१ मंसिर, काठमाडौं । सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो ।
यसबाहेक विभागले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान समेत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज करदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरे ।
कार्यक्रममा उनले यस प्रकारको सम्मानले कर तिर्न प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे । करदातालाई प्रोत्साहन गर्न र कर प्रशासन सुधारमा यस वर्ष सरकारले व्यापक कार्यक्रम ल्याएको भन्दै त्यसबाट लाभ उठाउन समेत उनले आग्रह गरे । यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शााह पुरस्कृत भए ।
निकायतर्फ आयकर बढी तिर्नेमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सरकारले हरेक वर्ष बढी कर तिर्ने करदातालाई राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ ।
नेपालमा सरकारलाई बढी आयकर तिरेर निरन्तर सम्मानित हुने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् । उनी विजय बहादुर शाहका छोरा हुन् ।
शाह परिवारले जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिज सञ्चालन गरिरहेका छन् । राजबहादुर लगातार तेस्रो वर्ष बढी आयकर तिर्ने करदाता बन्न सफल भए । उनले राष्ट्रिय कर दिवसको अवसर पारी २०८१, २०८२ र २०८३ सालमा यो पुरस्कार पाएका छन् ।
सूर्य नेपालले वि.सं. २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।
१४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट कम्पनीले वार्षिक छ अर्ब खिल्ली चुरोट उत्पादन गर्छ । सूर्य नेपालमा भारतीय कम्पनी आईटीसीको ५९ प्रतिशत लगानी छ।
प्रभाकर शमशेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत सेयर हिस्सा छ भने २ प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको सेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुली लगायत ब्रान्डका चुरोट उत्पादन गर्छ ।
नबिल बैंकको स्थापना २०४१ सालमा ‘नेपाल अरब बैंक लिमिटेड’ को नाममा भएको थियो । जुन नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । यसमा दुबई बैंक लिमिटेडको संयुक्त लगानी रहेको थियो ।
संयुक्त अरब इमिरेट्सका लगानीकर्ता बाहिरिएपछि बैंकको बहुमत स्वामित्व नेपाली लगानीकर्ता चौधरी समूहमा आयो । त्यसपछि बैंकको नाम परिवर्तन गरी ‘नबिल बैंक लिमिटेड’ राखियो ।
नबिल बैंकले ढड्डा हटाएर कम्प्युटरबाट सेवा दिने, क्रेडिट कार्ड, एटीएम र डेबिट कार्ड जस्ता नवीनतम उत्पादन र प्रविधिहरू नेपालमा भित्र्याउन नेतृत्व गर्यो । हाल यो बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
सन् २००१ मा स्थापना भएको आईएमई लिमिटेड नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गर्ने मुलुककै पहिलो मनी ट्रान्स्फर कम्पनी हो । आईएमई रेमिटले २००२ मा मलेसियामा पहिलो वैदेशिक कार्यालय खोलेको थियो ।
त्यसपछि २००३ देखि २००४ मा बेलायत र अस्ट्रेलियामा कार्यालय स्थापना गरेको थियो । व्यापार बढाउँदै आईएमई रेमिट सन् २००७ देखि २००८ भित्र इन्डोनेसिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनाम प्रवेश गरेको हो ।
२०१० देखि २०१३ भित्र अमेरिका प्रवेश गरेको आईएमई रेमिटलाई नेपाल सरकारले मुलुककै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी घोषणा गरेको थियो । हाल आईएमई सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रक्रियामा छ ।
नेपालको अग्रणी होटल सोल्टी पर्यटन व्यवसायबाट उच्च आयकर तिर्ने निकायका रुपमा सम्मानित भएको छ । पाँचतारे होटल सोल्टी २०२३ सालमा उद्घाटन भएको हो ।
२८५ वटा कोठा रहेको यो होटेल अतिविशिष्ट पाहुनाको भ्रमणका बेला पहिलो रोजाईमा पर्ने गर्छ । क्यासिनो र रात्रि क्लबसहितको सुविधा रहेको होटेलले पछिल्लो समय लगानी विस्तारलाई समेत प्राथमिकता दिएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड नेपालको सबैभन्दा ठूलो पूँजीकृत बीमा कम्पनीमध्ये एक हो । एलआईसी नेपालको यात्राको सुरुवात सन् २००० मा भएको थियो। भारतीय जीवन बीमा निगम (एलआईसी) र विशाल समूहसँगको संयूक्त लगानीमा कम्पनी स्थापना भएको हो ।
