बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।
काठमाडौं — एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् । बुधबार सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि पनि सरकारमा फर्कने बताएका हुन् ।
उनले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाए पनि फेरि सत्तामा पुग्ने दाबी गरे । उनले एमाले फेरि सरकारमा फर्किएर देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताए । उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताए ।
उनले भने, ‘एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’
सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरे । यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किने उनले बताए । अध्यक्ष ओलीले अब पनि फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने बताए ।