३ मंसिर, काठमाडौं । मिर्गौला फेल भएका बिरामी डायलाइसिस गर्ने आवश्यक पानी नपाएर छटपटिन बाध्य भएका छन् ।
घरमै बसेर पेटभित्र पाइपमार्फत गरिने पेरिटोनियल डायलाइसिस (पीडी) का लागि चाहिने पानी अभाव हुँदा ४०० बढी मिर्गौला रोगीको उपचार प्रभावित भएको छ ।
उपचारका लागि आवश्यक पानी नेपालमा एउटै मित्र कम्पनीले वितरण गर्दै आएको छ । त्यही कम्पनीले पछिल्लो तीन महिनादेखि नियमित आपूर्ति नगर्दा नियमित डायलाइसिस गरेर जीवन धानिरहेका बिरामीको जीवन संकटमा परेको छ ।
बिहीबार काठमाडौंको कालीमाटीस्थित पानी वितरण केन्द्रमा २० भन्दा बढी मिर्गौला रोगी पानी लिन पुगेका थिए ।
त्यही भिडमा थिइन्, ४५ वर्षीया किरण थापा । नियमित डायलाइसिस नहुँदा थापाको पूरै शरीर सुन्निएको छ । थोरै बोल्न खोज्दा सास रोकिन्छ ।
सानेपा बस्ने उनी विगत १२ वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेकी छिन् । सुरुसुरुमा उनी अस्पतालमा पुगेर हेमोडायलाइसिस गराउँथिन् । तर फिस्टुला बिग्रिएपछि र नशा पत्ता लगाउन कठिन भएपछि घरमै गर्न सकिने पेरिटोनियल डायलाइसिस (पीडी) रोजिन् ।
यो उपचार उनका लागि अस्पताल धाइरहनुपर्ने बाध्यताबाट मुक्ति पाउने माध्यम थियो । पेटमा राखिएको पाइपमार्फत विशेष पानी भित्र पठाएर शरीरमा जम्मा भएको फोहोर र अतिरिक्त तरल पदार्थ निकाल्ने यो विधिले उनलाई घरमै बसेर उपचार गर्ने सुविधा दिएको थियो ।
तर, अहिले त्यही उपचारका लागि आवश्यक पानी नै पाउन छाडेपछि उनको जीवन थप कष्टकर बन्यो ।
थापालाई अहिले खुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने भइरहेको छ ।
‘खुट्टा सुन्निएको छ । राति सुत्दा खुट्टाको पानी मुखसम्म पुग्छ । सास फेर्न र बोल्न पनि गाह्रो हुन्छ,’ उनले समस्या पोखिन् । थापालाई दिनमा चार पटक डायलाइसिस गर्नुपर्छ ।
पानी नपाएका कारण दुई–तीन दिन डायलाइसिस नै नगरेको उनले बताइन् ।
‘तीन महिना भयो, डायलाइसिस गर्नका लागि सहज रूपमा पानी नपाएको,’ थापाले आँखाभरि आँशु पार्दै भनिन्, ‘दैनिक धाएर एक–दुई पोका पानीले काम चलाइरहेको छु ।’
उनको पुनः हेमोडायलसिसमा जाने सम्भावना पनि छैन । फिस्टुला बनाउन हातका नशा नै भेटिन छोडिसकेको छ ।
‘अब फिस्टुला बनाउने सम्भावना छैन । त्यसैले अब पानी नपाउँदा के गर्ने ? समस्या बुझ्न भनेर आज यहाँ आएको हुँ,’ थापाले निराश हुँदै भनिन् ।
थापा एक्ली होइनन्, पेरिटोनियल डायलाइसिस गराइरहेका ४०० बढी बिरामी अहिले यही समस्याबाट गुज्रिरहेका छन् ।
दक्षिणकाली नगरपालिकाका ३५ वर्षीय अकवीर तामाङ पनि (पीडी) को भरमा बाँचिरहेका छन् । पानी अभावकै कारण उनले लगातार अघिल्लो हप्ता दुई दिन डायलाइसिस गर्न पाएनन् ।
नियमित तीन पटक गर्नुपर्ने डायलाइसिस रोकिएपछि शरीर सुन्निन थाल्यो । श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप बढ्यो । शरीरले थेग्नै नसक्ने भएपछि उनी घरमै आलसतालस अवस्थामा पुगे ।
‘अब त मर्छु जस्तै भएको थियो,’ तामाङले त्यो कहालिलाग्दो रात सम्झिए, ‘राति ८–९ बजेतिर पानी दिने कार्यालयमा फोन गरेपछि बल्ल दुई पोका पानी उपलब्ध भयो । त्यसपछि बल्ल डायलाइसिस गर्न पाएँ ।’
तीन वर्षअघि मिर्गौलासम्बन्धी समस्याबाट पीडित तामाङ अहिले दिनको तीन पटक डायलाइसिस गर्छन् । बिहान ६ बजे, दिउँसो २ बजे र राति १० बजे गरी प्रत्येक पटक पेटभित्र राखिएको पाइपमार्फत विशेष झोल हालेर शरीरभित्रको फोहोर पदार्थ बाहिर निकाल्छन् । यही प्रक्रियाले उनको शरीर चलिरहेको छ ।
तामाङका अनुसार नियमित डायलाइसिस गर्न उनलाई महिनामा करिब १५ कार्टुन फ्लुइड चाहिन्छ । तर अहिले मुस्किलले दुई–तीन कार्टुन मात्रै पाउने गरेका छन् । आवश्यक परिमाणमा पानी नपाएपछि साथीभाइसँग सापटी मागेर चलाउनुपर्ने बाध्यता छ।
‘हामीले दिनमा तीन पटक डायलाइसिस गर्नुपर्छ । तर पानी नै नपाएपछि तीन पटकको ठाउँमा दुई पटक गर्नुपर्ने, कसैले एक पटक मात्रै गर्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘साथीहरूसँग मागेर चलाउन खोज्दा उनीहरूसँग पनि हुँदैन । अब कसको भर पर्ने ?’
