सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।
मुगु — मुगुमा भएको जिप दुर्घटनामा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार दिउँसो करिब १ बजे ललितपुर जिल्लाको ग्वार्कोमा रहेको बीएन्डबी अस्पतालमा अन्जु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थापाले जानकारी दिए।
दुर्घटनामा सख्त घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टरबाट मुगुबाट उद्धार गरी सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट नेपाली सेनाकै स्काई ट्रकमार्फत थप उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको थियो। उनको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
आइतबार सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। जिपमा पाँच जना सवार थिए। दुर्घटनामा चालक कञ्चन थापा र अन्जु थापा घाइते भएका थिए।
जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि दुवैलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।