इजरायलमा मटान कहाना सभामुख निर्वाचित
जेरुसलेम — इजरायली संसद्ले मङ्गलबार मटान कहानालाई सभामुख निर्वाचित गरेको छ। कहाना विपक्षी नेता गदी आइजेन्कोटको खेमाका प्रमुख नेता हुन्, जसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सत्ताच्युत गराएर नयाँ सरकार गठन गर्ने कसरत गरिरहेका छन्।
भर्खरै सम्पन्न निर्वाचनमा नेतान्याहू र उनका सहयोगीहरूले संसद्मा आफ्नो बहुमत गुमाइसकेका छन्।
एक सय बीस सदस्यीय संसद्मा भएको यस मतदानमा यहूदी र अरब दुवैतर्फका विपक्षी दलहरूको समर्थन जुटाउँदै कहानाले ६६ मत प्राप्त गरे ।
सात घण्टाभन्दा लामो समयसम्म चलेको चर्को बहसपछि नेतन्याहू समर्थित उम्मेदवार ओफिर काट्ज़ले भने ५२ मत मात्रै प्राप्त गर्न सके ।
यो कदमलाई निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारद्वारा अघि सारिएका विवादास्पद नीतिहरूलाई उल्ट्याउने दिशामा एक ठूलो र महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
संसद्का नयाँ सभामुखको रूपमा पहिलो मन्तव्य राख्दै मटान कहानाहले मेलमिलापको नीति अपनाउने बताए। उनले फरक-फरक विचार र राजनीतिक मतभेद भए पनि राज्यका संस्था तथा एक-अर्काको सम्मान गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे।
अक्टोबर २७ मा भएको निर्वाचनपछि राष्ट्रपतिले आइजेन्कोटलाई सरकार गठनका लागि औपचारिक जिम्मेवारी दिएका छन्। आइजेन्कोटले कहानाको विजयलाई लोकतन्त्रको जित भन्दै स्वागत गरेका छन्।
गठबन्धनका लागि आइजेन्कोटका सामु अझै केही साताको समय बाँकी छ। यसैबीच, सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने विषयले संसद्मा फेरि तीव्रता पाएको छ। नेतान्याहूमाथि यस घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको गम्भीर आरोप लाग्दै आएको छ।