पानी कहिले आउँछ, कति आउँछ र अर्को पटक डायलाइसिस गर्न पाइन्छ कि पाइँदैन भन्ने अनिश्चितताले मानसिक रूपमा समेत कमजोर बनाएको उनी बताउँछन् ।
सबै बिरामीका लागि हेमोडायलाइसिसको अर्को सहज विकल्प पनि छैन । कसैको शारीरिक अवस्थाले साथ दिँदैन, कसैका लागि फिस्टुला बनाउनुपर्ने प्रक्रिया नै चुनौतीपुर्ण हुन्छ । त्यसैले घरमै गर्न सकिने पीडी डायलाइसिसको फ्लुइड नपाउनु उनीहरूका लागि उपचार रोकिनु मात्रै होइन, बाँच्ने आधार गुम्दै गएको छ ।
१५ दिनभित्र पीडी डायलाइसिसको पानी अभाव हटाउने कम्पनीको दाबी
४०० हाराहारी मिर्गौलाका बिरामी पानीको अभावमा छटपटाइरहेका बेला यसको एकमात्र आयातकर्ता मित्र कम्पनीले १५ दिनभित्र समस्या समाधान गर्ने दाबी गरेको छ ।
उक्त कम्पनीले भने सडक अवरोध, चाडपर्व र आयातमा भएको ढिलाइलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गरेको छ । मित्र कम्पनीका अध्यक्ष मधु चित्रकारले पछिल्लो समय आपूर्तिमा समस्या देखिए पनि अबको १५ दिनभित्र सबै समस्या समाधान हुने दाबी गरे ।
‘केही महिना अगाडि बाटोको समस्याले गर्दा पानी ल्याउन ढिलाइ भयो । रसुवा बाढीले गर्दा हाम्रो सप्लाइ चेन नै बिग्रियो । त्यतिमात्रै होइन, दशैं, तिहार, छठले गर्दा गाडी नै भारतबाट छुटेनन् । यसले गर्दा आपूर्ति रोकियो,’ चित्रकार भन्छन् ।
कम्पनीले आपूर्ति सहज बनाउन काम गरिरहेको उनको दाबी छ । भारतको दिल्लीबाट केही डायलाइसिस गर्ने पानी लिएर गाडी हिँडिसकेको उनले बताए ।
नेपालमा पीडीका लागि आवश्यक पानी आपूर्ति गर्ने अर्को कम्पनी नभएकाले पनि आपूर्तिमा समस्या हुँदा बिरामी प्रभावित भएका छन् ।
‘नेपालमा यसको अर्को विकल्प नै छैन । केही महिना अगाडि अर्को कम्पनीको उत्पादन बन्द भएपछि झन्डै १०० जना बिरामी हामीकहाँ आए । जसले थप चाप बढ्यो,’ उनले भने ।
चित्रकारका अनुसार काठमाडौंमा नेपाल मेडिकल कलेज, पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा कम्पनीको पानी आपूर्ति भइरहेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा पनि आपूर्ति हुँदै आएको उनले बताए ।
यी अस्पतालहरूले डायलाइसिस गराउनुपर्ने बिरामीको विवरण कम्पनीलाई पठाउँछन् । स्वास्थ्य बीमा बोर्डमार्फत डायलाइसिस गराउन आवश्यक पानीको खर्च अस्पताललाई जान्छ । र, अस्पतालले कम्पनीलाई भुक्तानी दिन्छन् ।
अब भारतबाट नियमित रूपमा पानी ल्याउने व्यवस्था मिलाइएको चित्रकारले दाबी गरे । उनका अनुसार एउटा गाडी तत्काल आउने र थप दुई गाडी नोभेम्बर २१ मा लोडिङ हुने तयारी छ ।
त्यसपछि हरेक साता दुई ट्रक पानी ल्याउने कम्पनीको योजना छ ।
‘एक गाडी भोलि नै आइपुग्छ । अर्को दुई गाडी २१ तारिखमा लोडिङ हुँदैछ । त्यसपछि हरेक हप्ता दुई ट्रक ल्याउँछौँ । अधिकतम १५ दिनभित्र यो समस्या समाधान हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।
अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।