सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।
काठमाडौँ — भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी आईपीएल २०२७ देखि चेन्नाई सुपर किंग्स (सीएसके) को टिम मेन्टर बन्ने भएका छन्। फ्रेन्चाइजले धोनी नयाँ भूमिकामा टोलीसँग जोडिने मंगलबार जानकारी दिएको हो।
सन् २००८ देखि चेन्नाईसँग आबद्ध धोनीले आफ्नो कप्तानीमा टोलीलाई पाँच पटक आईपीएल उपाधि जिताएका छन्। उनको नेतृत्वमा चेन्नाईले दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधिसमेत जितेको छ।
सीएसकेका मालिक एन श्रीनिवासनले धोनी फ्रेन्चाइजको अभिन्न हिस्सा रहेको बताउँदै उनीबिना चेन्नाईको पहिचान अधुरो रहने उल्लेख गरेका छन्। उनले भने, 'एमएस धोनीबिना सीएसकेको कल्पना गर्न सकिँदैन। झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र हरेक उतारचढावमा सँगै यात्रा गरेका छौँ।'
त्यस्तै, मालिक रुपा गुरुनाथले धोनीको अनुभव र मार्गदर्शन युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताएकी छन्। टोलीमा नयाँ पुस्ताका खेलाडीको संख्या बढ्दै गएकाले उनको मेन्टरको भूमिका अझ उपयोगी हुने विश्वास गरिएको छ।
धोनीले चेन्नाईका लागि २ सय ७२ खेल खेल्दै ५ हजार ३ सय १४ रन बनाएका छन्। उनी टोलीका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।