतका शहरहरूको भ्रमण गरेर मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ । तर यो भ्रमणबारे संसद् सचिवालयलाई लिखित जानकारी छैन । यसकारण मंसिर २ गतेसम्म भ्रमणमा गएकाहरूको नाम अखिलेखित छैन ।

यसबाहेक संसद् सचिवालयलाई जानकारी दिएर पछिल्लो सात महिनामा चीन पुगेका सांसदहरूको संख्या १० रहेको छ ।

२०२६ अक्टोबर १० देखि १५ सम्म रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले चीन भ्रमण गरे ।

२०२६ जुन ११ देखि १६ सम्म राष्ट्रिय सभाकी उपाध्यक्ष लिमाकुमारी भण्डारी, राष्ट्रिय सभा सदस्यहरू विष्णुदेवी पुडासैनी, रूक्मिणी कोइराला, उदयबहादुर बोहराले चीन भ्रमण गरेका थिए ।

उपसभामुख रुवी कुमारी २०२६ जुन १५ देखि १७ सम्म चीन भ्रमणमा रहिन् ।

२०२६ अगस्ट २४ देखि ३० सम्म प्रतिनिधिसभा सदस्यद्वय कमल सुवेदी र निता घतानी तथा राष्ट्रिय सभा सदस्यद्वय झक्कुप्रसाद सुवेदी र नारायणदत्त मिश्रले चीन भ्रमण गरे ।

चीनपछि भुटान पुग्ने धेरै छन् । प्रतिनिधिसभा सदस्यहरू अशोककुमार चौधरी, गीताकुमारी सेन्दाङ, लक्ष्मीप्रसाद पोखरेल, पुनमकुमारी अग्रवाल, केपी खनालले २०२६ अगस्ट २६ देखि २७ सम्म भुटान भ्रमण गरे । उनीहरू दोस्रो हिन्दुकुश हिमालय (एचकेएच) सांसदहरूको बैठकमा सहभागी हुन भुटान पुगेका हुन् ।

पछि प्रतिनिधिसभा सदस्यद्वय अशोककुमार चौधरी र आशिष गजुरेलले २०२६ सेप्टेम्बर ५ देखि ६ सम्म भुटान भ्रमण गरे । त्यसबेला उनीहरू वातावरण, जलवायु र दिगो विकाससम्बन्धी दक्षिण एसियाली संसदीय संवादमा सहभागी हुन भुटान पुगेका हुन् ।

पछिल्लो सात महिनामा पाँच जना सांसद थाइल्यान्ड पुगे ।

२०२६ अक्टुबर १२ देखि १४ सम्म प्रतिनिधिसभा सदस्यहरू कृष्णहरि बुढाथोकी, सुशील खड्का, नीतिमा कार्की, करिश्मा कठरियाले थाइल्यान्ड भ्रमण गरे ।

२०२६ अक्टोबर १२ देखि १८ सम्म प्रतिनिधिसभा सदस्य अर्जुनकुमार कार्की पनि थाइल्यान्ड रहे ।

यसबीचमा चार जना सांसद लाओस पुगे । २०२६ जुलाइ २८ देखि ३० सम्म लाओसमा रहेका सांसदहरूमा अमरेशकुमार सिंह, निश्चल राई, गणेशसिंह ठगुन्ना र सुहाङ नेम्वाङ रहेका छन् । तान्जानिया र केन्या भ्रमण चार जनाले गरे ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी २०२६ अक्टुबर ५ मा सभामुख डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य रविन महतो, राष्ट्रिय सभा सदस्यद्वय अन्जान शाक्य र झक्कुप्रसाद सुवेदी तान्जानिया पुगेका थिए ।

अक्टोबर ९ सम्म तान्जानियामा रहेर उनीहरू केन्या पुगे । अक्टोबर १० देखि १२ सम्म केन्या भ्रमण गरेर नेपाल फर्किए ।

