वि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे ।
त्यसैले, त क्यासेट प्लेयर र सीडीमा यी गीत खोजीखोजी खरिद गर्थे । धीत मरुन्जेल सुन्थे र प्रेमस्वरूप उपहार आदानप्रदान गर्थे ।
यी गीतमा जादुमयी आवाज भरिएको हुन्थ्यो । र, त्यो आवाज अनिल सिंहको थियो ।
अनिल सिंह, कुनै समयका सर्वप्रिय गायक । क्यासेट र सीडीमा मात्र होइन, उनलाई प्रत्यक्ष सुन्न चाहने जमात पनि कम थिएन ।
त्यसैले, त कन्सर्टमा उनलाई हेर्न र सुन्न युवा दर्शकको ओइरो लाग्थ्यो ।
रोमान्टिक पप संगीतबाट अनिलले छुट्टै चिनारी बनाए । उनको आवाजको विशिष्टताले युवापुस्तालाई लठ्ठै बनाइदियो । फरक स्वर, आधुनिक भाका र प्रेमिल भावका गीतका कारण उनले नेपाली संगीतमा आफ्नो छुट्टै मुकाम बनाए ।
खिपेर प्रेमपत्र लेख्ने, मायाका शब्दले अटोग्राफ भर्ने त्यो जमानामा उनले ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देऊ मलाई’ जस्ता गीत ल्याए, जुन युवामनको ढुकढुकी बने । फरक शैलीको ‘इन्जिन गाडीमा’ले भने उनको गायकीलाई अर्को उचाइमा पुर्यायो ।
उनी गीत गाउन मात्र होइन, लेख्न र संगीत भर्न पनि उत्तिकै सिपालु छन् । अर्थात्, उनी संगीतको सम्पूर्ण प्याकेज थिए ।
उनले आफ्ना सिर्जनामा आधुनिक धुन, पश्चिमेली संगीतको रस र नेपालीपनको सुमधुर समायोजन गरेको पाइन्छ ।
स्टेज शोमा पनि उत्तिकै माग हुने अनिल पछिल्लो समय भने एकाएक ओझेलमा परे । कहाँ गए ? के गर्दैछन् ? भन्ने चासोबीच उनी गुपचुपजस्तै रहे ।
प्रेमिल र अजम्बरी गीतहरूको थुप्रो लगाएका अनिल पछि एकाएक फरक संघर्षबाट गुज्रिँदै चर्चामा आए । खासमा उनी आफ्नै गीतको डिजिटल अधिकारका लागि ठूलो संघर्ष गरिरहेको बताउँथे ।
संगीत करियरको डेढ दशक लामो यात्रापछि उनी आफ्ना सिर्जनामा आफ्नो अधिकार खोज्दै सार्वजनिक रूपमा प्रस्तुत भए । अन्ततः यसमा उनले बाजी जिते ।
आफूले सिर्जना गरेका २२ वटा गीतको डिजिटल अधिकार उनले फिर्ता पाए । तर, त्यसपछि पनि उनी आफ्नो पुरानै लयमा भने फर्किएनन् ।
केही अन्तर्वार्ता र स्टेज कार्यक्रममा देखिएका उनी फेरि कतै हराए । कहाँ गए त अनिल सिंह ?
अनिल सिंहले भर्खरै आफ्नो फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गरेका छन् । त्यसमा उनले एउटा पीडादायी घटनाबारे उल्लेख गरेका छन् । उनी भन्छन्, ‘म चेन स्मोकर थिएँ । मेरो खुट्टामा समस्या देखियो । जब डाक्टरले मेरो खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो, तब म अस्ट्रेलिया आइपुगेँ ।’
उनले यसका पछाडि र अगाडिका घटनाक्रमलाई जोड्दै भिडियो सन्देश जारी गरेका हुन् । उनको भनाइ यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
‘यतिबेला म अस्ट्रेलियामा सांगीतिक टुरमा छु । आज म हजुरहरूसामु आफ्नो व्यक्तिगत कुरा खोल्न आएको छु । आफ्नो जीवनमा गरेको गल्तीका लागि माफी माग्न र व्यक्तिगत संघर्षका कुरा साझा गरेर केही राहत महसुस गर्न आएको हुँ ।
जब डाक्टरले अब मेरो खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो, त्यसपछि म नेपालबाट यहाँ आइपुगेँ । यहाँ आउनुअघि म सामान्य उपचार गराइरहेको थिएँ ।
खुट्टामा समस्या देखिएपछि अस्पताल पुगेँ । चिकित्सकले मेरो पूरै शरीरको जाँच गर्नुभयो । त्यसपछि मात्रै मैले आफ्नो स्वास्थ्य समस्याको कारण थाहा पाएँ ।
म अत्यधिक धूम्रपान गर्ने व्यक्ति थिएँ, चेन स्मोकर । चिकित्सकले अत्यधिक धूम्रपानकै कारण खुट्टामा यस्तो समस्या आएको बताउनुभयो र तत्काल चुरोट छाड्न सल्लाह दिनुभयो ।
मलाई काठमाडौंमा बसेर अब सम्भव छैन भन्ने लाग्यो । यही बेला अस्ट्रेलियाको टुरको कुरा आयो । बुधबार मैले बायोमेट्रिक दिएँ, बिहीबार भिसा लाग्यो । यो मेरा लागि कुनै चमत्कारभन्दा कम थिएन । बिहीबार नै म हतारहतार यहाँ आएँ । तास्मानिया पुगेँ र त्यहाँ कार्यक्रम गरेँ । कार्यक्रम राम्रो भयो, दर्शकको माया पनि पाएँ ।
पहिले म दिनमा चार–पाँच बट्टा चुरोट खान्थेँ । अहिले दुई खिल्लीमा झारेको छु । धूम्रपान नियन्त्रण गर्ने प्रयास गरिरहेको छु ।
मैले आफ्नो स्वास्थ्यसँग खेलबाड गरें
जीवन अनिश्चित छ । कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने लाग्छ । भोलि मलाई केही भयो भने त्यसको दोष अरू कसैलाई जाने छैन । मैले नै आफ्नो स्वास्थ्यमा खेलबाड गरेको हुँ ।
यसका लागि म आफ्ना चिकित्सक डा. दीपेश शाक्यलाई धन्यवाद दिन चाहन्छु । अहिले पनि म औषधि सेवन गरिरहेको छु । म जीवनको कुनै पनि पल गुमाउन चाहन्नँ । त्यसैले सबैलाई भन्न चाहन्छु, धूम्रपान छाड्नुहोस् ।
मसँगै अस्ट्रेलिया आउनुभएका प्रकाश सपूत र रचना रिमालले पनि मेरो निकै हेरचाह गर्नुभयो । उहाँहरू दुवैलाई विशेष धन्यवाद दिन चाहन्छु ।
अब हाम्रो अर्को कार्यक्रम एडिलेडमा हुनेछ । त्यहाँको कार्यक्रममा चाहिँ म सधैँका लागि धूम्रपान छाड्ने प्रण गरेर जानेछु ।
भोलिका दिनमा यी कुरा फेरि यसरी पोख्न पाउँछु कि पाउँदिनँ, थाहा छैन । तर जति बाँच्नेछु, गीत गाइरहनेछु । आफ्ना कुरा साझा गरिरहनेछु, संगीतले जोडिरहनेछु र संगीतबाटै सबैलाई रुझाइरहनेछु । मेरो लागि प्रार्थना गरिरहनुहोस् ।’
यस्तो छ उनको १२ घण्टा अघि हालिएको भिडियो सन्देश:
अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।