असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।
काठमाडौँ — नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । देशको पैसा छाप्ने, सरकारको सम्पत्ति (पैसा, बहुमूल्य धातु, सुन चाँदी आदि) व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको हो । आफै पैसा छाप्ने अधिकार भएको संस्थाको सम्पत्ति कति होला ?
असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।
यो सम्पत्ति राष्ट्र बैंकले त्यत्तिकै ढुकुटीमा राखेर बस्दैन । देशभित्र र बाहिर विभिन्न औजारहरु (सुन, विभिन्न ऋणपत्र आदि), मौद्रिक उपकरणमा लगानी गर्छ ।
असार २०८३ सम्म कायम राष्ट्र बैंकको कुल सम्पत्तिमध्ये ८९.७२ प्रतिशत सुन (गोल्ड सर्टिफिकेट) मा लगानी गरेको छ । नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ६.८७ प्रतिशत र बा“की अन्य अंश ३.४१ प्रतिशत रहेको । असार २०८२ मा गोल्ड सर्टिसकिेटमा ८८.९२, नगत तथा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ७.३२ प्रतिशत र अन्यमा ३.७६ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकले सुनमा लगानी गर्दा सामान्यतया अन्तर्राष्ट्रिय बजारबाट अमेरिकी डलर वा अन्य परिवर्तनीय विदेशी मुद्राको भुक्तानी गरी सुन खरिद गर्छ । खरिद गरिएको सुनलाई भौतिक रूपमा आफ्नै भण्डारमा राख्न वा अन्तर्राष्ट्रिय ‘बुलियन’ बैंकको खातामा सुनको मौज्दातका रूपमा राख्न सक्छ ।
केन्द्रीय बैंकले सुनमा लगानी गर्नु भनेको सामान्य लगानीकर्ताले सुनको सिक्का, गरगहना वा सुनका बिस्कुट किनेर राखेजस्तो मात्र होइन । यो देशको विदेशी मुद्रा सञ्चिति व्यवस्थापन गर्ने रणनीतिक प्रक्रिया हो ।सकारण केन्द्रीय बैंकले आफ्नो विदेशी विनिमय सञ्चितिको एउटा हिस्सा सुनमा राख्न सक्छ । यसको मुख्य उद्देश्य सम्पत्तिको विविधीकरण, मूल्य संरक्षण, अन्तर्राष्ट्रिय भुक्तानी क्षमता र वित्तीय जोखिम व्यवस्थापन गर्नु हो ।
यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राष्ट्र बैंकले विभिन्न उपकरण (गोल्ड सर्टिफिकेटसमेत) मा गरेको लगानी ४६.३६ प्रतिशतले बढेर ३४ खर्ब ७६ अर्ब ५१ करोड ७ लाख ४१ हजार पुगेको छ । असार २०८२ असारमा यस्तो लगानी २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९१ हजार रहेको थियो ।
यस्तै, २०८२ असारको तुलनामा २०८३ असारमा राष्ट्र बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति ३६.१८ प्रतिशतले बढेर २ खर्ब ६६ अर्ब २७ करोड ७४ लाख ३६ हजार पुगेको छ । २०८२ असारमा नगद तथा नगद सरहका सम्पत्ति रु.१ खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रहेको थियो ।
२०८३ असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७३.१२ प्रतिशत र इक्विटीको अंश २६.८८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।