कम्पनीमा ५५ प्रतिशत स्वामित्व भारतीय एलआईसी, १० प्रतिशत विशाल समूह र ३५ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीले राष्ट्रिय बीमा प्राधिकरणबाट सन् २००१ मा जीवन बीमा सेवा प्रदान गर्ने इजाजतपत्र लिएको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । तत्कालीन प्रिमियर इन्स्योरेन्स (वि.सं. २०५१) र सिद्धार्थ इन्स्योरेन्स (वि.सं. २०६२) एकआपसमा गाभिएर वि.सं.२०७९ फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरी अस्तित्वमा आएको हो ।
काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी करिब २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ ।
अध्यक्ष सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवार क्षेत्रीको नेतृत्वमा रहेको यस कम्पनीले देशभरका १२४ भन्दा बढी शाखा सञ्जाल तथा आधुनिक डिजिटल माध्यममार्फत ५ लाखभन्दा बढी ग्राहकहरूलाई निजीवन बीमा सेवा प्रदान गर्दे आएको छ । कम्पनीले सवारी साधन, सम्पत्ति, स्वास्थ्य, यात्रा, सामुद्रिक, इन्जिनियरिङ र कृषि लगायतका गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
स्वास्थ्य तथा शैक्षिक संस्थाबाट उच्च आयकर तिर्ने कम्पनीका रुपमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले यो कम्पनीलाई सम्मान गरेको हो ।
कांग्रेस नेता डा. सुनिल शर्माको यो संस्थाले ६ पटकसम्म यस्तो सम्मान पाइसकेको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल २०७५ सालयता मात्र ६ पटक धेरै कर तिरेर सम्मानित भइसकेको छ ।
डाबर नेपाल सन् १९८९ मा स्थापना भएको हो । डाबरले व्यवसायिक उत्पादन सन् १९९२ बाट सुरु गरेको हो । डाबरले रियल जुस, च्यवनप्रास, टुथपेस्ट, अमला हेयर आयल, हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ ।
सन् १९८४ मा एसके वर्मनले स्थापना गरेको डाबर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित छ । डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्र छन् ।
नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा उत्पादन केन्द्र छन् । डाबरका उत्पादन विश्वका १२० राष्ट्रमा, ६० लाख पसलमा उपलब्ध छन् ।
समयमै र नियमित बढी मूल्य अभिवृद्धि कर (२०७७ साउनदेखि २०८३ असारसम्म) तिर्ने करदाताका रुपमा हिमालयन डिष्ट्रिलरी लिमिटेड सम्मानित भएको छ ।
सन् १९८५ मा स्थापना भएको यो कम्पनीले नेपालमा ४० वर्ष भन्दा बढी समयदेखि व्यवसाय सञ्चालन गरिरहेको छ । यस कम्पनीले विभिन्न ८ भन्दा बढी ब्राण्डमा आफ्ना उत्पादन बजारमा ल्याउने गरेको छ ।
विशेष उद्योगतर्फ बढी आयकर तिर्ने करदाताका रुपमा सरकारले बरुण वेभरेजलाई सम्मान गरेको छ । नेपाली बजारमा सफ्ट ड्रिङ्क उत्पादन तथा बिक्री गर्दै आएको यो कम्पनीका पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, सेभेन अपलगायत उत्पादन बजारमा उपलब्ध छन् ।
नेपालमा यो कम्पनीले २०५५ सालयता आफ्ना उत्पादन बजारमा ल्याएको हो । बहुराष्ट्रिय कम्पनीका रुपमा यस कम्पनीले विश्वका विभिन्न मुलुकमा बजार विस्तार गरेको छ ।
कम्पनीले सिन्धुपाल्चोकमा ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत परियोजना सञ्चालन गर्दै आएको छ ।
यसले नेपाल विद्युत् प्राधिकरणको लामोसाँगु सबस्टेसनमा राष्ट्रिय ग्रिडसँग परियोजना जोड्ने २५ किलोमिटर लामो १३२ किलोभोल्ट प्रसारण लाइन पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्नै उच्च दक्ष कर्मचारीको टोलीमार्फत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परियोजना सञ्चालन तथा मर्मत गर्दै आएको छ ।
यसले परियोजनासँगै स्थानीय पूर्वाधार, शिक्षा र स्वास्थ्यको सहयोग, ग्रामीण पानी आपूर्ति, वातावरणीय संरक्षण, क्षमता निर्माण आदिमा योगदान पुर्याएर परियोजना वरपरका स्थानीय समुदायको विकास र सहयोगमा समेत काम गर्दै आएको छ ।
आईटी सेवा निर्यातबाट उच्च आयकर तिर्ने कम्पनीका रुपमा इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल सम्मानित भएको छ ।
यो कम्पनीले बैंक तथा वित्तीय संस्था, टेलिकम, सरकारी निकायहरूका लागि सफ्टवेयर विकास तथा सूचना प्रविधिसँग सम्बन्धित काम गर्दै आएको छ । बहुराष्ट्रिय कम्पनीका रुपमा यसका ब्रान्च विश्वभर विस्तार भएका छन् ।
