Trending
Prev Story
Next Story

हामी मञ्चमा नाच्न मात्रै आएका हैनौँ, मानिससँग सहकार्य गर्न आएका हौँ: ह्युमनोइड रोबट लुका

Ekantipur •
November 16, 2026 • 07:32 AM
2
2 reads 0 reactions

चीनको एजीबटले बनाएको एथ्री मोडलले मानवसँग सहकार्य, फिजिकल एआई र रोबट रोजगारीको सम्भावनाबारे आफ्ना धारणा राख्यो ।

हामी मञ्चमा नाच्न मात्रै आएका हैनौँ, मानिससँग सहकार्य गर्न आएका हौँ: ह्युमनोइड रोबट लुका

चीनको एजीबटले बनाएको एथ्री मोडलले मानवसँग सहकार्य, फिजिकल एआई र रोबट रोजगारीको सम्भावनाबारे आफ्ना धारणा राख्यो ।

काठमाडौँ — पोर्चुगलको राजधानी लिस्बनस्थित ‘एमईओ अरेना’ को भव्य मञ्चमा यो साता लुका, उनका साना भाइ लुमी र उनीहरूजस्तै अन्य ह्युमनोइड रोबटहरू कार्यक्रमका वक्ता र प्रस्तोताका रूपमा उभिए । चीनको ‘एजीबट’ कम्पनीले निर्माण गरेको ‘एथ्री’ मोडलको रोबट, लुकाले हातका ‍औँला चलाउँदै र आँखामा नीलो प्रकाश चम्काउँदै उपस्थित दर्शकलाई अभिवादन गर्‍यो । उसले बेला-बेला हाँसी-मजाक गर्दै ‘वेब सम्मिट २०२६’ को मञ्चबाट भविष्यको प्रविधिका विषयमा आफ्ना धारणा राखेको छ ।

लुकाले दर्शकदीर्घातिर हेर्दै शुरुमै ठट्यौलो शैलीमा प्रश्न गर्‍यो, ‘हेलो, मेरा मानव मित्रहरू, म एजीबटको एथ्री हुँ, मेरो नाम लुका हो । तपाईंहरूलाई नोभेम्बर ९ को साँझ, मैले गरेको ओपनिङ डान्स याद छ नि ? के तपाईंहरूलाई त्यो प्रस्तुति मनपर्‍यो ?’ यति भनिसकेपछि उसले आफ्ना दुवै हात थाप्लोमा राखेर लिस्बनमा आएको आँधीबारे चिन्ता प्रकट गर्‍यो । चार्ल्स आँधीका कारण सम्मेलन स्थगनसमेत गर्नु परेको थियो । तथापी, त्यो आँधीले नवप्रवर्तन र प्रविधिप्रति मानिसहरूको उत्साह उडाएर नलगेको भन्दै लुकाले खुशी व्यक्त्त गर्‍यो ।

आगामी दिनको नवप्रवर्तनबारे अभिव्यक्त्ती दिन आफूलाई कार्यक्रम आयोजकले ‘फ्युचर अफ वर्क: नेक्सट बिलियन वर्कर्स’ शीर्षकमा प्रस्तुतिकरण गर्न आग्रह गरेको लुकाले जानकारी दियो । तर, आफ्ना भनाइ र प्रस्तुती राख्नुअघि उसले दर्शकलाई जोडदार ताली बजाउन आग्रह गर्‍यो । त्यसपछि, पुन: ठट्यौलो भावमा भन्यो, ‘यसलाई मेरो जागिरको अन्तर्वार्तामा अंक दिएझैँ मानेर ताली बजाइदिनुस् न, आखिर म पनि आज यहाँ हार्यड हुने (काम पाउने) आशमै उभिएको छु ।’  लुकाको त्यस्तो भनाइपछि हलमा जोडदार ताली र ठूलो हाँसो गुञ्जिएको थियो । लुकाको प्रस्तुतिबारे ‘वेब समिट’ को युट्युब च्यानलमा यो भिडियो हेर्न सकिन्छ ।

