३० कात्तिक, जोहानेसबर्ग (रासस/एपी) । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन ।
प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो । आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन् । उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन । घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ ।
गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताएका छन्। उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
एमथोम्बेनीले भने, ‘यी घटनाहरू आपसमा जोडिएका हुन सक्छन् । बदलाको भावनाले गराइएको आक्रमण हुन सक्ने सम्भावनालाई पनि हामीले नकार्न सक्दैनौँ ।’
दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन् ।
गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले एउटा घरमा प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा बन्दुकधारीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो ।
गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो । ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न थिए ।