ओसीबी फुड्स एन्ड फिड्स प्रालि कृषि तथा पशुपन्छी उद्योगमा उच्च आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यो रुंगटा ग्रुप अन्तर्गत सञ्चालित एक प्रमुख खाद्य तेल तथा दाना उद्योग हो ।
यो उद्योग वीरगञ्ज–बारा औद्योगिक करिडोरमा अवस्थित छ र यसको दैनिक उत्पादन क्षमता ५०० मेट्रिक टन छ । यसले विदेशबाट कच्चा पदार्थ आयात गरी आधुनिक ‘सल्भेन्ट एक्स्ट्र्याक्सन’ र रिफाइनरी प्रविधिमार्फत तेल प्रशोधन गर्दछ । कम्पनीले ‘दिव्य’ ब्रान्डमा सूर्यमुखी तेल, भटमासको तेल र पाम तेल उत्पादन तथा बिक्री गर्दछ ।
फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा लि
मदिरा तथा पेय पदार्थ उत्पादक समूह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको अनुसन्धान, विकास तथा प्राविधिक सेवा प्रदान गर्ने सहायक कम्पनी हो ।
२०६७ सालमा स्थापना भएको यस कम्पनीले समूह अन्तर्गतका विभिन्न डिस्टिलरी तथा ब्रुअरीहरूका लागि नयाँ उत्पादन विकास, गुणस्तर नियन्त्रण र प्रविधिमा अनुसन्धान गर्छ ।
यसको कार्यालय ललितपुरको जावलाखेलमा छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् ।
वस्तु व्यापार कारोबारबाट उच्च आयकर तिर्ने करदाताका रुपमा सीजी इम्पेक्स प्रालि सम्मानित भएको छ । २०६१ मा स्थापना भएको सीजी इम्पेक्स सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको कम्पनी हो । जुन चौधरी ग्रुप मातहत रहेको छ ।
सीजी इलेक्ट्रोनिक्सले नेपालमा विद्युतीय सामग्रीको आयात –निर्यात गर्छ । सो काम गर्ने कम्पनी सीजी इम्पेक्स हो । यसले एलजी र सीजी ब्राण्डका विद्युतीय सामग्री, घरायसी उपकरणहरू आयात–निर्यात गर्छ ।
एकलौटी फर्ममध्ये उच्च आयकर तिर्ने करदातामध्ये थर्ड आई इन्टरनेसनल सम्मानित भएको छ । यो कम्पनीले नेपालबाट ऊनी गलैंचा निर्यात गर्दै आएको छ । यो कम्पनीले अघिल्लो वर्ष महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान समेत प्राप्त गरेको थियो ।
आव २०७९/८० र २०८०/८१ मा समेत तेस्रो मुलुकतर्फ सबैभन्दा बढी ऊनी गलैंचा निर्यात गरेबापत यो कम्पनीले सीआईपी सम्मान पाएको थियो । यो कम्पनीले हातले बुनेका ऊनी गलैंचा तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
वार्षिक ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा इम्पेरियल सेक्युरिटिज कम्पनी परेको छ ।
यो कम्पनी सन् २०१० मा स्थापना भई स्टक ब्रोकिङ सेवा प्रदान गर्दै आएको छ । अनामनगरमा अवस्थित यस कम्पनी (ब्रोकर नम्बर ४५) मार्फत दैनिक सयौंले सेयर कारोबार गर्दै आएका छन् ।
धेरै रकमको धितोपत्र कारोबार गर्ने कम्पनीमा इम्पेरियल अगाडि रहँदै आएको छ । निक्षेप सदस्य (डीपी)का रूपमा पनि कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो समय कम्पनीले मार्जिन लेन्डिङ सेवा पनि प्रदान गर्दै आएको छ । काठमाडौं जिल्लाबाहिर नेपालगन्ज, सुर्खेत, धादिङ, सूर्यविनायक तथा पोखरा शाखाबाट पनि कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
२०४८ सालमा स्थापना भएको छिमेक समाज सेवा संस्थाको विशेष पहलमा विकास बैंक ऐन, २०५२ तथा कम्पनी ऐन, २०५३ बमोजिम २०५८ सालमा छिमेक विकास बैंकको स्थापना भएको हो ।
सामाजिक र आर्थिक रुपले पिछडिएको विपन्न एवम् गरिब वर्गका परिवारलाई आयमूलक व्यवसाय गरी आत्मनिर्भर बनाउनको लागि महिला सशक्तिकरण गरी गरिबी निवारण गर्ने उद्देश्यले स्थापना भएको हो । लघुवित्तले २०५१ साल देखी चितवन जिल्लाको माडी क्षेत्र र महोत्तरीको रामगोपालपुरमा सेवा सुरु गरेको हो । हाल छिमेक लघुवित्त वित्तीय संथाले ६९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।
लघुवित्तमा छिमेक समाज सेवा केन्द्रको सबैभन्दा धेरै १२ प्रतिशत सेयर स्वमित्व रहेको छ । त्यसैगरी नबिल बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको पनि सेयर लगानी रहेको छ । साथै लघुवित्तमा छिमेक बचत तथा ऋण सहकारीले पनि सेयर लगानी गरेको छ । त्यसबाहेक व्यक्तिगत लगानी रहेको छिमेक लघुवित्त वित्तीय संस्थामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणमा सेयर लगानी रहेको छ ।