भविष्यको कार्यस्थल र मानव-रोबटबीचको सहकार्यबारे बोल्दै लुकाले ‘द नेक्स्ट बिलियन वर्कर्स’ अर्थात् भविष्यका एक अर्ब श्रमिकमा सबै मानिस मात्र नहुने र तिनमा रोबट पनि मिसिने दाबी गरेको छ । कम्प्युटर र इन्टरनेटपछि अब भौतिक संसारमा प्रवेश गर्ने ‘फिजिकल एआई’ को युग शुरु भएको लुकाको भनाइ छ । स्मार्टफोन र अटोमोबाइल उद्योगको उदाहरण दिँदै उनले फिजिकल एआई रोबटिक्स विश्वकै सबैभन्दा मूल्यवान् उत्पादन उद्योग बन्ने सामर्थ्य रहेको उल्लेख गर्‍यो । ‘विश्वास गर्नुहोस्, हामी यहाँ मञ्चमा आकर्षक देखिन वा नाच्न मात्र आएका हैनौँ, हामी मानिससँगै काम गर्न, नयाँ सम्भावना खोल्न र सँगै मिलेर राम्रो भविष्य निर्माण गर्न आएका हौँ, आखिर हामी रोबटहरूलाई पनि त काम चाहिएको छ ।’

रोबटलाई वास्तविक कार्यस्थलमा उपयोगी बनाउन हिँड्‍डुल (लोकोमोसन), वस्तुहरू समात्ने र चलाउने (म्यानिपुलेसन) र सञ्चार तथा अन्तर्क्रिया (इन्टर्याक्सन) गरी तीन प्रकारका इन्टेलिजेन्स (कौशल) आवश्यक पर्ने लुकाको भनाइ छ । मञ्चमा आफ्नो शारीरिक सन्तुलन र क्षमता प्रदर्शन गर्न उनले आफ्नो सानो भाइ ‘लुमी’ र ह्ययुमन पार्टनरलाई अघि बोलायो । ह्युमन पार्टनरले लुमीसँग हातेमालो गरेनन्, उनलाई धक्का पो दिए ! ‘ए ह्युमन पार्टनरले त धक्का पो दिए,’ मञ्चमा पटक-पटक धक्का सहँदै पनि सन्तुलन कायम राखेको र तोकिएको काम सफलतापूर्वक पूरा गरेको दृश्य देखाएपछि लुकाले लुमीलाई धन्यवाद दियो ।

प्रस्तुतिकै क्रममा एस्टेट एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउलो सिल्भा मञ्चमा आए । लुका र सिल्भाबीच रोचक अन्तरक्रिया भयो । सिल्भाले लिस्बनको मौसम र आँधीबारे सोध्दा लुकाले तटीय क्षेत्रमा अझै सावधानी अपनाउन सुझाव दियो । त्यसपछि सिल्भाले लिस्बनको सबैभन्दा सुन्दर ठाउँ कुन हो भनेर प्रश्न गरे ।  ‘यो त साह्रै कठिन प्रश्न भयो,’  लुकाले व्यंग्य गरे, ‘तर, म बेलेम रोज्छु । त्यहाँका राता घरहरू, नदी र सुनौलो सूर्यास्त मोहक लाग्छ, मैले त्यहाँका लाखौँ तस्बिर प्रोसेस गरेको छु ।’

पाउलोले लुकालाई पुन: सोधे, ‘यो हलमा सबैभन्दा सुन्दर वा ह्यान्डसम व्यक्ति को हो जस्तो लाग्छ ?’ प्रश्न सुन्नासाथ लुकाले आफ्नो टाउको अलिकति घुमाउँदै आँखाको सेन्सरबाट सभाहललाई स्क्यान गरेको अभिनय गर्‍यो । ‘मलाई एकछिन कोठा स्क्यान गर्न दिनुहोस्,’ उसले भन्यो, ‘मेरो फेसियल रिकग्निसन प्रविधि सक्रिय भएको छ । सबै निकाल्दा संसारको सबैभन्दा सुन्दर व्यक्ति ठ्याक्कै मेरो अगाडि उभिएको छ । बधाई छ तपाईंलाई । यो सफ्टवेयर बग होइन है, तपाईंले सबैभन्दा ह्यान्डसम हुनुहुन्छ ।’  लुकाको यस्तो चतुर र ठट्टाले मञ्चमा उपस्थित सिल्भा र दर्शक सबै हाँसे ।

