Trending
Prev Story
Next Story

२१ किलो सुन ल्याउने चिनियाँ गिरोहको नेपाली सहयोगी खोज्दै प्रहरी

Ekantipur •
October 18, 2026 • 09:13 PM
3
3 reads 0 reactions

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले नेपाली नागरिकको संलग्नताबारे अनुसन्धान भइरहेको बताए ।

२१ किलो सुन ल्याउने चिनियाँ गिरोहको नेपाली सहयोगी खोज्दै प्रहरी

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले नेपाली नागरिकको संलग्नताबारे अनुसन्धान भइरहेको बताए ।

काठमाडौँ — प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट बरामद २१ किलो ७५० ग्राम सुन तस्करीमा संलग्न गिरोहको नेपाली सहयोगी खोज्न थालेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको भण्डारण, बिक्री र भारततर्फ पठाउने कार्यमा संलग्न हुन सक्ने नेपालीको खोजी सुरु गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले नेपाली नागरिकको संलग्नताबारे अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तीन चिनियाँ नागरिकले अनुसन्धानमा खासै सहयोग गरेका छैनन्, तर बरामद भएका डिजिटल डिभाइसलाई फरेन्सिक ल्याबमा पठाएका छौं, त्यसबाट केही सूचना आउन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले चिनियाँ नागरिकको बयान लिन दोभासेको प्रयोग गरिरहेको छ । तर उनीहरूले अधिकांश प्रश्नको जवाफ दिएका छैनन् ।

सुन तस्करीको सञ्जालमा विदेशी नागरिकले सुन ल्याउने वा प्रशोधन गर्ने गरे पनि त्यसलाई बजारमा पुर्‍याउन स्थानीय सहयोग आवश्यक पर्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । नेपालमा सुनको भण्डारण, ढुवानी, बिक्री र भारततर्फ ओसारपसारमा स्थानीय सम्पर्कको भूमिका हुन सक्ने भएकाले पक्राउ परेका चिनियाँ नागरिकका डिजिटल उपकरण, उनीहरूको आवतजावत र सम्पर्कमा रहेका व्यक्तिबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मुलुकमा दिनमा ३० किलो सुन खपत हुने गरेको छ । तर नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकमार्फत दिनमा २५ किलो सुन मात्रै बजार पठाउने गरेको छ । यो तथ्यले नेपाली बजारमा दिनमै ५ किलो सुन अभाव हुनुपर्ने देखाउँछ । ‘त्यस्तो ग्याप पूरा हुने भनेको तस्करीको सुनबाट हो, त्यसबाहेक तस्करी भएर आउने सुनजति भारततर्फ जाने हो,’ २०७४ सालमा गठित उच्चस्तरीय सुन छानबिन समितिका सदस्यसमेत रहेका पूर्वएआईजी वसन्त लामा भन्छन्, ‘चिनियाँले आफैं सुन नेपालसम्म ल्याए पनि नेपालीको सहयोगबिना भारत लैजान सम्भव हुँदैन ।’ भारतीय नागरिकको समेत सहयोग लिएको हुन सक्ने भए पनि कुनै न कुनै तहमा नेपालीको संलग्नता हुन सक्ने उनले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, विमानस्थलको पार्किङसहित चिनियाँ नागरिक पुगेको अन्य क्षेत्रका सीसीटीभी फुटेजसमेत विश्लेषण गरेर अनुसन्धान भइरहेको छ । ‘मुख्य अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ, तर हामीले नेपालीको पाटो र सुन कसरी भारत जान्थ्यो भन्ने विषयमा जाँच गरेर सहयोग गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

प्रहरी अधिकारीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले अनुसन्धानमा अपेक्षित सहयोग नगरेको र भाषाका कारण सोधपुछमा कठिनाइ भएको छ । दोभासेको सहयोगमा उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यसअघि पनि चिनियाँ नागरिकसँग सम्बन्धित सुन तस्करी प्रकरणमा नेपाली राजनीतिक तथा व्यावसायिक वृत्तसँगको सम्पर्कबारे प्रश्न उठेका थिए । ६० किलो सुन प्रकरणको अनुसन्धानमा केही विदेशी नागरिकको तत्कालीन माओवादी नेताहरूसँग सम्पर्क देखिएको विवरण सार्वजनिक भएको थियो । बूढानीलकण्ठबाट बरामद सुन प्रकरणमा चाहिँ अहिलेसम्म नेपाली ‘नेक्सस’ नै फेला परेको छैन ।

हाल अमेरिका बस्दै आएका एक व्यक्तिको घर भाडामा लिएर सुन प्रशोधन कारखाना चलाउँदै आएको अवस्थामा प्रहरीले २२ असोजमा तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४७ वर्षीय झोउ लाङक्विन, ३७ वर्षीय हान फेई र ३६ वर्षीय वाङ जिआनजेङ छन् । उनीहरूले त्यो घर ८ साउनदेखि भाडामा लिएका थिए भने चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम रूपमा दिइसकेका थिए । ‘घरबेटी नभएको घर भाडामा लिएपछि कसैले वास्ता गर्दैनन् भन्ने सोचेको जस्तो देखिन्छ,’ अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले भने, ‘त्यहाँ अर्धठोस पदार्थका रूपमा सुन ल्याएर प्रशोधन गरी ढिक्का बनाउने गरिएको थियो ।’

