आईपीओ जारी गरेर उठेको पैसा ऋण भुक्तानी र मेसिन खरिदको लागि प्रयोग गर्ने उल्लेख छ ।
काठमाडौँ — कान्तिपुर फर्मास्युटिकल्सले कम्पनीले मंसिर १० गते आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने भएको हो ।
आयोजना प्रभावितको लागि आठ लाख कित्ता र ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गर्ने भएको छ ।
काभ्रेपलान्चोक पाँच खाल नगरपालिका वडा सातका स्थानीय बासिन्दाले सेयरमा आवेदन दिन पाउने छन् । मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यदी सो अवधिमा सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म यसको बिक्री खुला रहनेछ । स्थानीयले १० देखि १० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेकाहरूले मंसिर १५ गतेसम्म आवेदन दिनुपर्ने छ । यो समूहको लागि छुट्याइएको सेयर बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला हुनेछ ।
वैदेशिक रोजगारीमा रहेकाले भने १० देखि सात हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । यसले अंकित मूल्य एक सय रूपैयाँको आईपीओ जारी गर्ने भएको हो ।
सर्वसाधारणको लागि भने दोस्रो चरणमा सेयर जारी हुने छ । यसको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल छ ।
सेयर जारी गरेपछि यसको चुक्तापुँजी ८० करोड पुग्नेछ । आईपीओ जारी गरेर उठेको पैसा ऋण भुक्तानी र मेसिन खरिदको लागि प्रयोग गर्ने उल्लेख छ । १३ करोड बराबरको रकम ऋण भुक्तानीको लागि र ४ करोड बराबरको रूपैयाँ मेसिनरी खरिदमा प्रयोग हुने उल्लेख गरेको छ ।
कम्पनीले २०७८ मा पशु आहारपूरक उत्पादन गर्दै आएको थियो । यसले २०७७–७८ देखि पशुपक्षीका लागि एलोप्याथिक औषधि उत्पादन उत्पादन सुरु गरेको हो । यसले १०२ वटा विभिन्न एलोप्याथिक औषधिको उत्पादन गर्ने अनुज्ञापत्र पाइसकेको छ ।
यसले आर्थिक वर्ष २०८२–८३ मा ८ करोड ७४ लाख रूपैयाँ नाफा कमाएको देखाएको छ । यसको सञ्चालनबाट आम्दानी ५३ करोड ४० लाख रूपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २०८२-८३ मा १३ रूपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २६ रूपैयाँ ७२ पैसा छ ।
कम्पनीमा हेमराज बडाल , सुना सुवेदी, अनिश बडाल लगायतको लगानी छ । त्यस्तै, कम्पनीको अध्यक्षमा हेमराज बडाल छन् ।
कम्पनीले 'माल्ट फिड' तथा 'बोलुस ए पी' उत्पादनका लागि नयाँ मेसिन जडान तथा सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ । सो मेसिन जडानसँगै उत्पादन क्षमता दुई गुणादेखि डेढ गुणाले बढ्ने अनुमान गरिएको छ ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष छ ।
साधारण लगानी फिर्ता हुने अवधि भनेको कुनै आयोजनामा गरिएको सुरुवाती लगानी बराबरको रकम आम्दानीबाट फिर्ता हुन कति समय लाग्छ भनेर गरिने मापन हो । यसले लगानी गरेको रकम कति वर्षमा उठ्छ भन्ने देखाउँछ । यसमा समयअनुसार पैसाको मूल्यमा हुने परिवर्तन भने लिएको हुँदैन् ।
त्यस्तै, डिस्काउण्ट लगानी फिर्ता हुने अवधि भविष्यमा प्राप्त हुने आम्दानीलाई वर्तमान मूल्यमा रूपान्तरण गरेर हिसाब गरिन्छ । अर्थात्, समय बित्दै जाँदा पैसाको मूल्य घट्ने पक्षलाई समेत ध्यानमा राखिन्छ ।
कम्पनीको आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । कुनै निश्चित समयसम्म आयोजना वा उद्योग सञ्चालनमा रहँदासम्म कति प्रतिशत प्रतिफल दिनसक्छ भनेर यसले देखाउँछ ।