१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् ।
चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई आगामी सिजनदेखि मेन्टरको जिम्मेवारी दिने घोषणा गरेको हो । सन् २००८ देखि टोलीसँग आबद्ध धोनीले खेलाडी तथा कप्तानका रूपमा लामो समय बिताएपछि अब नयाँ भूमिकामा टोलीलाई मार्गदर्शन गर्नेछन् ।
चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले धोनीबिनाको चेन्नई सुपर किंग्स कल्पना गर्न नसकिने बताएका छन् ।
उनले सन् २००८ मा धोनीलाई टोलीमा आबद्ध गराउने निर्णय आफ्नो सबैभन्दा राम्रो निर्णय भएको उल्लेख गर्दै उनको खेल उपलब्धिभन्दा पनि व्यक्तित्वको प्रशंसा गरेका छन् ।
धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने श्रीनिवासनको भनाइ छ ।
टोलीकी अर्की मालिक रूपा गुरुनाथले धोनीले मैदानभित्र र बाहिर टोलीलाई दिएको योगदान अतुलनीय रहेको बताएकी छन् । उनले धोनीको नेतृत्व, विनम्रता र प्रतिबद्धताले चेन्नई सुपर किंग्सको जग निर्माण गरेको उल्लेख गर्दै युवा खेलाडीहरूको बाहुल्य रहेको टोलीमा उनको अनुभव र मार्गदर्शन महत्त्वपूर्ण हुने बताइन् ।
टोलीका प्रबन्ध निर्देशक केएस विश्वनाथनले धोनीले चेन्नईलाई आफ्नो सहरका रूपमा आत्मसात् गरेको र सहरले पनि उनलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरेको बताए ।
उपाधिसँगै जित हासिल गर्ने उनको शैली पनि धोनीको वास्तविक विरासत भएको विश्वनाथनको भनाइ छ ।
धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई पाँच पटक आईपीएल उपाधि दिलाएका छन्। आईपीएलमा सर्वाधिक पाँच उपाधि जित्ने कप्तानको सूचीमा उनी संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
उनले चेन्नईलाई दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधि पनि दिलाएका थिए, जुन प्रतियोगितामा कुनै पनि कप्तानको सर्वाधिक उपाधि हो ।
ब्याटिङमा पनि धोनी चेन्नईका सफल खेलाडीमध्ये एक हुन् । उनले टोलीका लागि ५ हजार ३१४ रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् ।
टोलीबाट सर्वाधिक २७२ खेल खेलेका धोनीको नाममा अन्तिम बलमा खेल जिताउने थुप्रै प्रदर्शन र चर्चित हेलिकप्टर सटसमेत छन् ।
कप्तानी, ब्याटिङ र विकेटकिपिङमा धोनीले दिएको योगदानसँगै उनको शान्त स्वभाव, तीव्र स्टम्पिङ र फरक रणनीतिका कारण उनी चेन्नई सुपर किंग्सका समर्थकमाझ विशेष लोकप्रिय छन् ।
मैदानमा पहेँलो जर्सीमा उनलाई खेलिरहेको देख्न नपाइने भए पनि मेन्टरका रूपमा उनको भूमिका निरन्तर रहने क्लबले जनाएको छ ।
योसँगै खेलाडीका रूपमा धोनीको करियर टुङ्गिएको छ ।