सात महिनाको अवधिमा सर्बिया, लिबिया र मलेसिया भ्रमण तीन/तीन जना सांसदले गरे ।

२०२६ जुन १५ र १६ सम्म प्रतिनिधिसभा सदस्यहरू क्रान्तिशिखा धिताल, शंकर यादव र राष्ट्रिय सभा सदस्य रेणु चन्द रहे ।

प्रतिनिधिसभा सदस्यहरू प्रभा कार्की, मनिष खनाल र रेनुका काउचा २०२६ जुन २ मा सर्बिया पुगे र जुन ४ मा फर्किए । प्रतिनिधिसभा सदस्य गजला शमीम मिकरानी र स्मृति सेन्चुरी २०२६ नोभेम्बर ४ र ५ मलेसियामा रहे ।

प्रतिनिधिसभा सदस्य रन्जु न्यौपानेले पनि संसद् सचिवालयलाई जानकारी दिएर नोभेम्बर १२ देखि १५ सम्म मलेसिया भ्रमण गरिन् । उनी एसियाली महिला सांसदहरूको समूहको सन् २०२६ को बैठकमा सहभमागी हुन मलेसियाको क्वालालम्पुर पुगेकी हुन् ।

आफ्नो भ्रमणबारे उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएकी छन् ।

‘एसियाली महिला सांसद ककस २०२६ को मलेसियामा भइरहेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ,’ उनले लेखेकी छिन्, ‘एसियाका विभिन्न देशका महिला नेतृत्वकर्ताहरूको पृष्ठभूमि फरक भए पनि हामीले भोग्ने चुनौतीहरू धेरै हदसम्म उस्तै छन् । साझा चुनौतीबारे कुरा गर्नु र अनुभव साटासाट गर्नु महत्त्वपूर्ण छ ।’

तर, आफ्नो जोड साझा समस्याहरूको सामूहिक समाधान कसरी खोज्ने र एकअर्काका अनुभवबाट सिक्दै त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्नेमा रहेको उल्लेख गर्दै उनले लेखेकी थिइन्, ‘नेपालबाट म र माननीय शोभा खनाल सहभागी भएका छौं ।’

संसद् सचिवालयको अभिलेखमा भने प्रतिनिधिसभा सदस्य खनाल मलेसिया गएको अभिलेखित छैन ।

पछिल्लो सात महिनाको अवधिमा केही सांसदहरू मंगोलिया, दक्षिण कोरिया, इजरायल, फ्रान्स र अमेरिका पुगे ।

२०२६ नोभेम्बर ८ देखि १३ सम्म प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धिताल अमेरिकामा रहिन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले २०२६ अगस्ट २६ देखि २८ सम्म कोलम्बियाको भ्रमण गरे ।  प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक २०२६ अगस्ट २४ देखि २८ सम्म मंगोलिया रहे ।

२०२६ नोभेम्बर १० र ११ मा प्रतिनिधिसभा सदस्य सुम्निमा उदास फ्रान्स थिइन् । प्रतिनिधिसभा सदस्य आकृति अवस्थीले २०२६ सेप्टेम्बर १७ र १८ मा दक्षिण कोरियाको भ्रमण गरिन् ।

विदेश भ्रमण गर्नेमा प्रतिनिधिसभाका सांसदको संख्या बढी छ । राष्ट्रिय सभा सदस्यहरू पनि विभिन्न संसदीय तथा औपचारिक भ्रमणमा सहभागी भएका छन् ।

अनौपचारिक भ्रमण भने संसद् सचिवालयको अभिलेखमा रहँदैन ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी संसदीय कार्यका सन्दर्भमा औपचारिक निर्णय भएर गरिने भ्रमणहरूको अभिलेख रहने बताउँछन् ।

