२ मंसिर, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्याससँग सम्बन्धित रेगुलेटर, ग्यास चुलो, पाइप लगायत वस्तु कारोबार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका आधिकारिक ग्यास विक्रेता मार्फत मात्र गर्न-गराउन माग गरेको छ ।
महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
महासंघले पछिल्लो समय भ्याटमा दर्ता गरेर मात्र कारोबार गर्ने-गराउने आयल निगमको सूचनाप्रति समर्थन समेत जनाएको छ ।
सुरक्षित र पारदर्शी कारोबार पक्षमा विगतदेखि नै दृढतापूर्वक उभिएको स्मरण गराउँदै महासंघले ग्यास व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ ।
एलपी ग्यास अत्यधिक प्रज्वलनशील पदार्थ भए पनि यसलाई नियमन गर्न हालसम्म कुनै पेट्रोलियम ऐन नहुनु दु:खद रहेको महासंघको ठहर छ ।
साथै, पछिल्लो समय विभिन्न कारण नेपालमा लामो समयसम्म एलपी ग्यास अभाव देखिनुमा यसको वितरण प्रणाली पनि एक मुख्य कारक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
उच्च सतर्कता साथ बिक्री–वितरण हुनुपर्ने एलपी ग्यास कारोबार जहाँसुकैबाट हुँदा सुरक्षा जोखिम समेत बढेको सन्दर्भ औँल्याउँदै महासंघले आधिकारिक र भ्याटमा दर्ता भएका विक्रेता मार्फत मात्र ग्यास तथा ग्यासजन्य सामग्री कारोबार सुनिश्चित गर्न निगमको ध्यानाकर्षण गराएको छ ।