नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड र श्रम अधिकार उल्लंघनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने व्यक्तिमाथि हालसम्म कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको भनाइ छ।
वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासंघले विभिन्न चरणका विरोध कार्यक्रम सार्वजनिक गरेको हो।
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते (भोली) प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ।
यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ। मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गरिनेछ। प्रदर्शनका क्रममा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गरिने महासंघले जनाएको छ।
महासंघले घोषित आन्दोलनका कार्यक्रममार्फत प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारलाई दबाब दिने जनाएको छ। माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत महासंघले दिएको छ।
प्रकाशित: १ मंसिर २०८३ १८:०५ मंगलबार