‘सचिवालयमा संसदीय कार्यका सन्दर्भमा प्राप्त हुने निमन्त्रणा तथा अन्तरव्यवस्थापिका संघ जस्ता नेपाल सदस्य भएका विभिन्न संघसंस्थाहरूमा प्रतिनिधित्व गर्दा हुने औपचारिक निर्णय भएर गरिने भ्रमणहरूको अभिलेख रहन्छ,’ उनले भने ।

तथापि, सांसदहरूले गर्ने भ्रमणसमेत जानकारी प्राप्त भएको हकमा अभिलेखित हुने उनले बताए ।

‘यसबाहेक पनि यदि कुनै सदस्यले आफू कुनै संसदीय गतिविधिमा व्यक्तिगत रूपमा सहभागी भएको कुराको औपचारिक जानकारी उपलब्ध गराएको खण्डमा सो विवरणसमेत सचिवालयले अभिलेखको रूपमा राख्ने गर्छ,’ प्रवक्ता गिरीले भने ।

यही सुविधाका कारण अनौपचारिक भ्रमण गर्ने सांसदहरूको विदेश भ्रमण अनरेकर्डेड छ । साथै, भारत पुगेका सांसदहरूको विवरण पनि संसद् सचिवालयसँग छैन ।

२०८३ साल जेठ १८ र १९ गते प्रतिनिधिसभा सदस्य तथा रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमण गरे । उनको भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्यद्वय विपिनकुमार आचार्य र दीपक बोहरा थिए ।

उक्त भ्रमणका क्रममा लामिछानेले भारतीय सरकारका शीर्ष नेतृत्व तथा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रमुख नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय गृहमन्त्री अमित शाह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटेका थिए ।

तर, लामिछानेसहितको यो भ्रमणको विवरण संसद्को अभिलेखमा छैन ।

पछिल्लो पटक उनै लामिछाने गत कात्तिक कात्तिक ६ गतेखि ९ गतेसम्म भारतमा रहे । निजी तथा पारिवारिक तीर्थाटन भनिएको लामिछानेको यो तीन दिने भारत भ्रमण पनि औपचारिक रेकर्डमा छैन ।

यसबीचमा नेकपा संयोजकसमेत रहेका प्रतिनिधिसधभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कात्तिक २७ गते काठमाडौंबाट रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरे । करिब एक साता रुसमा रहे । मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाए । मंसिर ३ गते स्वदेश फर्किए ।

यसबारे पनि संसद् सचिवालयलाई औपचारिक जानकारी छैन ।

रास्वपा सांसद मनिष झाले गत असोजमा भारत भ्रमण गरे । सांसद झाको भारत भ्रमणबारे भारतस्थित नेपाली दूतावासले २०२६ अक्टोबर १२ मा आधिकारिक ट्विटर ह्यान्डलमार्फत सार्वजनिक गरेको थियो । जसअनुसार सांसद झाले नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरेका थिए । यसबारे नेपालको संसद्सँग कुनै जानकारी छैन ।

अर्थात्, अनौपचारिक रूपमा जति पनि सांसदहरू विदेश पुगेका छन्, त्यसबारे नेपालको संसद् बेखबर रहँदै आएको छ ।

लक्ष्मी प्रसाद पोखरेल (प्रतिनिधिसभा)

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
प्रधानमन्त्रीको भारत भ्रमणः इप्पानले औंल्याए ऊर्जा क्षेत्रका मुद्दा

प्रधानमन्त्रीको भारत भ्रमणः इप्पानले औंल्याए ऊर्जा क्षेत्रका मुद्दा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित भएर विभिन्न सुझाव दिएको छ। संघले बुँदाग...

#भ्रमण #भारत
Compare →
Arthasansar
6h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भ्रमण #भारत
Compare →
Nagarik News
9h ago
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ

यी उच्चस्तरीय भ्रमणलाई आपसी अप्ठ्याराहरूको गाँठो फुकाएर समझदारीको निर्माण गर्नमा केन्द्रित गर्नुपर्दछ।

#भ्रमण #भारत
Compare →
Bizshala
1d ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612