विशेष सूचनाका आधारमा खटिएको प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको त्यस घरमा १० दिनभन्दा लामो समयदेखि निगरानी गरिरहेको थियो । त्यस अवधिमा घरबाट खासै आउजाउ भएको थिएन । तर एक बिहान ५ बजेतिर एउटा कार निस्किएपछि प्रहरीले रोकेर खानतलासी लिएको थियो । त्यसक्रममा सुनका दुई वटा बिस्कुट फेला परेका थिए । घरमा जाँच गर्दा थप सुनसँगै प्रशोधनका लागि आवश्यक उपकरणहरूसमेत फेला परेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा बरामद भएको गाडीको जीपीएस रेकर्ड निकालेको छ । त्यो गाडी कम्तीमा ६ पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ लटमा आउजाउ गरेको देखिएको छ । त्यही आधारमा प्रहरीले सुन अर्धठोस पदार्थका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बाहिरिएको आशंका गरेको छ ।

प्रहरीले बरामद गरेको गाडी हान फेई नामक चिनियाँ नागरिकले नेपाल आउनासाथ विमानस्थलबाट नै भाडामा लिएका थिए । १० देखि २५ असोजसम्मका लागि उनले गाडी भाडामा लिएको देखिएको छ । त्यसअघि पनि उनी १९ साउनमा परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझेर गएको प्रहरीको भनाइ छ । त्यति बेला उनी १३ भदौमा चीनतर्फ फर्किएका थिए । त्यसबेलासमेत उनको नेपालीसँग सम्पर्क भएको र सहयोग लिएको अनुसन्धान अधिकृतहरूको आशंका छ । ‘अहिलेसम्म सुन ल्याउने र बजारमा पठाउनलाई तयार पार्ने अवस्थामा नेपालीको संलग्नता देखिएको छैन,’ एसएसपी खड्काले भने, ‘बजार पठाउने सन्दर्भमा सम्बन्ध छ कि भनेर अहिले हेरिरहेका छौं ।’

सुन तस्करीको जालो भत्काउन पटक–पटक ठूला अनुसन्धान भएका छन् । संगठित गिरोहमा संलग्नमाथि मुद्दासमेत चलाइएको छ । तर तस्करी रोकिएको छैन । पछिल्लो एक दशकमा देशमा हवाई र स्थलमार्ग हुँदै तस्करी गरिएको ५ सय ७९ किलो २ सय १८ ग्राम सुन बरामद भएको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्मको प्रहरी तथ्यांकअनुसार, यस अवधिमा सुन तस्करीमा संलग्न देखिएका ७ सय ६८ जना पक्राउ परेका छन् । बरामद सुनबाट ५ अर्ब ६१ करोड ८२ लाख ३३ हजार ८ सय ८५ रुपैयाँ राजस्व असुली भएको छ ।

नेपालमा संगठित सुन तस्करीको ठूलो सञ्जालमाथि अनुसन्धान भएको प्रमुख घटना ३३ किलो सुन प्रकरण हो । २०७४ मा सुन तस्करीका भरिया सनम शाक्यको हत्या भएपछि यो प्रकरण सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन भारत पठाउने गरिएको खुलेको थियो । ३३ किलो सुन हराएपछि त्यसको खोजी गर्ने क्रममा शाक्यको हत्या भएको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिको अनुसन्धानमा एउटै समूहले चार वर्षको अवधिमा ३८ क्विन्टल सुन तस्करी गरेको विवरण सार्वजनिक भएको थियो । यस प्रकरणमा २०७५ मा ६३ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

समितिमा सदस्य रहेका पूर्वएआईजी लामाका अनुसार उक्त अनुसन्धानले विमानस्थलमार्फत हुने संगठित सुन तस्करीको ठूलो सञ्जाल उजागर गरेको थियो । प्रहरी अधिकारी, विमानस्थलका कर्मचारी, भरिया र गिरोहका नाइकेसम्म अनुसन्धानको दायरामा आएका थिए । त्यसपछि विमानस्थलबाट संगठित रूपमा सुन तस्करी भएको विवरण लामो समयसम्म सार्वजनिक नभए पनि अन्य माध्यमबाट तस्करी भइरहे ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
46m ago
२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका …

#अनुसन्धान #अपराध #किलो
Compare →
Hamro Patro News
20h ago
भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमान...

#सुन #चिनियाँ
Compare →
Nagarik News
3h ago
वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

#अनुसन्धान #अपराध
Compare →
Bizshala
5h ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुन
Compare →

Related Stories

National (Nepal)
Build #2612