भारतका लागि नियुक्त राजदूत डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले शपथ लिएका हुन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्दै पद तथा गोपनियताको शपग गराएका छन् । राष्ट्रपति पौडेले भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त गरी शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति पौडेलले सोमबार भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गरेका हुन् । नवनियुक्त तीनै राजदूतले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालले तीन देशका राजदूत नियुक्त गरि पद तथा गोपनियताको शपथ ग्रहण गराइएको जानकारी दिएका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
सरकारको सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले तीन देशका लागि राजदूत नियुक्त गरेका हुन् । सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेकोमा १० जना मात्रै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । तीन जनाको नियुक्ति भइसकेको छ भने बाँकी ७ जनाको नियुक्ती बाँकी रहेको छ ।