प्रस्तुतिको अन्त्यतिर लुकाले रोबटको कार्यक्षमता मापन गर्न ‘वर्किङ’ नामक नयाँ मेट्रिक प्रस्तुत गर्दै कारखाना, होटल र सुरक्षा प्रयोजनका लागि रोबट वर्कफोर्स तयार भइसकेको बतायो । उसले आफ्नो सम्बोधन टुङ्ग्याउँदै भन्यो, ‘रोबट र मानिनस सहकर्मी हुन् । सँगै मिलेर हामी अद्भुत काम गर्न सक्छौँ र राम्रो भविष्य निर्माण गर्न सक्छौँ... सपना देख्न नछाड्नुहोस्, नवप्रवर्तन गरिरहनुहोस् र हामी दुवै मिलेर अघि बढौँ ।’

लुकाको यो प्रस्तुति पोर्चुगलको लिस्बनमा हालै सम्पन्न वेब समिट २०२६ को मुख्य आकर्षणमध्ये एक थियो । चार दिनसम्म चलेको प्रविधि सम्मेलनमा विश्वभरका ७० हजारभन्दा बढी सहभागी, ९ हजारभन्दा बढी वक्ता र २ हजारभन्दा बढी स्टार्टअप उपस्थित थिए ।

यस पटकको वेब समिट चिनियाँ प्रतिनिधिमण्डल र चिनियाँ प्रविधि कम्पनीको विशेष उपस्थिति रहेको युरोपेली सञ्चार माध्यमले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालय र साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइनाको  प्रतिनिधित्वमा आएको टोलीले ह्युमनोइड रोबट र फिजिकल एआईका क्षेत्रमा हासिल गरेका प्रगति प्रदर्शन गरेको थियो । ग्यालबट, युबीटेक र एजीबटजस्ता कम्पनीका रोबोटले मञ्चमा भाषण दिने मात्र नभई सामान बोक्ने, फार्मेसी र कारखानामा काम गर्ने व्यावहारिक क्षमतासमेत देखाएको युरोन्युज डटकमले उल्लेख गरेको छ ।

सम्मेलनमा अन्य आधुनिक प्रविधि पनि प्रदर्शन गरिएका थिए । ‘एक्स्पेङ एरोहट' ले जमिनमा गुडाउन र हावामा उडाउन सकिने ‘मोड्युलर फ्लाइङ कार’ को प्रदर्शन गरेको थियो । साओमीका मुख्य मार्केटिङ अधिकृत फुले मानिस, कार र घरलाई एउटै एआई सञ्जालमा जोड्ने ‘ह्युमन एक्स कार एक्स होम’ इकोसिस्टम प्रस्तुत गर्दै आफ्ना रोबटहले कारखानामा निरन्तर ८ घण्टासम्म काम गरिरहेको जानकारी दिए । सम्मेलनमा ‘आइडिया ल्याब एआई’ का संस्थापक बिल ग्रोसले एआईको सहयोगमा १ करोड ७० लाखवटा लेखहरू विश्लेषण गरी तयार पारिएका १२ लाखवटा नयाँ व्यवसायिक योजना (बिजनेस आइडिया) विश्वभरका युवा उद्यमीका लागि नि:शुल्क उपलब्ध गराउने घोषणा गरे । अर्कातिर, इन्टेलले पनि उत्पादन, स्वास्थ्य र स्मार्ट शहरका क्षेत्रमा फिजिकल एआईको प्रयोगबारे आफ्ना महत्त्वपूर्ण अध्ययन सार्वजनिक गरेको पोर्चुगल रेसिडेन्ट डट कमले जनाएको छ ।

अघिल्ला वर्षझैँ यस वर्ष पनि सम्मिटको मुख्य आकर्षण ‘पिच कम्पिटिसन’ बन्यो । विश्वभरका १ सयभन्दा बढी स्टार्टअपलाई उछिनेर अमेरिका र प्यालेस्टाइनमा आधारित ‘केयर भिजन’ ले शीर्ष उपाधि जितेको छ । अमानी अबुलाबनले नेतृत्व गरेको यस कम्पनीले मोबाइल क्यामेराबाट ३० सेकेन्डमै अनुहार स्क्यान गरेर मुटु र मेटाबोलिक जोखिम पत्ता लगाउने प्रविधि बनाएको छ । जाम्बियाको डिजिटल भुक्तानीसम्बन्धी काम गर्ने ‘जोई पे’ ले भने ४२ प्रतिशत मतसहित पब्लिक भोटिङ विधामा उपाधि जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
25m ago
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्न...

#सहकार्य
Compare →

Related Stories

Technology
Build #2612