गत फागुनको प्रतिनिधिसभा निर्वाचनपछि जिल्लामा मतदाता १ लाख ८९ हजार ३७६ पुगे पनि जनगणनाअनुसार कुल जनसङ्ख्या १ लाख ७० हजार ३०२ मात्र छ।
रामेछाप — जिल्लामा पछिल्लो ८ महिनाको अवधिमा १ हजार ४२४ जना मतदाता थपिएका छन् । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८७ हजार ९५२ मतदाता थिए । अहिले उक्त सङ्ख्या बढेर १ लाख ८९ हजार ३७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार पछिल्लो मतदाता विवरणमा जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख ८९ हजार ३७६ पुगेको हो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तहमा ६४ वडा छन् ।
मतदाताको सङ्ख्या बढिरहँदा जिल्लाको वास्तविक जनसङ्ख्या भने घटिरहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछापको कुल जनसङ्ख्या १ लाख ७० हजार ३०२ मात्रै छ । यस हिसाबले जिल्लामा जनगणनामा उल्लेख भएको कुल जनसङ्ख्याभन्दा मतदाताको सङ्ख्या १९ हजार ७४ ले बढी देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ३२ जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा रामेछापको जनसङ्ख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ ।
२०७९ मङ्सिरमा सम्पन्न संघीय तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा १ लाख ८० हजार १०६ मतदाता थिए । त्यसको तुलनामा २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा ७ हजार ८४६ अर्थात् ४.३५ प्रतिशत मतदाता थपिएका थिए । त्यसको आठ महिनापछि पुनः १ हजार ४२४ जना थपिएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछापमा रहेका ८२ हजार ८३ घरमध्ये १४ हजार ४२ घर खाली थिए । यो कुल घर सङ्ख्याको १७.५ प्रतिशत हो । अर्थात् जिल्लामा रहेका झन्डै प्रत्येक ६ घरमध्ये एउटा घरमा मानिसको बसोबास छैन ।
रामेछापमा दुई दशक अघिदेखि घर खाली हुने प्रवृत्ति तीव्र बनेको हो । तत्कालीन सशस्त्र द्वन्द्वले यसलाई थप बढायो । राष्ट्रिय जनगणना २०५८ मा जिल्लाको जनसङ्ख्या २ लाख १२ हजार ४०८ थियो । २०६८ को जनगणनामा आइपुग्दा यो घटेर २ लाख २ हजार ६४६ मा पुगेको थियो । २०७८ को जनगणनामा जनसङ्ख्या अझ घटेर १ लाख ७० हजार ३०२ कायम भयो ।
गाउँमा सडक, बिजुली, शिक्षा र अन्य आधारभूत सुविधा विस्तार भए पनि मानिसको बसाइँ गाउँमा टिक्न सकेको छैन । रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुविधा सम्पन्न जीवनको खोजीमा युवा तथा परिवारहरू वैदेशिक रोजगारी, सहर र तराईका जिल्लातर्फ जाने क्रम रोकिएको छैन ।
मन्थली नगरपालिका–९ की ५० बर्सिया तारादेवी श्रेष्ठ गाउँ रित्तिँदै जानुको मुख्य कारण रोजगारीको अभावलाई मान्छिन् । उनका अनुसार कुनै समय गाउँभरि मानिसको बाक्लो बसोबास हुन्थ्यो । अर्मपर्म गरेर खेतीपाती र घरायसी काम सघाउने चलन थियो । अहिले भने गाउँमा काम गर्न सक्ने जनशक्ति नै पाउन मुस्किल हुन थालेको छ । धेरै युवा रोजगारीका लागि बिदेसिएका छन् भने नेपालमै रहेकाहरू पनि जागिर तथा अवसरको खोजीमा सहर पसेका छन् ।
श्रेष्ठका अनुसार छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउने र रोजगारीको अवसर खोज्ने क्रममा अधिकांश परिवारले गाउँ छाड्ने गरेका छन् । अहिले गाउँमा चाडपर्वका बेला मात्रै मानिसहरूको चहलपहल देखिन्छ । अरू बेला गाउँ सुनसान हुने गरेको उनको अनुभव छ । ‘पहिला गाउँभरि मान्छे हुन्थे । अर्मपर्म गरेर काम गर्न सजिलो थियो । अहिले गाउँमा काम गर्ने मान्छे नै पाउन गाह्रो छ,’ उनी भन्छिन्, ‘चाडपर्व आएपछि मात्रै गाउँमा रमाइलो र चहलपहल देखिन्छ ।’
मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ गाउँमा विगतको तुलनामा धेरै सुविधा थपिए पनि मानिस नरोकिएको बताउँछन् । उनका अनुसार पहिले गाउँमा सडक, बिजुली, गुणस्तरीय शिक्षा र आफूले चाहेका सामानसमेत सहजै उपलब्ध थिएनन् । त्यस्तो अवस्थामा पनि गाउँमा मानिसको बाक्लो बसोबास थियो । अहिले भने सुविधा विस्तार हुँदा पनि गाउँ छाड्ने क्रम बढिरहेको छ ।
‘पहिला गाउँमा सडक, बिजुली बत्ती, राम्रा विद्यालय थिएन । पैसा हुनेले पनि आफूले चाहेजस्तो सामान किन्न पाउँदैनथे । तर पनि गाउँमा मानिसको राम्रो बसोबास थियो,’ श्रेष्ठ भन्छन्, ‘अहिले सहरप्रतिको मोह यसरी नै बढ्दै जाने हो भने रामेछापमा भूगोल त रहला, तर मान्छे नरहन सक्छन् ।’
उनका अनुसार मानिसको अभावमा धेरै गाउँ बस्ती खाली र खण्डहर बनिसकेका छन् । गाउँमा मानिसको बसोबास कायम राख्न तीनै तहका सरकारले गम्भीर भएर सोच्नुपर्ने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।