सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको नाफामा ५० प्रतिशत भन्दा बढीको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी र नाफामा आएको यो सुधारको प्रमुख आधार बिक्री कारोबारमा भएको विस्तार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५५.७५ प्रतिशतले बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ७ करोड ४६ लाख रुपैयाँ थियो । बिक्री कारोबारमा भएको विस्तारले कम्पनीको कुल मुनाफा पनि बढाएको छ। गत वर्ष ३ करोड १४ लाख रुपैयाँ रहेको कुल मुनाफा यस वर्ष बढेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ९२ लाख ३९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ८१.६८ प्रतिशतले वृद्धि भई १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँबाट बढेर ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ । पूँजी विस्तारका बीच कम्पनीले प्रतिशेयर आम्दानीलाई समेत सकारात्मक स्तरमा कायम राखेको छ । वित्तीय विवरणअनुसार वार्षिकीकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा रहेको छ ।